काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको 'बुस्टर डोज' पूर्ण मात्रा खोप लगाएको ३ महिनाभित्र लगाउन मिल्ने बताएको छ। यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएपछि मात्र बुस्टर मात्रा खोप लगाउन मिल्ने प्रावधान थियो।
तीन महिना पूरा भएपछि बुस्टर खोप उपलब्धताका आधारमा १८ वर्ष माथिका सबैले कोभिड १९ विरुद्धको बुस्टर मात्रा खोप लगाउन मिल्ने मन्त्रालयले जनाएको छ। बुस्टर खोप लगाउन जाँदा कोभिड -१९ विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य लिएर जान पनि मन्त्रालयले बताएको छ।
कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन सर्वसाधारणलाई मन्त्रालयले आग्रह समेत गरेको छ। छिमेकी मुलुक भारतमा संक्रमण बढ्न थालेपछि कोरोना जोखिम कायमै रहेको भन्दै मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन भनेको हो।
पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको भारतीय मिडियाहरुले जनाएका छन्। त्यहाँ कोरोनाको चौथो लहरको संकेत देखिएको विज्ञहरुले बताएका छन्।