फ्रेञ्च लगानीकर्तालाई निम्तो
लन्डन : प्रधानमन्त्री केपी ओलीले फ्रान्सका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। पेरिसमा फ्रान्सको बिजनेस कम्युनिटीका प्रतिनिधिहरु माझ बुधबार प्रधानमन्त्रीले नेपालमा रहेका लगानीका लागि प्रशस्त अवसरबारे बताएको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ।
तीनदिने फ्रान्स भ्रमणका लागि बुधबार नै लण्डनबाट रेल चढेर पेरिस पुगेलगत्तै प्रधानमन्त्री नेसनल चेम्बर अफ इन्डस्ट्रिज एण्ड कमर्स अफफ्रान्स (मेडेफ) ले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।
उक्त कार्यक्रमलाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्रीले फ्रेञ्च बिजनेस कम्युनिटीका पदाधिकारीसँग छुट्टै छलफल गरेका थिए। त्यस अवसरमा उनले नेपालमा लगानीका लागि सम्भावना रहेका क्षेत्रहरुबारे चर्चा गर्दै उनीहरुको लगानीलाई नेपालको तर्फबाट निम्तो दिएका थिए।
त्यसअघि बेलायतको भ्रमण सकेर बुधबार दिउँसो पेरिस पुगेका प्रधानमन्त्रीलाई त्यहाँस्थित नेपाली राजदूत दिपक अधिकारी र नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभिएर लेगरले स्वागत गरेका थिए। बेलुका दूतावासमा प्रधानमन्त्रीको सम्मानमा रिसेप्सन आयोजना गरिएको थियो।
नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको फ्रान्स चौथो मुलुक हो। दुई देशीय सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओली फ्रान्सको भ्रमणमा आएका हुन्।
९ दिने युरोप भ्रमणअन्तर्गत स्वीजरल्याण्ड, बेलायत र फ्रान्स हुंदै आइतबार नेपालफर्किने प्रधानमन्त्रीको कार्यक्रम छ।