भ्रष्टाचारको वास्तविक तस्बिर
काठमाडौं : ‘कहाँ जान्छस् छोरा ? तँ जहाँ गए पनि तेरो आमाबाबु भनेको हामी नै हौं। यो कुरा दुनियाँलाई कसरी ढाँट्न सक्छस् ? ’ ‘सक्छु ममी, म सक्छु। म कपाल लामो बनाउँछु, कलर गर्छु। आँखामा लेन्स लगाउँछु। कसैले कुन देशबाट आएको भनी सोध्यो भने अरू नै देशबाट भन्दिन्छु। ममीबाबा म सबै ढाँटिदिन्छु। सकेँ भने नागरिकता र पासपोर्टको परिचय नै बदलिदिन्छु।’
‘सयकडा दस’को एउटा दृश्यको मर्मस्पर्शी संवाद हो यो, जहाँ आफ्नो बाबुले अनेकौं भष्टाचार र नराम्रो काम गरेर सम्पत्ति जोडेको थाहा पाएपछि घर छोडेर हिँड्न थालेको छोरा ‘देव’ र आमाबीच कुराकानी चलिरहेको छ। ‘भ्रष्टाचारविरुद्ध सदाचार’ भन्ने सन्देशका साथ ‘सयकडा दस’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। पछिल्लो समय हाम्रो समाजमा बढ्दै गएको भ्रष्टाचार र त्यसले आफन्त र छरछिमेक अनि सन्तानलाई पार्ने असरको विषय चलचित्रले उठान गरेको छ।
हास्यकलाकार मनोज गजुरेलको डेब्यु चलचित्र हो यो। उनले आफूले वास्तविक जीवनमा जे गरिरहेका छन्, त्यही नै भूमिकामा चलचित्रमा छन्। भ्रष्टाचारविरुद्ध लागेको एक कमेडियन अभियन्ताका रूपमा चलचित्रमा उनले सकारात्मक सन्देश प्रवाह गरेका छन्। भ्रष्टाचार गरेर करौडौं सम्पत्ति कमाएका राजाराम पौडेलसँग गजुरेलको संवाद छ।
‘तपाईंजस्ता कयौं बाबुआमाका छोराछोरी यो देशमा कुनैे भविष्य नदेखेर बिदेसिएका छन्। सक्नेहरू युरोप, अमेरिका गए, नसक्नेहरू खाडी मुलुक गए। यस्तो हालत तपार्इंजस्ता घूसखोर कर्मचारी र भ्रष्टाचारीले गर्दा भएको हो। मुटु गाँठो पारेर रुँदै विदेश जाने युवालाई कसले रोक्ने ? ’
चलचित्रले भ्रष्टाचार घूस लिने र दिने मात्रै नभई भ्रष्ट आचरण, यसको खानपान, जीवनशैली, उसले सोच्ने तरिका यी सबै गतिविधि प्रत्यक्ष जोडिने गर्छ भन्ने सन्देश प्रदान गर्छ। हरेक युवाले आफ्नो परिवारको सम्पत्ति कसरी आयो, बुवाआमा के काम गर्नुहुन्छ र आयस्रोत अनुरूपको सम्पत्ति छ या अस्वाभाविक धेरै जोडिएको छ घरभित्रै विचार गर्नुपर्ने सन्देश पनि चलचित्रले दिएको छ।
चलचित्रमा देव, विपिन, हिमाल, अनु र आशिस्मा पाँचजना कलेजका साथी समाज विकासको अभियानमा लागिपरेका छन्। सामाजिक समस्या विभिन्न सामाजिक सञ्जालमा राखेर समाधानका विभिन्न कार्य गर्दै आएका छन्।
युुवाको सकारात्मक सोच र कार्यले दर्शकलाई समाजका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी सिर्जना गर्न सफल छ। यही क्रममा अनु र देव प्रेम सम्बन्धमा गाँसिन्छन्। देव र अनुको सम्बन्ध अनुको बाबुको भूमिकामा रहेका मनोजलाई स्वीकार्य हँुदैन। देवको बुवा राजारामले सरकारी सेवामा रहँदा अनगिन्ती भ्रष्टाचार गरेको मनोजलाई जानकारी छ। उनी भन्छन्, ‘मेरी छोरी गरिबसँग बिहे गर्न सक्छे तर भ्रष्टाचारको दाग लागेको परिवारमा बिहे गरी जीवनभर बदनामी जीवन जिउन सक्दिनँ।’
समग्रमा चलचित्र सुन्दर बनेको छ। हरेक आमाबुवालाई नराम्रो काम नगर्न शिक्षा दिन्छ यो चलचित्रले। अभिनय, संवाद र दृश्य कथा सुहाउँदो छ।
रामशरण पाठकको निर्देशन रहेको यो चलचित्रमा लाइमलाइटमा चर्चित हास्यकलाकार मनोज गजुरेलको अभिनय छ। उनले बजारमा बिक्नेभन्दा पनि समाजलाई केही सन्देश दिने चलचित्र निर्माण गरिनुपर्ने र कलाकारितामा पनि समाज जोडिनुपर्ने तर्क राखे। साथै उनले फिल्म सामाजिक रूपान्तरणको महŒवपूर्ण अभियान भएकाले यो सन्देशमूलक हुनुपर्ने बताए
। चलचित्रमा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने, रवि डंगोल, रश्मि भट्ट लगायतका कलाकारको अभिनय छ। दर्शन नेपाल क्रिएसनको ब्यानरमा बनेको फिल्मका निर्मातामा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, सञ्जीव न्यौपाने निर्माता छन्। कार्यकारी निर्माता राजाराम पौडेल हुन्।