श्रीलंकाका राष्ट्रपति सिरिसेना स्वदेश फिर्ता
काठमाडौं : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको औपचारिक सद्भावना भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्।
भदौ १६ गते नेपालको औपचारिक भ्रमणमा आएका सिरिसेना आइतबार स्वदेश फर्किएका हुन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन् आएका पाहुनामध्ये उनी लामो समय नेपाल बसेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उनकी पत्नी जयन्ती पुष्पकुमारी नेपाल आएका हुन्। नेपाल बसाइको क्रममा उनीहरुले लुम्बिनीमा मायादेवी भन्दिरमा पूजासमेत गरे।
भदौ १३ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका राष्ट्रपति सिरिसेनालाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिदाइ गरे।