अब सबै नेपाली चालकलाई चाइना पास

काठमाडौं : रसुवागढी नाकाबाट सामग्री आयात निर्यात गर्दै आएका कन्टेनरका चालकलाई चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) दिन थालिएको छ।
यसअघि रसुवावासीका लागि मात्र उपलब्ध गराउँदै आएको पास अब सबै नेपाली चालकलाई उपलब्ध गराउन थालिएको हो। अध्यागमन कार्यालय टिमुरेका अनुसार पहिलो चरणमा २२ जना चालकलाई पास उपलब्ध गराइएको छ। रसुवा बाहिरका २६ जना चालकले निवेदन दिएका भएतापनि २२ जनालाई पास उपलब्ध गराइएको कार्यालयले जनाएको छ। यो पासको अवधि एक वर्षको हुने छ।
रसुवा बाहिरका चालकले पास पाएको भएतापनि चीनबाट अनुमति आइनसकेका कारण केरुङ जान पाएका छैनन्। यसका लागि हामीले समन्वय भइरहेको कार्यालयले जनाएको छ।
चिनियाँ पक्षले प्रस्थान अनुमति दिएपछि सामग्री आयात तथा निर्यातमा सहज हुने छ। रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमतिपत्रसम्बन्धी कार्यविधि २०७६ अनुसार पास उपलब्ध गराइएको र प्रक्रिया पूरा गरेर आएका सबै नेपाली चालकले पास पाउने छन्।
उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमतिपत्र, कामदार प्रवेश अनुमतिपत्र, व्यवसायी प्रवेश अनुमतिपत्र, एकदिने प्रवेश अनुमतिपत्रको व्यवस्था छ। जसमध्ये अहिले सवारी चालक प्रवेश अनुमतिपत्रको कार्यान्वयन गरिएको हो।
रोजगारीका लागि प्रचुर सम्भावना रहेकाले केरुङ जानका लागि जिल्लाका करिब १३ हजारले चाइना पास बनाएका छन्। यो २०७२ असोज २८ गतेदेखि २०७७ मंसिर २७ गतेसम्मको तथ्यांक हो।
२०७२ असोज २८ गतेअघि जिल्ला प्रशासन कार्यालयबाट पास लिने व्यवस्था थियो। कम खर्चमा धेरै आम्दानी हुने, आवतजावत गर्न सहज र राहदानी बनाउनुपर्ने झन्झट नहुने भएपछि पछिल्लो समय त्यहाँ जानेको संख्या बढेको थियो।
प्रतिक्रिया दिनुहोस !
