वरिष्ठ अधिवक्ता उप्रेती र अधिवक्ता विष्टले भने : सिधाकुरा डटकमबाट प्रसारित समाचार मिथ्यापूर्ण र नियोजित
काठमाडौं : वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र अधिवक्ता किशोरकुमार विष्टले सिधाकुरा डटकमबाट प्रसारित समाचार भ्रामक, असत्य, मिथ्यापूर्ण र नियोजित रहेको बताएका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले प्रायोजित-नियोजित समाचार प्रसारण गर्नेविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्।
‘सिधाकुरा डटकम अनलाइनबाट भ्रष्टाचारका ४ सय मुद्दा डिसमिस गर्न सर्वोच्चका न्यायाधीशसहित डिल’ शीर्षकमामा मिति २०८१/०१/१४ मा प्रकाशित-प्रसारित अडियो सामग्रीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अडियो सामग्रीमा भनिए जस्तो मिति २०७७/१२/३० मा हामी तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा गएका छैनौं। सो अडियो सामग्रीमा उल्लेख भएको विष्णुप्रसाद घिमिरे निवेदक भएको रिट निवेदनमा हामी कुनै पनि पक्षबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायी होइनौं,’ अधिवक्ताद्वयले विज्ञप्तिमा भनेका छन्।
अधिवक्ताद्वयले समाचारमा सुनाइएको अडियो पनि आफ्नो नभएको उल्लेख गरेका छन्। ‘हाम्रा नामबाट सुनाइएको आवाज हाम्रो होइन र हाम्रो उपस्थिति देखाउन सिर्जना गरिएको वातावरणसमेत अस्वाभाविक रहेको छ। २०७७ साल चैत ३० गतेको घटना भनिएको उक्त अडियो आज करिब ४ वर्षपछि आएर प्रसारण गरिएको नै यसप्रति विभिन्न संशय पैदा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
सिधाकुरा डटकमको समाचारले स्वतन्त्र न्यायपालिका, प्रतिष्ठित सञ्चारगृह र सञ्चार उद्यमीप्रति अक्षम्य प्रहार गरेको उनीहरूको भनाइ छ। ‘यस्ता असत्य, भ्रामक, प्रायोजित÷नियोजित सामग्रीहरू उत्पादन-प्रसारण गर्ने, सामाजिक सञ्जालमा सेयर गर्ने तथा त्यस्ता सामग्रीहरूको पक्षमा वकालत गर्ने पात्र र प्रवृत्तिहरूको हामी घोर निन्दा र भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता पात्रहरूलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही र सजाय गर्नका साथै अब उप्रान्त यस्ता प्रवृत्ति निरुत्साहित हुने प्रभावकारी प्रबन्ध गर्न हामी सम्बद्ध सबै पक्ष-निकायको गम्भीर ध्यानाकर्षण गराउँछौं। साथै यस्ता असत्य, भ्रामक र प्रायोजित÷नियोजित समाचार र सामग्रीमा विश्वास नगर्न आम जनसमुदायमा हामी हार्दिक अपिल गर्दछौं।’