मुस्ताङको मार्फा खोलामा पुल नबन्दा सवारी साधनलाई सास्ती
जोमसोम : मुस्ताङको मार्फा (राज) खोलामा निर्माणाधीन पक्की पुल निर्माणमा चरण ढिलासुस्ती भएको छ। राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकखण्डमा पर्ने मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल सम्पन्न नहुँदा मुस्ताङ आउजाउ गर्ने सवारी साधन तथा यात्रुले निकै सास्ती पाएका छन्।
निर्माण कम्पनीको चरम ढिलासुस्ती कारण मार्फाको राज खोलामा निर्माणाधीन पक्की पुल ४ पटक म्याद थप भइसक्दा समेत अझै सम्पन्न हुन सकेको छैन। उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)सडक आयोजनाले मुस्ताङको घरपझोङ-२ मार्फा र वारागुङ मुक्तिक्षेत्र-३ छुसाङको नरसिंह खोलामा पक्की पुल निर्माण गर्न २०७५ सालमा हिमढुङ ठोक्कर ईमोटल जेभी कन्स्ट्रक्सनसँग २१ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो।
यसका अलावा सोही निर्माण कन्स्ट्रक्सन मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ को घमी खोलामा ४० मिटर लामो पुल निर्माण गर्न २०७५ सालमै ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरेको थियो। तर,निर्माण कम्पनीले पुल निर्माणमा पुरै वेवास्ता गर्दा ठेक्का सम्झौता भएको ५ वर्ष बितिसक्दा समेत ३ वटै पुल अधुरा छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरला राष्ट्रिय राजमार्गमा पर्ने एउटै निर्माण कम्पनीका ३ वटा पुल निर्माणाधीन अवस्थामा छन्। मुस्ताङको मार्फा (राज)खोलामा ३ स्पानको १२० मिटर लम्बाइको पुल र छुसाङको नरसिंह खोलामा निर्माणाधीन ३ स्पानको ९० मिटर लम्बाइको पक्की पुल आयोजनाले पटक/पटक म्याद थप गर्दा समेत पुल निर्माणको कामले गति लिन सकेको छैन। आयोजना र निर्माण कम्पनीबीच सम्झौता हुँदा ३ वटै पुल २०७८ सालमा सकिनुपर्ने थियो।
निर्माण कम्पनीले भने आयोजनाको आँखामा धुलो छर्न आँकल झुकल काम गरेको देखाएर पुल निर्माणको कामलाई पर धकेल्दै आइरहेको थियो। आयोजनाले ३ वटै पक्की पुल निर्माणको जिम्मा लिएको हिमढुङ ठोक्कर ईमोटल जेभीले पुल निर्माणमा बेवास्ता गरेको भन्दै २ वर्ष अघि ठेक्का मोबिलाईजेसन वापत लिएको १ करोड ११ लाख ५० हजार नेपाल सरकारको नाममा फिर्ता लिएको थियो। निर्माण कम्पनीले आयोजनासँग विभिन्न बहानाबाजी गर्दै पुलको सम्झौता म्याद पटक पटक थप गर्दै आइरहेको थियो। यता, आयोजनाले भने पटक/पटक निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न ताकेता गर्दै आइरहेको थियो।