विश्वकपको टिकटमा राष्ट्रिय महिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकता दिन माग

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य रूपेश अधिकारीले महिला विश्वकपको टिकट वितरणमा असहमति जनाउँदै महिला खेलाडी र प्रशिक्षकहरूलाई कोटा निश्चित कोटा निर्धारण गर्न माग गरेका छन्।
'राष्ट्रिय महिला टिमका खेलाडीहरूलाई उक्त टिकटको मापदण्ड तथा वितरणमा कुनै पनि सम्बोधन नगरिएको देखिन्छ।
गत २०२२ को कतार विश्वकपमा पनि राष्ट्रिय खेलाडी तथा प्रशिक्षक कसैलाई पनि विश्वकपका खेलहरू हेर्ने अवसर प्राप्त नभएको विदितै छ,' सदस्य अधिकारीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई सम्बोधन गरेको पत्रमा खेलेका छन्, 'फिफा महिला विश्वकप २०२३ अस्ट्रेलिया र न्युजिल्यान्डमा जुलाई-अगस्टमा हुँदैछ। जसका लागि एन्फाले कार्यसमिति सदस्यहरूलाई जनही ६ वटा टिकट उपलब्ध गराउने निर्णय गरेको छ।'
एन्फाले महिला खेलाडी, प्रशिक्षक तथा पूर्व खेलाडीहरूलाई पनि बेवास्ता गरेको बताउँदै आफ्नो भागमा परेका टिकट पनि खेल हेर्न इच्छुक महिला खेलाडी तथा प्रशिक्षकलाई उपलब्ध गराउन अनुरोध गरेका छन्।
'उपरोक्त सम्बन्धमा मिति २०८० जेठ २० गते सम्पन्न अखिल नेपाल फुटबल संघको आपतकालीन बैठकको प्रस्ताव नं. १ को निर्णयमा फिफा महिला विश्वकप २०२३ को एन्फालाई प्राप्त टिकट वितरण तथा मापदण्ड सम्बन्धमा मेरो असहमति रहेको व्यहोरा जानकारी गराउँदछु,' अधिकारीले लेखेका छन्, ' महिला विश्वकपका खेलहरू अवलोकन गर्ने हामी सबैलाई अधिकार रहन्छ तर अवलोकन र प्राविधिक तथा व्यावसायिक ज्ञान फुटबलको क्षमता बृद्धिलगायतको विशेष आवश्यकता भनेको राष्ट्रिय महिला टिमका खेलाडीहरू तथा प्रशिक्षकलाई जरुरी छ ।'
यस्तो महत्वपूर्ण अवसरहरूमा खेलाडी तथा प्रशिक्षकहरूका विषयमा सम्बोधन नगरिनु दुःखद भएको पनि उनले जिकिर गरेका छन्।
'अतः आगामी सन् २०२३ जुलाई २० देखि अष्ट्रेलिया र न्यूजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने महिला विश्वकपका खेलहरू अवलोकनका लागि हाल राष्ट्रिय टिममा आबद्ध महिला खेलाडीहरू, प्रशिक्षक, पूर्व महिला राष्ट्रिय खेलाडीहरूका लागि निश्चित कोटा निर्धारण गरिदिनु हुन अनुरोध गर्दछु,' उनले भनेका छन्, 'साथै उक्त बैठकको निर्णयमा केन्द्रीय सदस्यहरूको लागि भनेर निर्धारण गरिएको मेरो कोटामा रहेको ६ वटा टिकट खेल हेर्न इच्छुक महिला खेलाडी तथा प्रशिक्षकलाई उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछु।'
अधिकारीले २०७९ साल पौष १० गते अध्यक्षसँग कतार विश्वकप २०२२ को टिकट खरिद बिक्री वितरण बारेको ४ बुँदे पत्रको हालसम्म पनि मौखिक एवं लिखित कुनै पनि जानकारी प्राप्त नगरेकाले सो विषयका बारेमा पनि जानकारी गराइदिनु माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
