ला ! हामी चुकचाटा हौं र ?

संस्मरण

ला ! हामी चुकचाटा हौं र ?
तस्बिर : वसन्तप्रताप सिंह

एकजनाले हाँस्दै भने, ‘त्यसो त सर, हामी पनि पालिका नदिने भए नागरिकता लैजाऊ भनेर पाँच सय नागरिकता फिर्ता गरेका ठाउँका मान्छे हौं।’

बझाङ आएदेखि नै यहाँको बारेमा केही न केही त लेख्नुपर्छ भन्ने लागिरहेको थियो। त्यसमाथि पनि साइपालको बारेमा त केही नलेख्नु भनेको अन्याय नै हो। तर पनि मन विरोधाभाषमा थियो। पूर्वाधारको उपलब्धता कमजोर भएका कारण खुइँय गर्दै ढुंग्रामा शरीर बिसाएर चोरी औंला अंकुशी पार्दै पसिना पुछेर गर्नुपर्ने यात्रा खास हो। सट्टामा हेलीमा गरिएको सौखिन यात्रा लेख्नु कि नलेख्नु ! यो विरोधाभाषलाई बन्चरोले मर्मस्थानमा नै हानिएको गजराजलाई जस्तै बनाइदियो सहयात्री बसन्तप्रताप सिंहका शब्दले।

सर जत्तिको मान्छेले बझाङको बारेमा नलेखे कसले लेख्छ ?

सुनिकोटको ओरालो झर्दै गर्दा उनले मलाई ‘यामान’ लेखक बनाइदिए। म मखलेल हुनुपर्ने हो तर मलाई भने आफू यामानको लेखक नभएको अन्तरआभाषले खुम्च्यायो। यो खुम्च्याइ र तन्काइकै बीच पनि लेख्छु भन्ने मनस्थिति भने सिर्जना भयो। ह्वाट्सएपमा ‘मलाई हिजोको फोटोग्राफ पठाइदिनू है ?’ भन्ने मेसेज लेखेर बिहानीको पहिलो प्रहरमै औंलाहरू किबोर्डमा चलाउन थालें।

आज माघ १। कसैका लागि माघी कसैका लागि मकरसंक्रान्ति। काठमाडौं भएको भए घिउ, चाकु, तिलौरी खानुपर्ने हो। यता बटुक, सेल खाने चलन छ। बर्दिया बस्दा ढिकरीको स्वाद लिएको पनि यही बेला हो। तर आज यी केहीको स्वाद लिन पाइने छाँटकाँट देखिएन। बिहानको योग दिवसको कार्यक्रममा देखिएको थुप्रै नारामध्ये ‘गहुँतगोबर खेतमा, शुद्ध अन्न पेटमा’ भन्ने नाराले यी सबैको स्वाद मेटाइयो। करिब ११ बजेतिर जिप चढेर निक्लियौं साइपाल जान। सहयात्रीहरू थिए, भरत शाह, वसन्तप्रताप सिंह र धीरज राउत।

बझाङका १२ स्थानीय तहमध्ये एकको नाम हो साइपाल। साइपाल हिमालको नाममा राखिएको गाउँपालिकाको नामसँगै यो पालिका बनाउँदाका अनौठा कुराहरू पनि छन्। जिल्लाको ४२ प्रतिशत भूगोल (१४६७.२७ व.कि.मि.) समेट्ने यसले जम्मा २ हजार ६ सय जति जनसंख्यालाई राखेको छ।
हालसम्म वाणिज्य बैंकको शाखा नखुलेको स्थानीय तह पनि यही हो। साइपाल हिमाल, राक्से हिमाल, राईढुंगीताललगायत मनमोहक प्राकृतिक छटा लिएको यसले प्रशस्त संरक्षित वन्यजन्तुलाई आश्रय दिएको छ। हिमालयन भियग्राको नामले प्रसिद्ध यार्सागुम्बालगायत अनेकांै जडीबुटी पाइन्छन् यहाँ।

‘तर पालिका बनाउने बेलामा हामीलाई हेप्यो नि सर। काँडाका मान्छेले खाली छ्याङरक्सी बेच्ने हो। के गर्न सक्छ र भनी हामीलाई हेप्यो। हामीले पनि आन्दोलन गरेर पालिका बनायो’, पालिका अध्यक्ष मानवीरले भनेथे एक दिन। पुराना कुरा सम्झिन्छु, मित्र प्रमोद सिम्खडा स्थानीय विकास अधिकारी थिए स्थानीय तहको ढाँचा बनाउने बेलामा। घरीघरी फोनमा भन्थे, ‘काँडाका मान्छेले पनि आन्दोलन गर्ने रहेछन्। आज घेराउ गरे। नारा लगाए। हामीलाई पालिका दिन्नौ भने तिम्रो नागरिकता चाहिएन भन्दै पाँच सय नागरिकता प्रशासनमा बुझाए।’

अहिले पनि त्यो प्रसंग धुली र काँडाका बासिन्दा उठाइरहने रहेछन्। यिनै प्रसंगसँग जोडिएका कुरा गर्दागर्दै हामी चैनपुर ताक्लाकोट लेखिएको सडकमा लगभग २१ किलोमिटर लामो यात्रा गरी रूपातोला पुगेका थियौं। तलकोट दरबारलाई बायाँ पारेर तल बगेको सेती खोला खोज्दै गजधम्म परेका पहाडको काखमा भेटिन्छ रूपातोलाको सानो बस्ती। त्यही बस्तीको खन्दै गरेको सडकमा नै ढ्यास्स तेर्साइएको हेलिकप्टर नजिकै पुग्दामात्र देख्यौं हामीले।

काँडामा दस शय्याको अस्पताल बनाउन लग्न लागिएको डन्डीको थुप्रो केही दिनदेखि सामान बोकिरहेको हेलीले सानो बनाइसकेको थियो। छेवैमा केही ड्रमहरूमा हवाई इन्धन। केही मजदुर ओहोरदोहोर गरिरहेका। काठको एउटा लामो बेन्च र केही थान प्लास्टिकका कुर्सीहरू। पुराना प्रेसरकुकरहरूमा पाकेका खानेकुरा। त्यहीँ सडकमा नै बसेर खानेकुरा खाइयो। मालवाहक ट्रकका परिवारहरूले कहिलेकाहीँ बाटोमा पकाएर खाएको देखेको थिएँ। कताकता त्यसैको झल्को पनि आयो।  खाना खाइसकेर हामी उड्यौ धुलीतर्फ।

भीमकाय डाँडाको बीचैबीच उडिरहेको हेलीबाट कहिले तलको खोलातिर नजर कुद्थ्यो। कहिले अक्करे भिरमै पनि पलाएका बुट्ट्यानतिर। कहिले पर ठडिएको हिउँको बिउमात्र बाँकी भएको कालापत्थरतिर। यार्चा टिप्ने पाटनको अनुमान लाउँदै गर्दा दायाँतर्फ देखियो काँडाको बस्ती। केहीछिनमा बायाँतर्फ न्यूना। सेता रङका मैला मैला देखिने अधिकांश घरहरूका छानाबाट ढुंगाको स्लेट हटेर जस्तापाता ठोकिएका देखिन्थे।

null

धुलीको हेलिप्याडमा धुलो उडाउँदै हेलिकप्टर रोकियो। केटाकेटी र महिला धुलो छेक्दै दौडिए। हामी पनि धुलो छल्दै उत्रियौं। यहाँको प्राकृतिक छटाको आनन्द लिनुपर्छ भन्दाभन्दै मोबाइलमा नोटिफिकेसनको भाइब्रेसनले झस्कायो। हातमा फोन लिन नपाउँदै फोन बज्न थाल्यो।
‘सर, यहाँ दमकल आइपुगेन। बजारमा एउटा घरमा आगो लागिरहेछ।’

अब लिएन धुलीको आनन्द ! सँगैका साथीहरूलाई भने टोली खटाउन। सँगै नभएकालाई पनि आआफ्नो भूमिकाको बारेमा सम्झाएँ। दमकल पठाएँ तर साँघुरो सडकमा उसलाई पुग्न कठिन भएछ। बढी क्षति हुने अवस्था आएछ। खानेपानी खोल्न लगाएँ। खोई नगरमा ‘हाइड्रेन्ट’ छ÷छैन थाहा भएन तर खोल्न लगाएको खानेपानीले काम गरेछ।

चौकीको असई हातमा निरीक्षण पुस्तिका लिएर उभिएका छन्। लगातार फोन आइरहेछ। माथिपट्टिको हिउँ नभएको नांगो डाँडाले दिक्क बनाइरहेछ। स्थानीयका उत्सुक आँखाले हेरिरहेछन्। सेती पारि देखिएको गाउँ र जिउलोले लोभ्याइरहेछ। उरै भन्ज्याङ कतातिर होला भन्ने चासो पनि छ। नागरिकता नपाएका कति मान्छे होलान् भन्ने चिन्ता एकातर्फ छ। उतातर्फ बजारमा आगो लागिरहेको छ। कतै जिम्मेवारीले पोल्दैछ, कतै जिज्ञासाले घोच्दैछ।

यही बीचमा केही कुरा गर्न भ्याइयो। पारि गाउँको नामबलौंडी रहेछ। त्यहाँको खेती भएदेखि बाहेकको जमिन सुर्मादेवीको गुठी रहेछ।
‘यहाँबाट नि पूजा लैजानुपर्छ ?’ मैले सोधें।
‘पर्छ नि ! एक जिज्ञासु आँखा भएको युवकले जवाफ दियो। तर जिल्लाभरि धेरै सुर्मादेवीको मन्दिर रहेछन्। यहाँ भएको मन्दिर अर्कै रहेछ।
‘जात पनि चल्छ नि यहाँ’ अर्को एक जनाले भन्यो।
‘कहाँ ?’
धुली गाउँको एक कुनामा देखाउँदै उसले भन्यो, ‘ऊ त्यहाँ। लांघादेवको मेला लाग्छ सात दिनको।’
‘लांघादेव भनेको महादेव हो ?’
‘हो’ उसले भन्यो।
‘यहाँ जंगली जनावर गाउँमै आउँछ ?’ नयाँ 
प्रश्न सोधें।
‘आउँथ्यो नि ! हिउँ परेपछि तल तल झर्ने हुन्। अहिले त हिउँ नै परेन।’ उसले निराश हुँदै भन्यो।
फ्याट्ट सुनें, उता अर्की महिला वसन्तजीलाई भन्दै रहिछन्, ‘हाम्रो त महिनावारी पनि बिग्रियो।’

जलवायु विज्ञहरूले जलवायु परिवर्तनको यस्तो पनि असर हुन्छ भन्ने गरेको कुरालाई सन्देशात्मक रूपमा सुन्ने गरेको म यहाँ महिलाको आवाजले झस्किएँ एकपटक। सबै आआफ्नै सुरमा थिए। कहिले आफ्ना मातहतलाई निर्देशन दिने र कहिले पुराना यादहरू सुनाउने क्रम जारी थियो। उता भरतजी आफू असई हुँदा बाध्यतावश कसरी एकैदिनमा धुलीबाट चैनपुर पुगेथें भनी सुनाउँदै थिए। हेलीका क्याप्टेन हरेराम थापा उडान अनुभव सुनाउँदै थिए। मेजर धीरज भूगोललाई गहिरोसँग नियाल्दै थिए। चैनपुरबाट आगो नियन्त्रणमा आएको फोन आयो। बल्ल आफूले खुल्लापनको महसुस गरें। एकपटक लामो श्वास तानें र दायाँबायाँ हेरें।

डाँडाको काखमा लामो तेर्सिएको धुली हामीलाई हेरेर मुस्कुराइरहेको थियो। उत्तरतर्फ ठडिएको अलिक बढी हिउँ भएको गुदुपाल हिमाल हामीलाई हेर्दै गर्विलो भइरहेको थियो। पूर्वतर्फको कालो पहाड हिउँको अभावमा तड्पिरहेको थियो। धुलीको बस्ती आफ्नो काखमा बन्ने भनिएको माथिल्लो सेती जलविद्युत् आयोजनाले ल्याउने विकास सम्झेर भित्रभित्रै खुसी थियो।

फ्याट्ट भनें, ‘वाटर टावर नै नभए के हुन्छ हाम्रा जलविद्युत्को भविष्य ?’
वसन्तजीले भने, ‘जलविद्युत्को भविष्य छोड्नूस्। के हुन्छ यिनको भविष्य ?’
नजिकै उभिएका केही थान केटाकेटीको उत्सुक आँखामा हेरें अनि सम्झिएँ दिगो विकासको परिभाषा। गान्धीजीले भने झैं आवश्यकता र लोभको सन्तुलन कसरी होला भन्ने लाग्यो। मन अमिलो भएर आयो। नजिकै उभिएकी महिलातिर हेरें।
उनले भनिन, ‘तमी अहिल झान्याँ हौ त ?’
जिस्कँदै भनें, ‘तमीले राख्ने नाईं ?’
‘हामी राखुली। तमी याँइ बस।’
उनीहरूको फरासिलो व्यवहार देखेर म हाँसे। यत्तिकैमा हेली आइपुग्यो।
‘छारो उड्यो।’ भन्दै सबैजना ढुंगा पछाडि आइपुगे।

हामी फेरि भेट्ने वाचा गर्दै धुलीबाट छुट्टिएर काँडातर्फ लाग्यौं। यस्ता ग्रामीण बस्तीहरूमा पाहुना आउँदा राख्ने सद्भाव पटक्कै बदलिएको छैन। गाउँको बारेमा के नयाँ कुरा बताउँ ? के नौलो कुरा खुवाएर पठाउँ ? भन्ने चिन्ता हुन्छ। भोकै पठाउनुपर्ला भन्ने चिन्ता हुन्छ उनीहरूलाई।

काँडाको यो बस्तीमा केही दिनअघि पनि आइपुगेको थिएँ। खेतीयोग्य जमिनको अभाव रहेको यो गाउँ भित्ताजस्ता डाँडाले घेरिएको छ। यहाँका मान्छेहरूको आम्दानीको मुख्य स्रोत भनेकै जडीबुटी हो। साइपाल हिमालमा पर्यटक ल्याउन सके केही राम्रो हुन्थ्यो। त्यो गर्न सकिएको छैन।
‘आउँदैनन् सर। फाट्टफुट्ट हो। आज एकजना उता लागेको देखियो।’ एक जनाले भने।

‘को के ? यसरी थाहा नै नभई जान दिनु भएन संवेदनशील ठाउँमा।’ दार्चुला हुँदाको घटना सम्झँदै भनें।

सविस्तार पनि भनें, कसरी आफूलाई क्याटलोना भन्ने देशको ठान्ने एक विद्रोही महिला मधेस घुमेर तिब्बत छिर्न खोजेकी थिइन्। एकजनाले हाँस्दै भने, ‘त्यसो त सर, हामी पनि पालिका नदिने भए नागरिकता लैजाऊ भनेर पाँच सय नागरिकता फिर्ता गरेका ठाउँका मान्छे हौं।’
सबै हाँसे। यत्तिकैमा एक जनाले तातोपानीमा मह राखेर ल्याए।
भरतजीले जिस्कँदै भने, ‘रक्सी त होइन नि यो ?’
‘नाईं, नाईं। होइन।’ लिई आउनेले भने।
‘बरु यसमा ताराचुक हालेको भए हुन्थ्यो नि।’ अरु कसैले भन्यो।
‘ला ! हामी चुकचाटा हौं र ?’

फेरि सबैजना हाँसे। आकाशमा डन्डी झुन्ड्याएर आउँदै गरेको हेलिकप्टर देखियो। काँडामा अस्पताल निर्माणमा खटिएको बैतडी मूलथलो भई कञ्चनपुर बस्ने युवा इन्जिनियर भाइले आकाशतर्फ हेरे। सामान झारेर हेली स्कुल ग्राउन्डमा उत्रियो। हामी हात हल्लाउँदै चैनपुरतिर लाग्यौं।

- कुइँकेल बझाङका प्रमुख जिल्ला अधिकारी हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.