टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया यसैवर्ष अघि बढ्छ :अर्थमन्त्री महत

काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रक्रिया अघि बढ्ने बताएका छन्।
नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा अर्थमन्त्री महतले सुरुङमार्ग निर्माण प्रकिया अघि बढाइने बताएका हुन्।
‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन। यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ। त्यसैले यो नुवाकोटको मात्र पुँजी होइन', उनले भने।
‘यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएपनि ठोस पहल नभएको उनको भनाइ थियो। 'अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं। यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ’ भवन उद्घाटन समारोहमा उनले भने, ‘विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रक्रिया हामी अगाडि बढाउँछौं। यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो।’
अर्थमन्त्री सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्ने बताए। 'यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ। अब यसले नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई यो सुरुङमार्गलाई ठूलो सहयोग पुर्याउँछ। यो निर्माण सम्पन्न हुनका लागि हामीले केही वर्ष पर्खिनुपर्ने हुन्छ,’ उनले भने।
धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको उनको भनाइ थियो। 'धेरै वर्षपछि यहाँका विकास निर्माणको जुन आवश्यकता थिए, ती आवश्यकता पूर्तिका लागि हामीले सक्ने बजेट विनियोजन गरेका छौं। स्थानीय, प्रदेश पनि छ, त्यसैले सबै काम केन्द्रले गर्दैन’ मन्त्री महतले भने, ‘टोल टोलमा पुग्ने बाटो केन्द्रले बनाउन सक्दैन, त्यसका लागि स्थानीय निकाय र प्रदेशले आफ्नो बजेटबाट प्रवन्ध गर्नुपर्छ। प्रदेशको बजेट पनि आउँदैछ, केन्द्रले राख्न नसकेको ठाउँमा प्रदेशले पनि राख्छ।’
आफू नुवाकोटकै अर्थमन्त्री परेका कारणले यो जिल्लामा केही बढी बजेट परेको बताए। 'त्यो नुवाकोटको आवश्यकता हो। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसददेखि सडकसम्म चर्चा परिचर्चा र बहसको विषय बनेको छ। यद्यपि देशभरि हामीले बजेट पुर्याउने प्रयास गरेका छौं’ मन्त्री डा. महतले भने।
प्रतिक्रिया दिनुहोस !
