मील सञ्चालनमा आएपछि ग्रामीण महिलाका दिन फेरिए
अछाम : अछामका ग्रामीण क्षेत्रमा विद्युत बिस्तारसँगै विद्युतीय प्रविधि मील सञ्चालनमा आएका छन्। गाउँमा डिजल तथा विद्युतबाट चल्ने मील संचालनमा आएका हुन्।गाउँघरमा बिजुली पुगेको छ। विद्युत भएपछि कुटनी र पिसानीका विद्युतीय उपकरणहरु सजिलै उपलब्ध छन्। स्थानीयहरु सजिलो र छिटोका लागि विद्युतीय उपकरणमा निर्भर हुन थालेका छन्।
मील सञ्चालनमा आएपछि सबैभन्दा बढी महिलालाई सुविधा भएको छ। पुराना प्रविधिबाट काम गर्न धेरै समय लाग्ने, जनशक्ति बढी चाहिने र श्रम पनि बढी लाग्ने भएकाले मीलको प्रयोग बढी हुन थालेको चौरपाटी गाउँपालिकाका-७ मार्कुकी अमृता बोगटीले बताइन्। 'धान कुट्ने, गहुँ पिस्ने र तोरी पेल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि अहिले महिलालाई सुविधा भएको छ', उनले भनिन, 'ओखलमा धान कुट्न निकै समय लाग्थ्यो, अरु काम गर्न भ्याईनभ्याई हुन्थ्यो, गहुँ पिस्न घट्ट गए पालो नपाएपछि बासै बस्नुपथ्र्यो।'
चौरपाटी गाउँपालिका- ४ पायलमा विद्युत विस्तारको काम भइरहेको छ। तर पनि त्यहाँ तीनवटा मील डिजलबाट सञ्चालनमा रहेका छन्। 'पायलमा विद्युत पुगेको छैन तर यहाँको बासिन्दाको सेवा सुबिधालाई ध्यानमा राखेर डिजलबाट मिल चलाएका छौं', मिल सञ्चालक सन्त बोहराले भने, 'सडक सुबिधा पुगेकाले गाउँका सबैले मिलमै कुटानी पिसानी गर्छन्। गाउँका महिलालाई मिलले राहत पुगेको छ।'
साँफेबगरका कालिका राईस मीलका सञ्चालक मिनबहादुर कुवँरले दैनिक मीलमा ५० जनाभन्दा बढी कुटानि-पिसानीका लागि आउने गरेको बताए। उनले भने, 'गाउँ-गाउँमा सडक पुगेको छ, बढीजसो दुर्गम गाउँबाट महिला गाडी रिजर्भ गरेर धान गहुँ लिएर आउँछन्।१-२ महिनालाई पुग्ने गरी कुटेर पिसेर लग्ने गर्छन, सबैभन्दा सहज महिलालाई भएको छ
', उनले भने।
चाडपर्व र खेतिपातीको समयमा कुटानी पिसानीका लागि धेरै आउने भएकाले रातभरी पनि मील चलाउने गरेको उनले बताए । जिल्लाका सबैजसो स्थानीय तहमा अहिले नयाँ प्रविधिको मील सञ्चालनमा रहेका छन्।