‘पुनर्निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण’
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
सेन्टर फर मिडिया रिसर्च नेपाल (सीएमआर, नेपाल) ले २०७२ साल वैशाखमा गएको भूकम्पमा नेपाली मिडियाको भूमिका सम्बन्धी गरेको अनुसन्धानमुलक प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मिडियाका कारण पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी नीति निर्माणमा समेत सहयोग पुगेको बताए।
मिडियाले उठाएका विषयलाई सकारात्मक रुपमा लिइ अघि बढ्दा पुनर्निर्माणमा देखा परेका समस्या समाधानमा सहज भएको धारणा व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछि मिडियामा आएका सबै पक्षलाई अभिलेखिकीरण गरी भविष्यका लागि शिक्षा लिन जरुरी रहेको बताए। उनले भूकम्पपछिको पुनर्निर्माण सही ढंगले अघि बढेको र अन्तर्राष्ट्रिय रुपमा पनि नमूना हुन सक्ने गरी काम भएको दाबी गरे।
पत्रकारिताका प्राध्यापक पी खरेलले विपदमा मात्र होइन, अरु विषयमा रिपोर्टिङ गर्दा पनि पत्रकारले आचारसंहिता पालना गर्न जरुरी भएको बताए।
साथै यस्ता अनुसन्धान प्रतिवेदनले मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने पनि खरेलले बताए। ‘त्यसैले पनि मिडियामा आएका विषयवस्तुमा आधारित सामाग्रीलाई लिएर अनुसन्धान गर्न र त्यसलाई बाहिर ल्याउन आवश्यक छ’, खरेलले भने।
पत्रकारिता तथा आमसञ्चार विभागका प्राध्यापक चिरञ्जिवी खनालले सार्वजनिक भएको प्रतिवेदनले विपदका बेला मिडिया र यसको कभरेजका विषयलाई बाहिर ल्याएको बताए।
‘अब यो अनुसन्धान प्रतिवेदनलाई टेकेर विभिन्न पक्षमा थप अनुसन्धान गर्न सकिन्छ’, खनालले भने, ‘यस हिसाबले पनि यस्ता अनुसन्धानहरुको स्थान महत्वपूर्ण छ।’
पत्रकार र मिडियाको भूमिका ‘प्रशंसनीय’
सार्वजनिक गरिएको प्रतिवेदनमा भूकम्पपछि पत्रकारले जोखिम मोलेर काम गरेको, जनतामाझ समाचार तथा सूचना प्रवाह गर्नमा नेपाली मिडिया र पत्रकारको भूमिका ‘प्रशंसनीय’ रहेको उल्लेख गरिएको छ।
मिडियाले ठूलो विपद्को सामना गर्नका लागि तयारी नगरेको, त्यसकैकारण पूर्वाधारमा क्षति पुग्नुका साथै केही समय अवरुद्ध तथा बन्द गर्नुपरेको, पत्रकारहरुले टेन्टमा रहेर कार्यक्रम सञ्चालन तथा समाचार तयार गरेको पनि रिपोर्टमा उल्लेख छ।
विपद्पछिको आवश्यता आंकलन (पिडिएनए)ले भूकम्पबाट सञ्चार गृहमा करिव ४६ करोड रुपैयाँको क्षति पुगेको आंकलन गरेको थियो।
यस्तै रिपोर्टले रिपोर्टिङका बेलामा पत्रकारलाई आवश्यक पर्ने सुरक्षाबारे तयारी नगरिएको र पर्याप्त ध्यान नदिइएको देखाएको छ। ‘निरन्तर जसो परकम्पहरु आएरहेपनि पत्रकारले उद्दार र राहत सम्बन्धी रिपोर्टिङ गरेका थिए, कहिले कही मात्र सुरक्षाका लागि हेल्मेट लगाएका थिए’, रिपोर्टमा उल्लेख गरिएको छ।
रिपोर्टका अनुसार तयारीको अभावको प्रभाव सामग्रीहरुमा परेको थियो। मानवीय पक्षहरु र अभिरुचीका विभिन्न सामग्रीहरु प्रस्तुत गर्नु प्रशंसनीय भएपनि आचारसहिता पालना नगर्दा मिडियाको आलोचना भएको रिपोर्टमा उल्लेख गरिएको छ।
यो अनुसन्धान सीएमआरका अनुसन्धानकर्ता उज्वल प्रजापतिले सन् २०१५ को अगष्टदेखि डिसेम्बरमा गर्नुभएको हो। त्यसका लागि सामग्रीको विश्लेषण, मिडिया सञ्चालक र पत्रकारसँग अन्तर्वार्ता गर्नुका साथै जनतासँग सर्वेक्षण गरिएको थियो।
‘विपदमा मिडियाको भूमिका बारे नीति बनाउन आवश्यक छ, प्रजापतिले भने, विपदबाट प्रभावित मिडियालाई उपलब्ध गराइने सरकारी सहयोग, मिडियाको तयारी, आपत्कालिन अवस्थामा मिडिया सञ्चालन, मिडियाको प्रयोग, सरोकारवालाको भूमिका, मिडियाको सामग्री नीति लगायतबारे प्रष्ट हुन आवश्यक छ।’