फेरि एकतामा जुटे तीन राप्रपा
काठमाडौं : एउटै राजनीतिक पृष्ठभूमि र सिद्धान्त बोकेका राप्रपा धारका तीन दल यतिबेला पुनः पार्टी एकताका लागि जुटेका छन्। स्थापनादेखि नै टुटफुट र गुटको राजनीतिबाट गुज्रिँदै आएको राप्रपा सैद्धान्तिक कारणले भन्दा पनि शीर्ष नेताबीचको व्यक्तिगत टकरावका कारण तीन चिरामा विभाजित भएको थियो।
विभाजनपछि राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) भएका तीनवटै राप्रपा धारका दल पुनः एकताका लागि जुटेका हुन्। दोस्रो तहका नेताबीच पार्टी एकताका लागि छलफल भइरहेको राप्रपाका प्रवक्ता भुवन पाठकले बताए। ‘तीनै दलका नेता एकताका पक्षमा छन्। यसलाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन दोस्रो तहका नेता अनौपचारिक छलफलमा जुटेका छन्’, उनले भने।
पार्टी एकताका लागि राप्रपाले वार्ता समिति नै बनाइसकेको छ। राप्रपा प्रजातान्त्रिकको मंगलबार बसेको उच्चस्तरीय कार्यसम्पादन समिति बैठकले पनि समान विचार र धार भएका दलबीच पार्टी एकताका लागि पहल गर्न कार्यदल बनाउने निर्णय गरेको थियो। एकीकृत राप्रपा राष्ट्रवादीले पनि राप्रपा धारका दलसँग एकताको पहल भइरहेको जानकारी दिएको छ।
राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउन राप्रपा धारका दलबीच एकता अपरिहार्य रहेको भन्दै चाँडै पार्टीले एकताका लागि कार्यदल बनाउने राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए। ‘राप्रपाबीच एकता हुनैपर्छ, देशभरका नेता कार्यकर्ताले एकताका लागि दबाब दिइरहेका छन्, एकताको विकल्प छैन’, उनले भने।
नेपालमा राजतन्त्र र हिन्दूराज्यको मागलाई प्रमुखताका साथ उठाउँदै आएको राप्रपा विभाजनसँगै मुद्दा पनि कमजोर भएको ठहर गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि तीनवटै राप्रपाबीच एकताका लागि पहल गर्दै आएका छन्। उनले एक महिनाअघि मात्र तीनवटै राप्रपाका दोस्रो तहका नेतालाई सामूहिक रूपमा भेटेर पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिन सुझाएका थिए।
राप्रपा अध्यक्ष कमल थापाले एक साताअघि सार्वजनिक कार्यक्रममा पार्टी एकताका लागि राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई आह्वान गरेका थिए। उनले अहिले देशलाई अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो रहेको भन्दै एकताका लागि दुवै दलका अध्यक्षलाई आग्रह गरेका हुन्। ‘एकअर्काबीच आरोप–प्रत्यारोप छाडौं, पार्टी एकता गरौं, तपाईंहरू चाहनुहुन्छ भने म पार्टी अध्यक्षसमेत त्याग्न तयार छु’, उनले भने।
पार्टी एकताका लागि राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहोरा, महामन्त्री सुनिल थापा, विक्रम पाण्डेलगायत नेताले पहल गरिरहेका छन्। यस्तै राप्रपाका पुराना लोकेन्द्रबहादुर चन्द, दिलनाथ गिरी, केशरबहादुर विष्ट, नवराज सुवेदी, हरिबहादुर बस्नेतलगायतले पनि एकताका लागि तीनवटै दलका नेतृत्वलाई दबाब दिँदै आएका छन्।