आज कृष्ण जन्‍माष्टमी, कृष्णमन्दिरमा भक्तजनको घुइँचो

आज कृष्ण जन्‍माष्टमी, कृष्णमन्दिरमा भक्तजनको घुइँचो

ललितपुर : पाटनस्थित कृष्ण मन्दिरमा आइतबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट  पनि दर्शनार्थी आउन थालेका छन्। आज देशभरैका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

२०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरको माथिल्लो तलामा रहेको कृष्ण मन्दिरमा दर्शन गर्न पाएका हुन्। भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न नपाएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए। उनले भने, 'हामीले कृष्णाष्ठमीमा खुल्ला गर्नका लागि केही दिन पहिले मात्रै निर्माण सम्पन्न गरेका थियौँ।' 

कृष्णाष्ठमीका दिनमा वर्षेनि राष्ट्रप्रमुख दर्शनका लागि आउने गर्छन्। राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो २:३० बजे आउने कार्यक्रम तय भएको छ। मन्दिरमा दर्शनका लागि आउने विशिष्ठ पाहुना र दर्शनार्थीको भीडलाई हेरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। 

बिहान २-३ बजेबाट नै दशनार्थी मन्दिर आइपुगेका थिए। एक पटकमा ८-१० जनासम्म दर्शनार्थीले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ। उनले भने, 'बिहानसम्म एक-दुई घण्टामा  दर्शनगरी फर्कन सक्ने अवस्था थियो, भीड बढ्दै गएपछि दर्शन गर्न बढी समय लाग्न सक्छ।' गाबहालदेखि सुन्धारासम्म सवारी साधन चल्न दिइएका छैन। 

मन्दिरपरिसरमा नेपाल प्रहरीसँगै नेपाल स्काउट र विभिन्न संघ-संस्थाका स्वयंसेवक खटिएका छन्। दर्शनार्थीलाई स्वास्थ्य समस्या आइहाले तत्काल उपचारका लागि स्वास्थ्य संस्थाको पनि व्यवस्था गरिएको छ।

मन्दिर पुनःनिर्माणका क्रममा धेरै निर्माण सामग्री पुरानै प्रयोग भएको दरबार हेरचाह कार्यालयका प्रमुख प्याकुरेलले बताए। फुटेर वा मक्‍किएका र प्रयोग गर्न नमिल्ने अवस्थाका सामग्रीबाहेक अरु मर्मत गरेर प्रयोगमा ल्याइएको हो। 

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ। ढुंगैढुंगाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिन्छ। मन्दिरमा २१ गजुर रहेका छन्। 

१७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले मन्दिर निर्माण गर्न लगाएका थिए। उनले कृष्ण मन्दिर बनाउनेसँगै कृष्ण लीलामा आधारित नाच सञ्चालन गरेका थिए। जसलाई कात्तिक नाच पनि भनिन्छ। कृष्ण मन्दिर तीन तला रहेको छ। बीचको तलामा कृष्णको मूर्ति रहेको छ। मूर्तिको वरिपरि विष्णुका १० अवतारका मूर्ति छन्। मन्दिरका थामहरुमा विभिन्न देवी-देवताका मूर्ति कुँदिएको छन्। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.