प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता, चीन भ्रमणबारे छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। शुक्रबार उनीहरूबीच भेटवार्ता भएको स्रोतले जनाएको छ।
भेटवार्तामा बिआरआई परियोजनाका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका विषयमा पनि छलफल भएको स्रोतको दाबी छ।
'प्रधानमन्त्रीजी र चिनियाँ राजदूतबीच चीन भ्रमणका विषयमा छलफल भएको छ। त्यसबाहेक द्विपक्षीय हित र बिआरआई परियोजनालाई मूर्त रूप दिने विषयमा पनि छलफल भयो,' स्रोतले अन्नपूर्णसँग भन्यो।
पूर्वसभामुखसमेत एवं माओवादी नेता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण छिट्टै हुने बताएका थिए। चीनबाट फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी गराएका थिए।
हालै नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणको औपचारिक निम्तो दिएका थिए। उनले प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्दै चीन भ्रमणको निम्तो दिएका थिए।
भ्रमणको टुंगो नलागे पनि चीनले प्रधानमन्त्री प्रचण्डलाई जुलाई अन्तिम साता वा अगस्ट पहिलो साता भ्रमणका लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले हालै भारत भ्रमण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
