डोरम्याट

महाराज,
खाइरहेछु हजुरकोे लात
भन्नुस् न अब कतिन्जेलसम्म चल्नेछ
मेरो छातीमाथि हजुरको क्रीडा ?
मेरो छातीमा ड्याङ ड्याङ
बुट बजाउँदै
मलाई फोहोरी बनाएर
भित्र छिर्र्नुहुन्छ सुकिलो तपाईं
त्यति बेला लाग्छ,
म हजुरहरूकै
लात खानै जन्मेको हुँ
महलभित्र के के गर्नुहुन्छ
त्यसको प्रत्यक्ष साक्षी म
बाहिरै फोहोर र लात खाएर बसेको छु
यो महल र म हजुरको कालो करतुतको साक्षी हौं
सुकिलो पहिरनमा
मैला करतुत गर्ने हजुरजस्ता थुपै्र महाराजहरू
जसरी म र हाम्रा छातीमाथि आफ्ना फोहोरी तलुवाहरू घसारेर
शानसँग भित्र पस्नुहुन्थ्योे
त्यसैगरी समयले उहाँहरूमाथि तलुवा मात्रै घिसारेन
परिवर्तनको लात्ते भकुण्डो नै हानिदियो
ठीक हजुरलाई जस्तै
उहाँहरूलाई पनि
धेरै पटक सम्झाउन खोजेको हुँ
तर जमिनको आवाज सुन्ने फुर्सद कहाँ
र त उहाँहरू समयको घट्टमा मजाले पिँधिनु भयो
महाराज,
यो आलिसान दरबारले
धेरै महाराजहरूलाई निलेको समयका साक्षी हामी हौं
यानी डोरम्याट
दरबार छिर्न हाम्रै छाती चाहिन्छ
तर हाम्रो स्थान सधैं बाहिरै हुन्छ,
इतिहासमा
सबैले जस्तै महल छिर्दा मात्र हाम्रा साथ खोज्नुभयो
जरुर हो
हाम्रो मुक्तिका लागि लड्नुभएको
जेलनेल खानुभएको
हाम्रो विश्वासले पनि भन्यो
हजुरलाई सफा बनाएर यो दरबार छिराएपछि
हाम्रा पनि सुखका दिन आउने छन्
तर वर्षौंसम्म पनि हजुरले बाँडेका सपना साकार नहुँदा
हामीले आफ्नै भाग्यलाई दोष दियौं।
दरबार छिर्दा
हजुरले बाहिरै फुकाल्नुभएको हात्तीछाप चप्पल
अहिले पनि यी जस्ताको तस्तै छ यहाँ
हो हजुरले चप्पल फुकालेकै दिनदेखि त हो
हाम्रा छातीमा बुट बर्जान थाल्नुभएको !
हो त्यही दिनदेखि नै हो
हाम्रो दु :खको आदिम घाउ
अझै गहिरोसित टन्किन थालेका !
महाराज,
कतिन्जेलसम्म चल्नेछ
हाम्रो छातीमाथि हजुरको राज ?
प्रतिक्रिया दिनुहोस !
