विपतको बेभार

विपतको बेभार

सुरक्षित ठाउँ पहिचान गरी एकीकृत बस्तीको अवधारणामा काम गर्नु राम्रो हुन्छ।

देशमा ठूलो विपत्ति आयो। २०७२ वैशाख १२ को महाभूकम्पले तहसनहस पार्‍यो। त्यसको दर्द र पीडामा मानिसहरू छट्पटाइरहेका थिए। हामी भने अमेरिकामा दर्शक हँसाउँदै थियौं। एउटा राज्यमा कार्यक्रम सकेर अर्कोमा जानुपर्ने भयो। विमानस्थलमा पुग्दा बीबीसी, सीएनएनलगायत च्यानलले भूकम्पकै खबर प्रसारण गरिरहेका थिए। धरहरा ढलेको, मानिसहरू चिच्याइरहेका र कतिपय घाइते छट्पटाइरहेको दृश्य देखियो। ती दृश्य हेरेर विदेशीसमेत गहभरि आँसु बनाएर बसेका हामीले देख्यौं। 

नेपालमा त्यति ठूलो पीडा, हामी भने दर्शक हँसाउन अमेरिकामा। मन भक्कानियो। हाम्रो उपस्थिति मात्र पनि पीडितलाई राहत हुन सक्छ भन्ने लाग्यो। तब फर्कने निधो गर्‍यौं। अन्तिम कार्यक्रममा करिब दुई हजार नेपाली सहभागी थिए। हँसाउने कार्यक्रम शोकमा परिणत भयो। त्यहाँ उपस्थित एक वृद्ध बुवाले भन्नुभयो, ‘त्यो देशको नुन हामीले पनि खाएका छौं। नेपाल हाम्रो देश हो। तपाईंहरू पनि जानुस्।’ उहाँका कुराले झन् एकैछिन पनि त्यहाँ बस्न मन लागेन। हामी आयोजकलाई फकाएर देश फर्कियौं। 

सरकारले कुञ्जना (कञ्जना घिमिरे ‘सुन्तली’) र मलाई सरसफाइ दूत बनाएको थियो। हामीले पूर्व–पश्चिम राजमार्गको प्रत्येक ३० किलोमिटरमा शौचालय बनाउने सोच अघि सारेका थियौं। उक्त योजना पूरा गर्न अमेरिकामा कार्यक्रमबाट १६–१७ लाख रुपैयाँ उठेको थियो। त्यही रकम अब भूकम्पपीडितलाई खर्च गर्छौं भन्ने निर्णय गर्‍यौं। हामी आठ महिनाकी छोरी छाडेर अमेरिका गएका थियौं। फर्कनासाथ आफ्नै घरमा पीडा देख्यौं। पालमुनि बुवाआमा कुर्दै छोरी बसिरहेकी थिइन्। सासूआमाका ६ वटा करङ भाँच्चिएका थिए। परकम्प गइरहेका थिए। तापनि राहत र उद्धारमा ढिला गर्नु हुन्न भन्ने लाग्यो। हामीले प्रारम्भिक चरणमा १३ जिल्लामा राहत पुर्‍यायौं। उद्धार गर्‍यौं। नुवाकोट ककनीमा जनश्रमदानबाट अस्थायी विद्यालय बनाएर तत्काल सञ्चालनमा ल्यायौं।

सामाजिक सञ्जाल अहिलेजस्तो फस्टाइसकेको थिएन। हामीले आफ्ना कुरा केही अनलाइनमार्फत राख्न थाल्यौं। सबैले हौसला दिनुभयो। राहत, उद्धारको काम सकियो। अस्थायी टहरा बनिरहेका थिए। हामीलाई के लाग्यो भने त्यो दिगो होइन। सरकारसँग सहकार्य गर्दै व्यक्तिगत घरहरू पनि बनाउने कि भन्ने लाग्यो। एकीकृत बस्ती विकासको अवधारणामा काम गर्ने सोच आयो। मैले प्रधानमन्त्री कार्यालयमा गएर आफ्नो प्रस्तुति राखेँ। तर, एकीकृत बस्ती विकासलाई तुरुन्तै कार्यान्वयन गर्ने राज्यको नीति थिएन। व्यक्तिगत रूपमा भए पनि सुरुवात गर्नै पर्छ भन्ने हुटहुटी जाग्यो। 

हामीले काभ्रेमा एकीकृत नमुना पहरी बस्ती जेठ १७ गते निर्माण सुरु गर्‍यौं। त्यसलाई सम्पन्न गरेर साउन २७ मा हस्तान्तरण गरियो। त्यसबाट राम्रो सन्देश गयो। राज्यलाई पनि एक खालको दबाब भयो। अनि मात्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बनाइयो। पुनर्निर्माणका काम भने धिमा गतिमा बढ्यो। हामीले धुर्मुस–सुन्तली फाउन्डेसन दर्ता गर्‍यौं। पुनर्निर्माणको काम एक वर्षसम्म पनि कहीँ कतै नभएपछि हामीले अर्को जमर्को गर्‍यौं। सिन्धुपाल्चोक मेलम्चीमा एकीकृत नमुना गिरानचौर बस्ती निर्माण भयो। हामीले त्यस क्रममा धेरै चुनौती खेप्नुपर्‍यो। त्यहाँ ६६ घर, ३ पार्क, एउटा गुम्बा र होमस्टेका लागि केही घर बनाइएको छ। ्

चिसो निकै बढेकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको अवस्था दयनीय छ। यसमा सरकारको ध्यान जाओस्। पीडितको घाउमा चाँडै मल्हम लागोस्। 

हामी त्यसपछि सरसफाइ दूतकै जिम्मेवारीमा फर्कियौं। जतिबेला मधेस आन्दोलन चर्किरहेको थियो। कार्यक्रम गर्दै सर्लाही पुग्दा त्यहाँ मधेसी मोर्चाले हाम्रो अभियानप्रति ऐक्यबद्धता जनायो। बर्दिबास पुगेर पत्रकार सम्मेलन गर्‍यौं। एक पत्रकारले मुसहर बस्तीको अवस्था अवगत गराउनुभयो। भूकम्पले क्षत्विक्षत भएको त थिएन तर मानवताका लागि केही गर्न सकिन्छ कि भनेर बस्तीमा गयौं। त्यहाँका बालबालिका, वृद्धवृद्धालगायतको अवस्था देख्दा मन कुँडियो। हामीले पुसमा सुरु गरेर वैशाख १ गते ५४ वटा भूकम्पप्रतिरोधी घरसहितको बस्ती हस्तान्तरण गर्‍यौं। जसमा व्यवस्थित घर, पार्क, मन्दिर र विद्यालय पनि छन्। 

त्यसलगत्तै तराई डुबानमा पर्‍यो। हामी उद्धारमा खटियौं। बाढीपीडितका लागि रौतहटको सन्तपुर बस्ती १ सय १० दिनभित्र निर्माण गरी हस्तान्तरण गर्‍यौं। हामीले बनाएका ५३ घर तल बाढी आए पनि माथि बस्न मिल्ने खालको दुईतले छन्। 

पछिल्लो समय आएको विपत्ति हो जाजरकोट र पश्चिमरुकुमको भूकम्प। एकदमै मन दुख्यो। किनभने, हामी हिजो भूकम्पमै त्यत्रो सहयोगी बनेका थियौं। तर, आज किन विवश छौं भने हामीसँग स्रोत छैन। हामीले एउटा ठूलो परिकल्पना रंगशालाको विषयबाट निकास पनि पाएका छैनौं। कस्ता डिजाइनका घर बनाउनुपर्छ, एकीकृत बस्ती विकास कसरी गर्ने भन्नेलगायत अनुभव हुँदाहुँदै पनि मूकदर्शक भएर बस्नुपर्‍यो। सबैले विपद्को घडीमा मानवताका लागि काम गर्ने हो। अभाव, दुःख र पीडामा जो सहारा बनेर जान्छ उही भगवान् हो। त्रिपालको बासले कैयौं सुत्केरी र ज्येष्ठ नागरिकको ज्यान गएको सुनिन्छ। कैयौं बालबालिका चिसोले कठ्यांग्रिरहेको सुन्दा मन भक्कानिन्छ। 

सुरुको अवस्थाको समाधान भनेको टहरा बनाएर पीडितलाई राख्ने नै हो। तर, दिगो भनेको पुनर्निर्माण हो। विपद् भोलिका दिनमा पनि आउन सक्छ। त्यसका लागि आजैदेखि समस्याको समाधान गर्नु बुद्धिमानी हुन्छ। तर, विपद् आइसकेपछि मात्रै त्यसको तयारी गर्ने चलन छ। सतर्कताका उपाय सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ।

भूकम्पबित्तिकै तुरुन्त गर्ने भनेको पुनर्बासको तयारी हो। अबको चरण चाहिँ पुनर्निर्माणमा गइएन भने फेरि अरू क्षति हुन सक्छ। घाउ त ताजा अवस्थामा थाहा भइरहने हो। बिस्तारै त्यो घटना बिर्सन थालिन्छ। राज्यको ध्यान पनि जाँदैन। तर, मान्छेको जीवन त जस्ताको तस्तै हुन्छ। दुर्गम ठाउँमा अरू उपाय पनि छैन। आफैं गरौं भने सबै सम्पन्न पनि हुनुहुन्न।

जतिखेर प्राधिकरण बनाइएको थियो, त्यो पुनर्निर्माणका लागि आधिकारिक निकाय थियो। सरकारले जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण बनाउनुपर्छ। वा त्यस्तै कुनै संयन्त्र बनाउनुपर्छ। त्यहीसँग सम्बन्धित विज्ञ को छन् ? कुन संस्था पुनर्निर्माणमा इमानदारीपूर्वक खटेको छ ? कसले कसरी काम गरे ? यस्ता कुरा बुझ्नुपर्छ। उनीहरूसँग छलफल चलाएर विज्ञ समूह बनाउनुपर्छ। पहाडी बस्ती भएकाले कति ठाउँमा एकीकृत बस्ती विकास गर्न सकिन्छ, भविष्यमा पहिरो जान सक्छ कि सक्दैन भन्ने पनि अध्ययन गर्नुपर्छ। सुरक्षित ठाउँ पहिचान गरी एकीकृत बस्तीको अवधारणामा काम गर्नु राम्रो हुन्छ। सम्भव नभएका ठाउँमा जहाँ घर भत्किएका छन् त्यहीँ एउटै डिजाइन, रंगरोगन र एउटै आकारका घर बनाउनु उपयुक्त हुन्छ। 

छरिएर रहेका घरको सट्टा एउटै डाँडामा एउटै डिजाइनका, अर्को डाँडामा अर्को डिजाइनका बनाउँदा सुन्दर देखिन्छ। भूकम्पपछिको पुनर्निर्माण भनेर हेर्न जाने पर्यटकलाई आकर्षणको केन्द्र हुन्छ। अर्को ठाउँमा कहीँ केही भए यस्तै नक्कल गर्न पनि सजिलो हुन्छ। सबै मिलेर विपद्को सामना गर्नुपर्छ भन्ने हौसला पीडितमा जगाउनुपर्छ। राज्यले पनि राज्य रहेको अनुभूति दिलाउन सक्नुपर्‍यो। पीडितलाई हौसला मात्र दिँदा पनि त्यसले धेरै प्रभावकारी रूपमा काम गर्छ। हामीजस्ता व्यक्ति र संस्था भनेको त निमित्त पात्र मात्र हो। तर, घर बनाएर मानिस बसोबास गरिसकेका हुनाले छिटो कसरी काम गर्न सकिन्छ भन्ने अनुभव छ। जुनसुकै विपद्मा पनि सरकारलाई सघाउन कुन–कुन संस्था र को–को व्यक्तिले पुनित कार्य गरेका छन् भन्ने लेखाजोखा राज्यले राख्नुपर्छ। राज्यले सम्झिँदा को खुसी हुँदैन र ? 

जुनसुकै दलको सरकार आउँदा पनि हाम्रो भूमिका त सहयोगी हो। गिरानचौर बस्ती बनाउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो। उहाँले प्रधानमन्त्री बनेपछिको पहिलो महिनाको तलब हाम्रो संस्थालाई दिनुभयो। अहिले फेरि विपद् आउँदा उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ। चिसो निकै बढेकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको अवस्था दयनीय छ। यसमा प्रधानमन्त्री र सरकारको ध्यान जाओस्। पीडितको घाउमा चाँडै मल्हम लागोस्। पीडितले अस्थायी टहरा होइन, चाँडै पक्की घर पाऊन्।

(हास्य कलाकार कट्टेलको अगुवाइमा २०७२ को भूकम्पपछि केही बस्ती पुनर्निर्माण गरिएको थियो।)  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.