वातावरणमैत्री विकल्प

वातावरणमैत्री विकल्प
सुन्नुहोस्

हावापानी, वन, वनस्पति, हिमाल, पहाड, तालतलैयाको सन्तुलनले पृथ्वी प्राणीहरूका लागि उपयुक्त बासस्थान बनेको छ। प्रकृतिको त्यही सन्तुलन खल्बलियो भने मानिसको मात्रै होइन, जुनसुकै पनि प्राणीको अस्तित्व संकटमा पर्छ। अर्थात् वातावरणीय सन्तुलन प्राणीहरूको अस्तित्वको रक्षाकवच हो। तर आजको समयको सबैभन्दा ठूलो चुनौती भनेकै वातावरण प्रदूषण भएको छ।

वातावरणको विनाश यति तीव्र छ कि पृथ्वीबाट कैयौं प्राणी लोप भइरहेका छन्, कैयौं लोपोन्मुख छन्। प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र वायु प्रदूषणले पृथ्वीको सन्तुलनमात्रै खल्बलिएको छैन, त्यसकै परिणामस्वरूप विभिन्न महामारी, प्रकोप र प्रलय देखा परिरहेका छन्। पृथ्वी दिनानुदिन तात्तिँदै गएको छ। खाद्यबालीको चक्र बिथोलिएको छ। यी सबका सब हुनुका पछाडि प्लास्टिकको अत्यधिक प्रयोग पनि एक हो। वातावरणलाई प्रदूषित बनाउनेमा प्लास्टिक पनि प्रमुख वस्तु भएको छ।

पाँच दशकदेखि जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आइएको छ। आज परेको यो दिवसको नारा प्लास्टिक प्रदूषण रोक्ने भन्नेमा केन्द्रित छ। त्यसो त पोहोरकै बजेटमा नेपाल सरकारले ४० माइक्रोभन्दा कम पातलो प्लास्टिक उत्पादन, आयात र बिक्री रोक्ने भनेको हो। तर त्यसको कार्यान्वयन भएको अनुभूति जनताले गरेका छैनन्। हाम्रो राज्यको मूल समस्या नै त्यही हो कि घोषणा गर्ने, योजना बनाउने तर कार्यान्वयनका मामलामा माखो नमार्ने। पुनप्र्रयोग गर्नै नसकिने प्लास्टिकको प्रतिबन्ध अनिवार्य नै छ। प्लास्टिकले हिमालदेखि समुद्रसम्मलाई प्रदूषित बनाएको छ। ती ठाउँमा जीवजन्तुभन्दा प्लास्टिकको उपस्थिति धेरै हुन थालेको छ।

नेपालको संविधानमै स्वच्छ वातावरणको हक समावेश छ। तर मुलुकमा प्रदूषण यति बढेको छ कि संसारकै प्रदूषित सहरमध्ये देशको राजधानी काठमाडौं परिसकेको छ। तर सरकारको ध्यान वातावरण प्रदूषण नियन्त्रणमा खास देखिन्न। वन डँढेलो रोक्ने उपायको खोजी छैन। चुरे संरक्षणमा चासो छैन।

नदीनाला र तालतलैया मृत हुँदैछन्, तिनको संरक्षणको कार्यक्रम छैन। वातावरण विकसित देशको विलासी एजेन्डामात्रै होइन भन्ने बुझ्न जरुरी छ। हिमाली राज्य नेपाल वातावरण विनाश र विश्व तापमान वृद्धिको सबैभन्दा धेरै जोखिमको देश हो। तसर्थ सरकारले वातावरणका हकमा सचेतना र संरक्षणको अभियानमा मात्रै सीमित नरही प्लास्टिक प्रदूषण उन्मूलनका लागि कडाभन्दा कडा नीति नियम बनाई कार्यान्वयन अत्यावश्यक छ। प्लास्टिकको सट्टा वातावरणमैत्री विकल्प दिनु अनिवार्य छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.