बौद्ध मिथकमा गीतिनाटक

देउडा गीत

बौद्ध मिथकमा गीतिनाटक
फाइल फोटो

यस गीतिनाटकमा एकातर्फ योगमायाले राणाशासनविरुद्ध सामाजिक तथा धार्मिक सुधारका लागि गरेको संघर्षलाई देखाइएको छ।

लालगोपाल सुवेदीको राहुल यशोधरा संवाद गीतिनाटक (२०७९) मा राहुल–यशोधरा संवाद, अंगुलिमाल तथा योगमाया र धर्मसभा गरी तीनओटा गीति नाटक छन्। बौद्ध मिथक र इतिहास यसका कथावस्तुका स्रोत हुन्। राहुल यशोधरा संवाद पूर्णांकी गीतिनाटक हो भने थप दुई गीतिनाटक एकांकी गीतिनाटक हुन्।

राहुल–यशोधरा संवाद गीति नाटक एकल, संवादात्मक र पाश्र्वगीत गरी ३० वटा गीत तथा ठाउँ ठाउँको रंगमञ्चीय निर्देशनद्वारा नाटकको संरचना तयार भएको छ। बुद्ध परिवारका सदस्य तथा परिवारसँग सम्बन्धित केही व्यक्तिलाई पात्रका रूपमा प्रयोग गरिएको छ नाटक। जसको उद्देश्य कलात्मक र प्रतीकात्मक भाषाका माध्यमबाट समसामयिकताको उजागर गर्नु नै हो।

यस गीति नाटकमा बुद्धजीवनका महत्त्वपूर्ण पाटाहरू प्रस्तुत गरिएको छ। इतिहासको नेपथ्यमा लुकेको सिद्धार्थ पत्नी यशोधराका त्याग, तपस्या, पारिवारिक दायित्व, कुशल मातृत्व र बुद्धकै स्तरको ध्यान र ज्ञानबारे जानकारी भावकहरूलाई गराइएको छ। नाटकले एकातर्फ इतिहासले उपेक्षा गरेको यशोधराको चरित्रलाई सतहमा ल्याएको छ। 

अर्कोतर्फ इतिहासले सम्मान गर्न नसकेको नवपुस्तालाई पनि राहुलका माध्यमबाट सतहमा ल्याएको छ। यसमा बुद्धको जीवनी, राहुलको बाल्यकाल र यशोधराको एकल संघर्ष छ। यसमा बालमनोविज्ञान, बालअधिकार, नारी मनोविज्ञान र यौन मनोविज्ञान छ। वातावरण विनाश र पशुअधिकारको कुरा छ। मान्छेले प्रकृतिमाथि गरिरहेको अनावश्यक हस्तक्षेप र अतिक्रमणलाई पनि देखाइएको छ।

गीति नाटकले लोकलयलाई वाणी प्रदान गरेर स्वतन्त्रताको गायनसमेत छ। यसमा सिद्धार्थ र यशोधराको पूर्वजीवन तथा कपिलवस्तुको पूर्वइतिहासलाई समेत प्रस्तुत गरिएको छ। यशोधराका माध्यमबाट मातृत्व र मातृशक्तिको महिमागान छ। नारी अहम्को प्रकटीकरण नै पूर्वीय नारीवाद हो। जुन चरित्रबल र नैतिक बलबाट प्रकट भएको छ। पतिले निर्वाह गर्ने सन्तानप्रतिको दायित्व एक्लै निर्वाह गर्नु, सन्तानलाई शिक्षा प्रदान गर्नु र बुद्धले यशोधराको स्वाभिमानको सम्मान गर्नुले पनि पूर्वीय नारीवादकै संकेत गरेको छ।

यशोधराको मातृत्वको महिमागान गर्नु पनि प्रकारान्तरले नारीशक्तिकै गायन गर्नु हो। सुवेदीले नारीको त्याग, प्रेम र समर्पण, जीवनका रहस्यमय विषय आदिलाई प्रस्तुत गरेका छन्। मानिसमा लोभ, मोह, तृष्णा, आकांक्षाजस्ता आदिम प्रवृत्ति बढ्दै गएकाले मनुष्य मनुष्यका रूपमा नरहेको कुरालाई उद्घाटन गरिएको छ।
अहंकार नै मानव जीवनको दुःखको कारक भएकाले अहंकारलाई नत्यागेसम्म जीवनमा सुखको अनुभूति गर्न नसकिने गीतिनाटकमा छ। नाटकको उद्देश्य इतिहासमा उपेक्षिता नारी यशोधराको चरित्रको उद्घाटन गर्नु हो। यशोधराले देखाएका क्रियाकलापका माध्यमबाट पुरुषको जीवनको सफलतामा नारीको भूमिका अहम् हुने कुरा पुष्टि भएको छ।

यशोधरामा रहेको मातृवात्सल्य भावलाई आकर्षक किसिमबाट देखाइएको छ। पृथ्वी पुत्रको आमा र आमाको काख पृथ्वी हो, पुत्र आमाको स्वर्ग र सम्पत्ति हो, पुत्र आमाको संसार हो भन्दै मातृत्वको महत्त्वलाई दर्शाइएको छ। आमाको वात्सल्यका अगाडि प्रेमीको प्यारको कुनै मूल्य नहुने भन्दै आमाको महत्त्वको महिमालाई उद्घाटन गरिएको छ।

यशोधराको चरित्रमा पाइने विरहका अभिलाषा, चिन्ता, स्मृति, गुणकथन, उद्घेग, प्रलाप, उन्माद, जडता, व्याधि, मृत्यु गरी दसओटा अवस्थाको विश्लेषण गरिएको छ।

राहुल–यशोधरा संवाद गीतिनाटक बौद्ध मिथकलाई लिएर रचना गरिएको छ। यसमा बुद्धका जीवनसँग सम्बद्ध घटनाक्रमलाई नै विषय बनाइएको छ। सिद्धार्थ, यशोधरा, राहुल, शुद्धोदन, गौतमीजस्ता पौराणिक मिथकीय पात्र र बौद्धकालीन समयकै परिवेशलाई लिएर रचना गरिएको यो गीतिनाटक मिथकीय छ।

सुवेदीले बौद्ध मिथकलाई विषयवस्तु बनाएर समकालीन सन्दर्भलाई उद्घाटन गरेका छन्। बौद्ध मिथकमा आधारित यस नाटकमा यशोधराको विरहको अवस्था, उनको साहस र कर्तव्यपरायण, विभिन्न बौद्धकालीन मिथकीय सन्दर्भ, पूर्वीय परम्परामा नारीको उच्च स्थान रहेको जस्ता सन्दर्भलाई प्रस्तुत गरिएको छ।

संग्रहमा संकलित १५ गीतबाट बुनोट गरिएको अंगुलिमाल अर्को बौद्ध मिथकमा आधारित सशक्त एकांकी गीतिनाटक हो। बुद्धले हत्यारा अंगुलिमाललाई ध्वंश, हत्या र विनाशको बाटाबाट दया, माया र करुणापथमा पुर्‍याएका छन्। यो कृति आज विश्वमा बढ्दै गएको युद्ध, हत्या, हिंसाको व्यञ्जना हो। यसले नेपालको सशस्त्र युद्ध, सेना र माओवादी द्वन्द्वले जनजनको मनमा उत्पन्न त्रास, हत्याहिंसा, भौतिक विनाशले निम्त्याएको कहालीलाग्दो अवस्थालाई नाटकले उद्घाटन गरेको छ।

बुद्धले ल्याउन अंगुलिमाललाई फूलको डाली र दसओटा पात टिपेर अह्राएका छन्। पछि ती दुईवटा डालीलाई रूखमा र पातहरूलाई हाँगामा जस्ताको तस्तै रूपमा जोड्न अह्राएका छन्। तर अंगुलिमाल विनाश त गर्न सक्छ तर निर्माण गर्न सक्दैन। यसबाट आजको मान्छेले प्रकृतिमाथि गरेको ताण्डव नृत्यलाई देखाइएको छ।

ऐतिहासिक विषयमा आधारित तेस्रो गीतिनाटक हो– योगमाया र धर्म सभा। केही गीति संवाद र ससाना गीति टुक्राद्वारा निर्मित यस गीतिनाटकलाई पानीको थोपा अर्थात् शीतबिन्दुमा अटाएको सिन्धु मान्न सकिन्छ। यसमा एकातर्फ योगमायाले राणाशासनविरुद्ध सामाजिक तथा धार्मिक सुधारका लागि गरेको संघर्षलाई देखाइएको छ। अर्कातर्फ राणाकालीन समयमा व्याप्त छुवाछूत, असमानता, दासदासी प्रथा, बालविवाह, सतीप्रथा, धार्मिक शोषण, अन्धविश्वास आदिलाई प्रस्ट पारिएको छ।

पठन गर्न थोरै र बोध गर्न धेरै समय लाग्ने कृति हो, राहुल यशोधरा संवाद। भाषिक सरलता छ तर सरलतामा विषयको गाम्भीर्यता छ। यस कृतिले न्यायोचित अभिनयको समेत अपेक्षा गरेको छ। बिन्दुमा सिन्धु अटाउने कला पनि देखिन्छ। प्रतीकात्मकता र व्यञ्जनात्मकता नै यसको शक्ति हो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.