
काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान बनाउँदा संवेदनशीलता भएपनि कार्यान्वयन गर्दा नभएको दाबी गरेका छन्। मंगलबार दिउँसो संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रम सहभागि हुन एमाले पार्टी कार्यालयमा पुगेका खनालले संविधान कार्यान्यवनमा जोड दिनुपर्ने बताएका हुन्।
एकीकृत समाजवादीका सम्मानीत नेता खनालले भने,‘संविधान बनेको सात वर्ष हुन लाग्यो। संविधान कार्यान्वयन गर्ने प्रक्रियामा संविधानको आधार तयार गर्दा, संविधान निर्माण गर्दा हामी जति संवेदशील र सचेत थियौं। संविधान कार्यान्वयन गर्दा त्यति सचेत देखिएका छैनौं।’
संविधान बनाएपनि जनतालाई शिक्षित बनाउने कुरामा यो देशको नेतृत्व पछि रहेको उनको भनाई छ। खनालले संविधान कार्यान्वयन गर्न सरकार र नेतृत्वले पहल गर्न नसकेको उल्लेख गरे। ‘हामीले संविधानलाई जनतालाई शिक्षित प्रशिक्षित गर्नुकुरामा यो देशको नेतृत्व पछि छ।’उनले भने,‘कानुन बनाएर लागु गर्नुपर्ने संविधानले घोषणा गरेको छ तर खै हामीले कानुन बनाएको ? नेतृत्वले पहल गरे बनाउन सकिन्छ। संविधान राम्रो बनाएर मात्रै पुग्दैन, कार्यान्वयन गर्दा चाल्नुपर्ने कदममा ध्यान दिनुपर्दछ।’
उनले संविधानमा रहेका मतभेद हटाउन नसकेको बताए। उनले पहिलो संविधान सभा विघटन भएपनि दोस्रो संविधान सभाबाट संविधान जारी भएको स्मरण गराए।
‘नेपालको संविधान निर्माण गर्न सबै राजनीतिक दलसँग सहमति गर्न सुवास नेम्वाङले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।’खनालले भने,‘मतभेदलाई अधिकांश सहमतिमा लगेर आजको संविधान बनाउने प्रक्रियामा जुन सहमति भयो त्यो असाधारण थियो। यसमा नेम्वाङको भूमिकाको उच्च मूल्याङ्कन गर्नुपर्दछ।’
प्रतिक्रिया दिनुहोस !
