इलाम उपनिर्वाचन : रास्वपा र एकीकृत समाजवादीसहित १६ उम्मेदवारको जमानत जफत
इलाम : प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी तथा एकीकृत समाजवादीसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ। आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रास्वपाका मिलन लिम्बू तथा एकीकृत समाजवादीका जितबहादुर राईसहित १६ उम्मेदवारको जमानत जफत भएको हो।
निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो। चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा 'निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ', भनिएको छ।