एमालेलाई गृहमन्त्रीको जवाफ : दोषीमाथि कानुनी कारबाही हुन्छ
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानुनी कारवाही गर्ने स्पष्ट पारेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई पनि नरहेको भन्दै दोषीलाई कारवाही गर्ने स्पष्ट पारेका हुन्। मुलुकमा अबाञ्छनीय र अराजक गतिविधि हुनु दु:खद भएको उनको भनाइ छ।
उनले संविधान र कानुनलाई हातमा लिने,अराजक गतिविधि गर्ने, व्यक्ति नेताहरुको सुरक्षामा चूनौति उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताए ।
मन्त्री श्रेष्ठले इलाममा कोशीका पूर्वमन्त्री रामरान मगरको गाडीमा पहिचानवादी भन्नेहरुले सडकमा ढुङ्गामुडा राखेर अवरोध गर्न खोजिएको देखिएपनि कालोमोसो दलिएको वा अरु केहि गरिएको प्रचार सत्य नभएको बताए ।
त्यस्तै उदयपुरमा प्रदेश सभाकी उपसभामुख सृजना दुनुवार सवार गाडीको झण्डा थुत्ने काम भएको र ढुङ्गा प्रहार गर्ने काम भएको उनले जानकारी दिए। श्रेष्ठले सम्बन्धीत दोषीहरूलाई कानुनको दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको बताए।
उनले संघीयताको रक्षा गर्न सके यससम्बन्धी दृष्टिकोणलाई शान्तिपूर्ण बाटोबाट बैधानिक रुपमा स्थापीत गर्न सकिने बताए। उनले नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि भएको अभद्र व्यवहार त्यसबेला भएका अराजक गितिविधका सन्दर्भमा दोषीहरूलाई कानुनी कारबाहीमा ल्याउन प्रक्रिया अघि बढाएर मुद्दा चलाएको जानकारी दिए।
यसका साथै प्रदेश सभा घेराउ गर्ने,प्रदेशका मुख्यमन्त्री मन्त्रीहरूलाई सांसदलगायत विशिष्ट व्यक्तिहरूलाई जिल्ला भ्रमणमा अवरोध गर्ने,कोशी प्रदेश उल्लेख गरिएका कार्यालयका साइनबोर्ड हटाउने मेट्ने गतिविधिमा संलग्नहरूलाई कारबाही गरिने मन्त्री श्रेष्ठले बताए।