अबको पृथ्वीको भविष्य

अबको पृथ्वीको भविष्य

यदि शून्य कार्बन उत्सर्जनको एजेन्डा सन् २०७० सम्म गयो भने विश्व तापमान दुई डिग्री सेल्सियसले बढ्नेछ।

प्रत्येक वर्ष मनाइने वातावरण दिवस मुख्यतया सामुद्रिक प्रदूषण, अत्यधिक जनसंख्या वृद्धि, विश्व तापमान वृद्धि (ग्लोबल वार्मिङ), दिगो विकास र वन्यजन्तु अपराधजस्ता पर्यावरणीय मुद्दाहरूमा केन्द्रित रहन्छ। विश्व वातावरणीय क्षेत्रको मुख्य सरोकारवाला निकाय संयुक्त राष्ट्रसंघअन्तर्गतको वातावरणीय कार्यक्रम हो। जसमा १ सय ९३ भन्दा बढी देशको आबद्धता छ। नेपाल पनि युनेपको सदस्य राष्ट्र हो।

सन् १९९० मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी सम्मेलन (अर्थ समिट)ले आधिकारिक रूपमै विज्ञान, प्रविधि र मानव गतिविधिले पृथ्वीको प्राकृतिक पारिस्थितिकीय प्रणालीलाई बिगार्दै लगेको र अत्यधिक मात्रामा उत्सर्जित हुन्छ, हरितगृह ग्यास। जसका कारण जलवायु परिवर्तनका लागि मानव जिम्मेवार भएको कुरा स्थापित भएको बताइयो। मानव गतिविधिले उत्सर्जित हरितगृह ग्यासले सूर्यको तापलाई पृथ्वीको वायुमण्डलबाट बाहिर जान अवरोध गर्नाले पृथ्वीको तापमान सोचेभन्दा छिटो वृद्धि हुन्छ। तीनवटा प्रमुख हरितगृह ग्यासमा कार्बनडाई अक्साइड, मिथेन र नाइट्रस अक्साइड छन्। खनिज इन्धनहरू कोइला, पेट्रोलियम पदार्थ र ग्यासको प्रयोग नै यी हरितगृह ग्यास उत्सर्जनका मुख्य कारक हुन्। यी तत्त्वहरूले नै विश्वव्यापी जलवायु परिवर्तनमा सबैभन्दा ठूलो हिस्सा ओगट्छन्।

समयसँगै बढ्दो तापक्रम वृद्धिले मानव जाति र पृथ्वीमा रहेका सबै प्रकारका प्राणीका लागि धेरै जोखिम निम्त्याइरहेको देखिन्छ। जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्रको पछिल्लो प्रतिवेदनमा हरितगृह ग्यास उत्सर्जनको हालको मात्र वृद्धिदरलाई घटाउन प्रविधिहरू, मानवीय बानी व्यहोरामा परिवर्तन गर्नुपर्ने आवश्यकता र यसको जोखिम र न्यूनीकरणको मार्गचित्र प्रस्तुत गरिएको छ। अहिले नै काम गर्‍यौं भने हामी अझै पनि ‘सबैका लागि बाँच्न योग्य पृथ्वी’को दिगो भविष्य सुरक्षित गर्न सक्छौं। सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको जलवायु सम्मेलनले पृथ्वीको तापक्रमपूर्व औद्योगिक युग अगाडिको अवस्थाभन्दा थप १.५ डिग्री सेल्सियसमा कायम राख्नुपर्ने चुनौतीलाई प्रमुख जोड दियो। हालसम्म भएका कामको प्रगति मापन र हालका योजनाहरू जलवायु परिवर्तनसँग जुध्न अपर्याप्त छन् भन्ने कुरा आईपीसीसीको पछिल्लो प्रतिवेदनमा छ।

शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापमान करिब ५ डिग्री सेल्सियसले वृद्धि हुनेछ। जसले समुद्रको सतह करिब ३ मिटर माथि उठ्नेछ। यो स्थिति आयो भने पृथ्वीको एक तिहाइ भाग समुद्र हुनेछ र करिब आधाभन्दा बढी प्रजाति लोप हुनेछन्। 

सन् २०१० देखि २०१९ सम्मको अवधिमा हरितगृह ग्यास उत्सर्जनको मात्रा इतिहासकै सबैभन्दा बढी छ। सन् २०१९ को उत्सर्जन सन् २०१० को भन्दा १२ प्रतिशतले बढी छ भने सन् १९९० को भन्दा ५४ प्रतिशतले बढी छ। यसले देखाउँछ कि विश्व जलवायु सम्मेलनको छलफलको उद्देश्य र हालको व्यवहारको तालमेल मिलेको छैन। झन् उल्टो दिशामा काम भइरहेको जस्तो देखिन्छ। थप प्रदूषण नघटाउने र लगातार अत्यधिक मात्रामा हरितगृह ग्यास उत्सर्जन गरिररहने हो भने बेमौसमी घटना बढ्दै जाने निश्चित छ। मानव जगत्ले अहिलेकै मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्दै जाने हो भने यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापमान करिब ५ डिग्री सेल्सियसले वृद्धि हुनेछ। जसले समुद्रको सतह करिब ३ मिटर माथि उठ्नेछ। यो स्थिति आयो भने पृथ्वीको एक तिहाइ भाग समुद्र हुनेछ र करिब आधाभन्दा बढी प्रजाति लोप हुनेछन्।

तापक्रमको वृद्धिले अत्यधिक गर्मी, भारी वर्षा र अन्य मौसमी असरहरू देखा परी मानव स्वास्थ्य र पारिस्थितिकीय प्रणालीहरूका लागि थप जोखिम बढ्नेछ। त्यस्तै बढ्दो तापक्रमसँगै खाद्यान्न र पानीको असुरक्षा बढ्ने, अन्य प्रतिकूल घटनाजस्तै महामारी वा द्वन्द्वहरूलाई व्यवस्थापन गर्न अझ गाह्रो हुनेछ। जलवायु परिवर्तनको मुख्य कारक हरित गृह ग्यास उत्सर्जनको कारणमध्ये जैविक ऊर्जाको प्रयोग गरी विद्युत्को उत्पादन गर्नु रहेको छ। विद्युत् उत्पादनबाट मात्र करिब ३३ प्रतिशत उत्सर्जन हुने गर्छ। यो बढ्दो क्रममा छ। जलवायु परिवर्तनका विज्ञका अनुसार विद्युत् उत्पादन गर्ने नवीकरणीय ऊर्जा प्रविधि जस्तै सौर्य ऊर्जा, वायु ऊर्जा र जैविक ऊर्जाको प्रयोग बढाउनु अनिवार्य छ। यो लक्ष्य हासिल गर्न मुख्य रूपमा विद्युत् उत्पादनका लागि सौर्य र वायु ऊर्जा प्रविधिको प्रयोगमा वृद्धि गर्नुपर्ने हुन्छ।

नवीकरणीय ऊर्जाको मूल्य सन् २०१० को तुलनामा सौर्य ऊर्जामा ८५ प्रतिशत, वायु ऊर्जामा ५५ प्रतिशत र ब्याट्रीमा ८५ प्रतिशतले घटेको तथा यो क्रम जारी रहेकाले यी प्रविधि कति अहिले नै र केही छिट्टै खनिज इन्धनभन्दा सस्तो हुने देखिन्छन्। पृथ्वीको तापमान १.५ डिग्री सेल्सियसमा कायम राख्न सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने एजेन्डामा काम हुनु जरुरी छ। यदि शून्य कार्बन उत्सर्जनको एजेन्डा सन् २०७० सम्म गयो भने विश्व तापमान दुई डिग्री सेल्सियसले बढ्नेछ। योभन्दा ढिलो भयो भने पृथ्वीले ठूलो जोखिम व्यहोर्नु पर्नेछ। विश्वको लगभग आधा जनसंख्या जलवायु परिवर्तनको उच्च जोखिममा रहेका क्षेत्रमा बसोबास गर्छन्।

पछिल्लो दशकमा बाढी, खडेरी र आँधीबाट हुने मृत्यु १५ गुणाले बढेको छ। सबै तहका सरकार, व्यवसाय र व्यक्तिगत तवरबाट पनि हरितगृह ग्यास उत्सर्जनलाई कम गर्ने उपायहरू अवलम्बनका लागि प्रयास आवश्यक छ। अबका केही वर्षमा गरिने पर्यावरणसम्बन्धी नीतिगत निर्णयले हाम्रो र आगामी पुस्ताको भविष्य निर्धारण गर्नेछ। विश्वव्यापी रूपमा जलवायु परिवर्तनका लक्ष्यहरू हासिल गर्न जलवायु लगानीमा वृद्धि महत्त्वपूर्ण छ। यस कार्यका लागि सरकार, सार्वजनिक कोष र लगानीकर्तालाई प्रोत्साहित गर्न केन्द्रीय बैंक र वित्तीय नियामकहरूले भूमिका खेल्नुपर्छ। उत्सर्जन अहिलेदेखि घट्दै गई तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने हो भने २०३० सम्ममा उत्सर्जन झन्डै आधाले घटाउनु पर्नेछ। जसका लागि सन् २०३० सम्म २ खर्ब अमेरिकी डलर तथा सन् २०५० सम्ममा ५ खर्ब अमेरिकी डलरको आर्थिक स्रोत परिचालन गर्नुपर्ने आवश्यकता छ।

विकसित र सम्पन्न देशहरूले वातावरण संरक्षणमा आफैंले धेरै गर्न सक्छन्। कम विकसित देशहरूलाई परिवर्तन व्यवस्थापन गर्न सहयोग आवश्यक पर्छ। पृथ्वी सबैको साझा घर भएकाले यसलाई स्वस्थ राख्न हालको मानव जगत्को ज्ञान, सीप र क्षमताको माध्यमबाट जलवायु परिवर्तनको यो विश्वव्यापी समस्यालाई समाधान गर्नु नै विश्व वातावरण दिवसप्रतिको सही बुझाइ हुनेछ।
- अधिकारी, वरिष्ठ ऊर्जाविज्ञ हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.