जिल्ला अस्पतालको काम रिफर मात्रै

जिल्ला अस्पतालको काम रिफर मात्रै

उदयपुर : सुरक्षित प्रसूति सेवाको सरकारी नारा उदयपुरमा कथाजस्तो बनेको छ। गाउँका स्वास्थ्य संस्था त के जिल्ला अस्पतालमै उक्त सेवा स्थानीयले पाउँदैनन्।

सरकारी स्वास्थ्य सेवाबाट प्रसूति गराए यातायात खर्चदेखि न्यानो कपडासमेत उपलब्ध गराउने सरकारको घोषणा छ। तर, उदयपुरका लागि होइनजस्तो भान हुने गरेको स्थानीयको भनाइ छ। ‘अस्पतालमा कुनै सेवा राम्रो छैन। प्रसूति सेवाको व्यवस्थापन त झनै जटिल छ’, स्थानीय सेवाग्राही मेलिना सार्कीले भनिन्, ‘सरकारले भनेजस्तो यहाँ देख्न पाइँदैन।’

विशेषज्ञ डाक्टर पवन साह एक वर्षअघि कटारी अस्पतालमा सरुवा भएका थिए। विशेषज्ञ नभएपछि कर्मचारीले बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने गरेको स्थानीय उद्धव अधिकारीले सुनाए। ‘उपचार पाउने आसमा सर्वसाधारण अस्पताल आउँछन्’, उनले भने, ‘अस्पतालका प्राविधिकले सामान्यलाई पनि जटिल भन्दै अन्यत्र रिफर गर्ने गरेको पाइयो।’

उनका अनुसार गाईघाटवासी उपचारका लागि अस्पताल जान छाडिसकेका छन्। जिल्लाका अन्य ठाउँका बासिन्दालाई जानकारी नहुँदा बिरामी लिएर अस्पताल पुग्ने गरेको उनको भनाइ छ। गैरसरकारी संस्था महासंघकी केन्द्रीय सदस्य महेश्वरी राईले अस्पताल रिफर सेन्टरमा परिणत भएको पाइएको बताइन्। ‘यहीं अस्पतालमा प्रभावकारी सेवा प्रवाह गरेबापत स्वास्थ्य सेवा विभागले डा. चुमनलाल दासलाई सम्मान गरेको थियो’, उनले भनिन्, ‘अहिलेको हालत यस्तो छ।’

डा. फडिन्द्र बराल, डा. पवन साहले प्रभावकारी काम नगरेको स्थानीयको आरोप छ। उनीहरूले डा. दासपछि निमित्त मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी पाएका थिए। गर्व गरिएको जिल्ला अस्पतालको यो हविगत हुँदा दुःख लागेको प्रदेश सांसद अम्विका थापाले बताइन्। सामान्य क्लिनिकभन्दा पनि न्युन सेवा रहेको उनको भनाइ छ। उनी ८५ वर्षीया बिरामी आमाको उपचारका लागि अस्पताल गएकी थिइन्। तर, एक चिकित्सकले महिनावारी त ठीक छ ? भन्दै पेट थिचेपछि रिस उठेर उपचार नगराई फर्किएको उनले सुनाइन्। अस्पतालकै दुई कर्मचारी केही समयअघि आफन्तलाई प्रसूति गराउन विराटनगर गएका थिए। उनीहरूले नाम बताउन चाहेनन्।

प्रसूति सेवासमेत नपाएपछि स्थानीयवासी जिल्ला अस्पताल गाईघाट जान छाडेका छन्।

कांग्रेस जिल्ला सभापति विदुर बस्नेत केही दिनअघि अस्पताल पुग्दा तीन जना मात्रै बिरामी देखेर छक्क परेका थिए। सँगै गएका नेकपा अध्यक्ष विनोद कटुवालले निजी अस्पताल भरिभराउ हुनु र जिल्ला अस्पताल सुनसान हुनु दुखद भएको बताए। चाँडै चिकित्सक व्यवस्थापन गर्न उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिसस प्रमुख खड्ग परियारलाई आग्रह गरे।

अस्पताल भौतिक पूर्वाधारका हिसाबले सम्पन्न छ। तर, गाउँका स्वास्थ्य चौकीले दिने उपचारभन्दा पनि कम भएपछि स्थानीय आक्रोशित छन्। स्वास्थ्य चौकीले जति पनि सेवासुविधा अस्पतालले उपलब्ध नगराएको महासंघकी केन्द्रीय सदस्य राईको गुनासो छ। जनगुनासो सम्बोधनका लागि माथिल्लो निकायमा अनुरोध गरे पनि बेवास्ता गरेको अस्पतालका सूचना अधिकारी विर्ष खत्रीले बताए।

दरबन्दीअनुसार पदपूर्ति हुन नसक्दा समस्या भएको अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. विष्णुबहादुर बस्नेतको भनाइ छ। विगतमा दैनिक सरदर १ सय ५० बिरामी आउने गरेका थिए। त्यो संख्या घटेर २० जनामा सीमित भएको छ।

अस्पताल विकास समितिका अध्यक्ष परियारले चाँडै समस्या समाधान हुने बताए। विशेषज्ञ ल्याउन मन्त्रालयमा प्रयास जारी रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.