पोखरामा प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु

पोखरा : पोखरामा प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ।
स्वस्थ शरीरमा मात्र स्वस्थ मस्तिस्कको विकास हुन सक्छ नाराका साथ एसईई दिएर बसेका विद्यार्थीहरूबीच पोखराको मदरल्याण्ड माविमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो।
तीन दिनसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट ६६ समूहको सहभागिता रहेको आयोजक मदरल्याण्ड माविले जनाएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार, मेडल, सिल्ड र प्रमाण पत्रको साथै आकर्षक पुरस्कार पनि वितरण गरिने मदरल्याण्ड माविका दस जोड दुई इन्चार्ज नारायण आचार्यले बताए।
फुटसल प्रतियोगिताको साथै एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आत्मनिर्भर हुने सिप, शैक्षिक तथा बौद्धिक विकास गर्ने हाजिरी जवाफ जस्ता प्रतियोगिता पनि गरिने बताइएको छ।
सावित्रा भण्डारी (साम्बा) सम्मानित
नेपाली राष्ट्रिय फुटबल टिमकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा भण्डारीलाई उद्घाटन कार्यक्रममा सम्मान गरिएको छ। मदरल्याण्ड माविले भण्डारीलाई दोसल्ला ओडाएर सम्मानको साथै प्रमाणपत्र र २५ हजार रुपैयाँका साथ सम्मान गरेको हो।
भण्डारीले नेपाली महिला फुटबल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको विद्यालयका प्राचार्य नारायण बरालले बताए।
प्रतिक्रिया दिनुहोस !
