पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभल, फेवातालमा आइपुगे ८ वटा बोट

पोखरा : फेवाताल किनारमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी थालिएको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा पोखरा आइपुगेको छ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल २०२३ का लागि ८ वटा चिनियाँ डुंगा पोखरा आइपुगेका हुन् ।
नेपालस्थित चिनियाँ राजदूतावास,पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड फेस्टिभलको मुख्य आयोजक रहेका छन् । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराको सहआयोजनामा नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल हुन लागेको हो ।
पोखराको फेवाताल किनार क्याम्पिङ चोकमा असार ८ र ९ गते नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलको तयारी गरिएको छ । चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिम बीच डुंगा दौड प्रतियोगिता हुने छ ।
डुंगा रेस ५ सय र हजार मिटर हुने छ ।
विजयी टिमलाई पुरस्कारको पनि व्यवस्था गरिने परिषद्का अध्यक्ष श्रेष्ठले बताए । नेपालमै पहिलो पटक चिनियाँ ड्रागन रेस फेस्टिभल हुन लागेको हो । फेस्टिभलले चिनियाँ पर्यटन प्रवद्धनमा पनि सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । फेस्टिभलमा नेपालस्थित चिनियाँ राजदूत र चीनका तीन सहरका मेयर लगायतको पनि सहभागीता रहने आयोजकले बताएका छन् ।
दुई दिने फेस्टिभलमा नेपाली,चिनियाँ खानाका विभिन्न परिकार पस्किने छन् । नेपाली तथा चिनियाँ सांस्कृतिक कार्यक्रम पनि फेस्टिभलको आकर्षण रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले बताए । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागीका लागि २६० विमान चार्टड गरेर आउने बताएको छ ।
डुंगा रेसका लागि ६० जना खेलाडी पनि आउने परिषद्का अध्यक्ष श्रेष्ठले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने गरी जुन २१ मा दुई वटा चार्टड विमान चीनबाट पोखरा आउने तयारी छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान समेत हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित छन् । चार्टड विमान आउने र त्यसपछि नियमीत उडान पनि हुने विश्वासमा पर्यटन व्यवसायीको छन । यस फेस्टिभलकालागि २ करोड ५० लाख अनुमानित खर्च लाग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
