काठमाडौंमा प्रकोपको रूप लिँदै दादुरा

काठमाडौंमा प्रकोपको रूप लिँदै दादुरा

काठमाडौं : द्रुत संक्रामक रोगका रूपमा लिइने दादुराबाट काठमाडौंका चारजना बालबालिका संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको हो। 

कुनै निश्चित ठाउँमा एकै पटक ५ जना भन्दा बढीमा दादुरा संक्रमण भएमा प्रकोपकोरूपमा लिइने जनस्वास्थ्यविज्ञ बताउँछन्। गोकर्णेश्वर नगरपालिका–९ स्थित एक विद्यालयमा अध्ययनरत बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो। विद्यालयका साथै संक्रमित बालबालिकाको परिचय र उमेर खुलाइएको छैन। यद्यपि, १५ वर्षमुनिको बालबालिका भएको जनाइएको छ। यो रोग विशेष गरी पाँच वर्षमुनिका बालबालिकालाई लाग्छ।

इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले एकै ठाउँमा चार जना बालबालिका दादुरा संक्रमण पुष्टि हुनुलाई प्रकोपको रूपमा लिइने बताए। जनस्वास्थ्य विज्ञ डा. मरासिनीले भने, ‘एकै ठाउँमा चारजनालाई संक्रमण पुष्टि भइसकेको छ भने अहिलेको हिसाबमा प्रकोप नै हो। चार जनाले अरूलाई पनि संक्रमण सारिसकेका हुन सक्छन्।’ गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य शाखा स्रोतका अनुसार, विद्यालयमा अध्ययनरत अन्य बालबालिकामा पनि दादुरासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ। ‘पाँच जनाको रगत परीक्षण गर्दा चार जनामा पुष्टि भएको हो,’ स्वास्थ्य शाखाका एक अधिकृतले भने, ‘अन्य बालबालिकाको परीक्षण भएको छैन।’ बालबालिकाले खोप लगाए÷नलगाएको यकिन हुन सकेको छैन। शंकास्पद बालबालिकालाई छुट्टै कोठामा राखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्रतिवेदन, २०२० अनुसार, दादुराविरुद्धको खोप नलगाएका व्यक्तिमा भाइरस संक्रमण भएपछि उनीहरूबाट खोप नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएका मानिसमा फैलिएर प्रकोपको रूप लिने उल्लेख छ। 

डा.मरासिनीका अनुसार, दादुराविरुद्धको खोप नलगाएका बालबालिकामा कडा लक्षणहरू देखिन्छ। संक्रमणको सुरुवाती अवस्थामा ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने लक्षणहरू देखा पर्छन्। केही दिनपछि अनुहारमा खटिरा आउने र शरीरका अन्य भागहरूमा फैलन्छ। ‘संक्रमण सुरु भएको चारदिनमा ज्वरो आउन थाल्छ। त्यसपछि क्रमशः अन्य लक्षणहरू देखिन थाल्छ,’ डा. मरासिनीले भने, ‘संक्रमित बालबालिकामा कडा खालको झाडापखाला र निमोनिया गराउँछ। कडा निमोनिया भएमा उपचार चुनौतीपूर्ण हुन्छ। कतिपयको ज्यानसमेत जान्छ।’  परिवार कल्याण महाशाखाका निर्देशक डा. लालका अनुसार दादुरा पुष्टि भएका बालबालिकाको स्वास्थ्य सामान्य रहेको छ। भाइरसबाट सर्ने दादुरालाई अति छिटो संक्रामक रोगका रूपमा लिइन्छ। दादुरा भएको व्यक्तिले श्वास–प्रश्वास गर्दा, खोक्दा र हाच्छिउँ गर्दा यो रोग सर्दछ। विशेषगरी बालबालिकामा खतरापूर्ण मानिन्छ। मस्तिष्क सुन्निने र फोक्सोमा संक्रमण निम्त्याउने जोखिम हुने चिकित्सकहरू बताउँछन्। 

निवारणमा चुनौती 

हरेक वर्षजसो दादुरा संक्रमितहरू पुष्टि हुने थालेपछि दादुरा निवारण गर्ने सरकारी लक्ष्य चुनौतीपूर्ण भएको छ। सरकारले सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य राखेको छ। गत वर्ष २०७९ सालमा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा पनि दादुरा संक्रमित बालबालिका फेला परेका थिए। २०७६ सालमा धादिङमा दादुरा संक्रमितहरू पुष्टि भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.