राष्ट्रपति पौडेलसँग बेलायत र स्विसका राजदूतको बिदाइ भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाइ भेट गरेकी छन्। राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्किँदै छिन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएको उनका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेले बताए। सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वाससमेत व्यक्त गरे।
राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेलेको योगदानको समेत राष्ट्रपति पौडेलले सो अवसरमा प्रशंसा गरेकी थिइन्।
त्यस्तै संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेट गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।
सो अवसरमा राष्ट्रपतिले राजदूत पोलिटलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए।
प्रतिक्रिया दिनुहोस !
