हिंसात्मक गतिविधि त्याग्न पहिचान पक्षधरलाई मुख्यमन्त्री कार्कीको आग्रह

हिंसात्मक गतिविधि त्याग्न पहिचान पक्षधरलाई मुख्यमन्त्री कार्कीको आग्रह
गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की। तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पहिचान पक्षधरलाई हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण बनाउन आग्रह गरेका छन्। १६ औँ गणतन्त्र दिवसका अवसरमा सोमबार बिहान प्रदेश राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले सबै खालका हिंसात्मक गतिविधि त्यागेर आन्दोलनलाई शान्तिपूर्ण बनाउन पहिचान पक्षधरलाई आग्रह गरेका हुन्।  

हिंसात्मक गतिविधिले कसैलाई पनि फाइदा नपुग्ने उनको भनाइ छ। प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो। प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधर आन्दोलित छन्। कोसी नाम खारेजी र ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग आन्दोलनरत पक्षको छ। 

आन्दोलनका क्रममा भइरहेका प्रदर्शन हिंसात्मक बन्दै गएका छन्। शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसा र तोडफोडमा परिणत हुन थालेपछि सर्वत्र चिन्ता छाएको छ। नेतृत्वकर्ताहरुले भने आफूहरुको आन्दोलन शान्तिपूर्ण रहेको दाबी गरिरहेका छन्। 

‘अघिल्लो ५ वर्ष हामीले प्रदेशको नामकरण गर्न सकेनौं। छैटौं वर्षमा प्रवेश गरेपछि प्रदेशले नाम पाएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘त्यसप्रति विमती हुँदा आफ्ना मागलाई शान्तिपूर्ण हिसाबले राख्दा हुन्छ। वार्ता र संवादका माध्यमबाट समस्याको समाधान निकाल्न सकिन्छ।’ 

प्रदेश नामकरणको विपक्षमा विभिन्न कार्यक्रम भइरहेको बताउँदै उनले वार्ता र संवादबाट समस्याको समाधान खोज्न आन्दोलनरत पक्षले हिंसा त्याग्नुपर्ने उल्लेख गरे। ‘संवैधानिक हिसाबले र कानुनी प्रक्रिया पूरा गरेर प्रदेशको नामकरण गरिएको छ। त्यसलाई परिवर्तन गर्न संवैधानिक एवं कानुनी बाटो नै अवलम्बन गर्नुपर्ने हुन्छ,’ कार्कीले भने, ‘नामकरणमा चित्त नबुझे आगामी निर्वाचनबाट जनमत ल्याएर त्यसलाई परिवर्तन गर्न सकिन्छ। संवैधानिक प्रक्रिया अपनाएर अघि बढ्नु उत्तम हुन्छ।’

उनले जुनसुकै आन्दोलन पनि सामाजिक सद्भाव र शान्ति प्रक्रिया नबिग्रने खालको हुनुपर्नेमा जोड दिए। आन्दोलनरत पक्षले उठाएको मागप्रति सरकार संवेदनशील रहेको बताउँदै उनले हिंसात्मक गतिविधि त्याग्दै मर्यादामा रहेर आफ्ना गतिविधि गर्न पहिचान पक्षधरलाई आग्रह गरे। ‘समस्याको समाधान वार्ता है। मुलुकका ठुल्ठूला समस्या पनि वार्ताकै माध्यमबाट समाधान भएका छन्,’ मुख्यमन्त्री कार्कीले भने, ‘हिंसा त्यागेर आउनुहोस्। सरकार वार्ता गर्न तयार छ।’

हिंसात्मक हिसाबले आन्दोलनलाई अघि बढाउँदा जनताको बलिदानीबाट प्राप्त उपलब्धि र स्थापित व्यवस्था गुम्ने खतरा रहने उनको भनाइ छ। विभिन्न कालखण्डमा देखा परेका साझा चुनौतीविरुद्ध सबै एक भएर लड्नुको विकल्प नहुने कार्कीले बताए। बलिदानीबाट मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्दै व्यवस्थालाई बचाइरहन एवं प्रभावकारी बनाउन पहिचान पक्षधरको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ। मुख्यमन्त्री कार्कीले आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारी र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। 

गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको उनको भनाइ छ। ‘भौतिक विकासतर्फ भएको उल्लेख्य प्रगति, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका नीतिगत र संरचनागत सुधारका प्रयासहरु, नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाति, वर्ग र क्षेत्रलाई राज्यको मूल प्रवाहमा ल्याउन भइरहेको प्रयास गणतन्त्रकै प्रतिफल हुन्,’ मुख्यमन्त्री कार्कीले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.