गैझान्या हुन् कि आउन्या हुन् कि फर्की ?

गैझान्या हुन् कि आउन्या हुन् कि फर्की ?
सुन्नुहोस्

रेडियो नेपालमा देउडा गीत विजारोपण गरेको पनि ४६ वर्ष पूरा हुँदैछ। नेपालका अरू लोकगीत, लोकसाहित्यभन्दा भिन्न किसिमको संस्कृति बोकेकाले २०३४ कात्तिक १४ गतेलाई देउडागीत रेकर्डिङको विशेष दिनका रूपमा लिन सकिन्छ। सांस्कृतिक क्रान्तिको प्रथम खुड्किलो पनि हो, त्यो दिन। त्यसबेलाको परिवेशअनुसार रेडियो नेपाल दरबारसँग घनिष्ठता देखाउँथ्यो। राजदरबारसँग नजिक भएका कलाकारको छनक बेग्लै हुने गर्थ्यो।

नयाँ सोच, परिवेश भएर पनि भावनाहरू खुम्चाएर गीत गाउने परम्परा नै बसेको थियो। तैपनि चार महिनाको रेडियो नेपालको परिक्रमापछि त्यसबेलाको फूलबारी नामक कार्यक्रममा आवाज कैद गर्न पाउँदा निकै भाग्यसाली सम्झेको थिएँ। त्यो परिपाटी मिलाइदिने त्यसबेलाका रेडियोधर्मी दामोदर अधिकारी, रत्न बेहोसी र बासुदेव मुनाललाई सम्झिरहन्छु। झन्डै चार वर्षसम्म ७-८ वटा देउडागीत फूलबारीमा गाएँ। 

रेडियो नेपालसँगको सम्बन्ध गाढा छ। २०३४ देखि ४६ सालसम्म देउडाका अजम्बरी भाकाहरू रेकर्ड गरेँ। खै ! ती भाकाहरू रेडियो नेपालको पुस्तकालयमा जतनसँग राखिएका छन् कि छैनन्, थाहा छैन। ती गीतहरू अबका पुस्ताले सुन्न र बुझ्न सक्छन् या सक्दैनन्। यो कुरा पनि थाहा छैन। २०४६ सालको जनक्रान्तिपछि रेडियोमा कलाकारहरूको संख्या ह्वात्तै बढेर गयो। गीत गाउन पालो पर्खदा कहिलेकाहीँ वर्षदिन कुर्नुपर्थ्यो। त्यसैले म्युजिक नेपाल नामक संस्थाको शरणपरी व्यक्तिगत लगानीमा गीति क्यासेट उत्पादन गर्छु भनी रेकर्ड गर्दा धेरै मानिसले त्यसबेला यो पंक्तिकारलाई पृथक दृष्टिले हेर्थे।

इतिहास धेरै लामो छ, देउडा गीतिक्यासेट उत्पादनको। गीति क्यासेट कभरका लागि चार रंग समावेश गरिनु पर्थ्यो। त्यसबेला शाही नेपाल वायुसेवा निगममा सल्यानका भाइ गौरी डाँगीका हातमा दुई हजार रुपैयाँ दिएर बम्बईमा स्क्यानिङका लागि अनुरोध गरेथेँ। कार्यालयको कामविशेषले त्यता गएका गौरीले ठूलो गुन लगाए, स्क्यानिङ लिएर आए। विजय प्रिन्टिङ प्रेस पुतलीसडकले चार हजार क्यासेटका कभर छापेर पंक्तिकारलाई देवदास पारिदियो। रेडियो नेपालबाट मैले गाएका गीतहरू सारेर हातमा थम्याइदिने तत्कालीन प्राविधिक पुरुषोत्तमराज पोखरेलको सहयोग चीरस्थायी भएर बसेको छ।

वासुदेव रायमाझीले एकजना कलाकारप्रति गरेको असल कर्म र मीठो व्यवहार सम्झन लायक छ। यससँग अरू पनि थुप्रै नाम जोडिएका छन्, जसबाट देउडागीतको फराकिलो ढोका वर्तमानसम्म खुला भइरहेको छ। प्रसिद्ध संगीतकार गणेश परियार, मदन परियार, राम थापा, सूर्य थुलुङ, सुन्दर श्रेष्ठ, युक्त गुरुङको देउडागीत संगीतप्रतिको भावना शुर्भा ताल र रारा तालको पानी झैं सफा र पवित्र पाएको छु।

श्रीमती प्रार्थना खनालका गहना बिक्री गरी जम्मा भएको रकम र बाँकी ब्याजमा साहूसँग मागेको रकमलाई गीति क्यासेटमा खर्च गरियो। यसरी सुदूरपश्चिमको बजारमा हराउन गएका ती रमाइला, नरमाइला र कठिन दिनहरू भुलेर पनि भुल्न सकिने खालका छैनन्। एकैपटक दुई हजार थान क्यासेट गाडीमा राखेर नेपालगञ्ज हान्निएँ। ‘नन्दकृष्ण जोशीका लोकगीतहरू’ नामक गीति क्यासेट नै देउडा गीतिक्यासेटको इतिहासमा पहिलो हो भन्ने लाग्छ। २०४७ को दसैंताका प्रकाशित त्यो क्यासेटमा र्‍याट्टी–र्‍याट्टी, छमक्क–छमक्क, बान्नीका चैतली, तँ आइणै डोटी है, अगाडि छन् रामचन्द्र, धानबाली पहेँलो आदि गरी १४ वटा सदावहार भाका अहिलेसम्म पनि जीवित छन्।

काठमाडौंबाट रात्रिकालीन गाडीमा गीत बजाउँदै र स्वयंले नि गाउँदै यात्रुसँग नेपालगञ्ज पुगेको थिएँ। बिहेमा ससुरालीले २०४४ सालमा दिएको टेपरेकर्डरमा आफ्नै गीतहरू बजाएर दुनियाँलाई सुनाउँदाको मज्जा नै बेग्लै आएको थियो। नीलो रंगको साझा बसका यात्रु विशेषगरी नेपालगन्ज–धनगढी–टीकापुर जाने गर्थे। आफ्नै अगाडि कलाकारलाई पाउँदा, गाउँघरका गीत संगीत भरेर गीति क्यासेट सुन्न पाउँदा त्यसबेलाका गाडीमा यात्रा गर्नेहरू, व्यापारीहरू, गौरापर्व, विसुपर्व, दसैं, तिहारमा मेला भर्न आउने यात्रुजस्तै लाग्नु स्वाभाविकै हो।

कतिपयले पंक्तिकारले गाएका गीतहरू हुन् यी गीतहरू भनेर पत्याएनन्। नारायण गोपालले गाएका गीतहरू हुन्, सुदूरपश्चिममा यस्ता प्रतिभा जन्मेकै छैनन् पनि भनेको सुनियो। जब गीतिक्यासेटको तस्बिर र पंक्तिकारको अनुहार मिल्दै गयो तबमात्र पत्याए। क्यासेटमा भरेका गीतका लयहरू हुबहू गाएर सुनाउनु पथ्र्यो। त्यसपछि आश्चार्य मान्दै सयौं स्रोताहरू अँगालो हाँल्दै खुसी व्यक्त गर्न थाले। असम्भव भन्ने कुरा हुँदैन। गीत भनेका हावामा उड्ने, नदीमा बग्ने, समयसँगै हराउने साधनमात्र हुन्, यिनीहरू सन्देश होइनन्। केबल मनोरञ्जनका साधन हुन् भन्ने सोचलाई पूरै बदलिदिएँ भन्ने ठान्छु।गीति क्षेत्रमा पनि उद्योग फस्टाउन सक्छ, रोजगारी दिलाउन सकिन्छ। वर्षाैंदेखि परदेसिएकालाई घरदेशमा फर्काउन पनि सकिन्छ भन्ने ज्ञान दिलाएर

समाजमा सांस्कृतिक क्रान्ति गरेकाले समाजले सम्मानजनक रूपमा हेरेको ठान्छ पंक्तिकार। पंक्तिकारले गीति क्यासेट उत्पादन र गाउनुपूर्व सुदूरपश्चिम र कर्णाली प्रदेशको समाज पूरै अन्धकार थियो संगीतमा। ‘गीत गाउन हुन्न दुःखी होइन्छ’ भन्ने मान्यता एकातिर थियो भने अर्काेतिर समाज भाडिन्छ, जात जान्छ भन्ने किसिमका सोच थियो त्यसबेला। त्यो सोच र पुरातन विचारलाई बदल्नु जरुरी थियो। त्यस कामका लागि एकजना सांस्कृतिक क्रान्तिकारी अगुवा जन्मनु त्यो समाजका लागि जरुरी भइसकेको थियो।

समयले र समाजले त्यो कार्यको अभिभारा पंक्तिकारलाई दिएछ। जन्मभूमिको आशीर्वादले यो कामका लागि लागिपरेँ। वर्तमान अवस्थासम्म पनि लागेको छु। जीवनभर यो कार्य नटुटोस् भन्छु म त। व्यक्तिगत प्रतिष्ठा कमाउनभन्दा अनमोलमणि देउडा संस्कृति र गीत गायन कार्यलाई जीवन्त राख्नु पंक्तिकारको धर्म हुनेछ। यही विचारका आधारमा २०४६–५८ सालसम्म देउडागीतका २२ गीति क्यासेट जनजन र बस्ती–बस्तीमा पुर्‍याएँ। राष्ट्रिय स्तरमै ती गीतहरूको चर्चा चुलिन थाल्यो।

कुनै बेला स्थानीय राजा महाराज र चौतारियाहरूको घरमा बिहेवारी हुँदा मनोरञ्जन दिलाउन ‘भात्र्या’ नचाउने चलन थियो। वीरगाथामा आधारित भात्र्या नाच्न दमाई जाति प्रयोग गरिन्थ्यो। साथै वादी जातिका केटी र महिलालाई गीत गाउन लगाइन्थ्यो। राति अबेरसम्म दर्शकलाई मनोरञ्जन दिलाउँथे, वादी महिलाहरू। निश्चित रकम पाएपछि उनीहरू गीत गाउँथे, नाच्ने गर्थे। ठूलाबडाका लागि दलितहरू त्यसबेला मनोरञ्जनका भरपुर साधन थिए। जमाना अशिक्षित हुँदा मालिकले अह्राएको काम गर्नुपथ्र्याे। गरिबीका कारण धेरै कुरा सहनु पथ्र्यो। भनेको नमाने कि त भोको बस्नुपथ्र्याे या पिटाइ खानुपथ्र्याे। कस्तो विडम्बना ! जब पंक्तिकारले गायन क्षेत्रमा अभिरुचि बढाएर सांस्कृतिक आँखा खोलिदिए, तब देउडा संगीतको दुनियाँ देखे लाखौं नरनारीले।

सुरु–सुरुका दिन केही सम्भ्रान्त वर्गका व्यक्तिहरूले पंक्तिकारलाई भाँड भने। वादी जाति भने। जंगली गीत गाउने भडुवासम्मको अलंकार भिराए। यी सबै कुरा सुनिरहनु बाहेक कुनै उपाय थिएन। सुनिरहंँे, गीतहरू पनि गाउँदै रहेँ। आफ्ना गीति क्यासेटका भारी बोकेर पश्चिमका डाँडापाखामा लाग्ने मेलापर्वहरूमा पुर्‍याए। अनि नयाँ–नयाँ गीत संकलन गर्न घुमिरहें। यसरी घुमिरहँदा धेरै ठाउँमा अपार माया पाएँ, केही ठाउँबाट गाली पनि। तिनै गाली गर्ने व्यक्तिहरूले गीति क्यासेट उधारोमा बिक्री गर्न भनी लगे। काठमाडौंको आधुनिक स्टुडियोमा निकै मेहनतका साथ रेकर्ड गरिएका ती गीति क्यासेट दुर्गम गाउँका केही शिक्षित वर्गले बिनापैसा सहजै पचाए।

आफ्नो मुलुकबाट आफ्नै मुलुकको दोस्रो भागमा पुग्न नेपालीले भारतको भूमि भएर रेलको यात्रा गर्नुपथ्र्याे। समयले नेटो काट्यो। अहिले यस्तो बाध्यता छैन। नेपालगन्जको रूपैडियाबाट धनगढीको गौरीफन्टा नाका पुग्न २०५२ सालसम्म भारतभूमि भएर जानुुपथ्र्याे। नेपालगन्जबाट एन–टु–एनको पत्र वनाएर धनगढीसम्म यो पंक्तिकार क्यासेटको बोरा बोकेर धेरै चोटी गएको छु।

यस अवधिमा केही रोचक र दुःखदायी घटना पनि व्यहोरेँ। नेपाली भारतको यात्रा गर्दा आफ्नै देशमा फर्कने क्रममा लुटिन्थे, लुटिन्छन् अझै पनि। सीमा क्षेत्रका सोझा नेपालीको भोगाई न काठमाडौंले सुन्छ न त दिल्ली दरबारले। २०५२ सालताका कर्णाली पारीका २२ पुलको निर्माणपछि नेपालीले नेपालभूमिमा यात्रा गर्न पाए। सुखको श्वास फेरे। कर्णाली नदीको आकर्षक पुलको निर्माणपछि त सुदूरपश्चिमवासीले राजधानीसँग सिधा सम्पर्क गर्न पाए। बल्ल नेपालीसँग नेपालीको नाता जोडियो। व्यापार फस्टायो, संगीत र देउडागीतले पनि गति लियो।

२०४७ सालमा आफैंले राजधानीबाट लिएर पुर्‍याइएका देउडा गीतले सुदूरपश्चिमको बस्ती–बस्तीमा सांगीतिक दीपावली मनायो। प्रत्येक घरमा ‘र्‍याट्टी–र्‍याट्टी’का भाकाहरू गुन्जिए। गायकलाई सबैले मनमनै खुसी हुँदै स्याबासी दिए। डोटेली, बझांगी संस्कृति र शैलीको जयजयकार मनाए। पहिलो चोटी दुई हजार क्यासेट डबिङ गरेर धनगढी, महेन्द्रनगर, अत्तरिया, टीकापुर, नेपालगन्ज बजारमा पुर्‍याएँ। केहीले डबिङ गरेर हजारौं कपी बैङलौर, बम्बई, दिल्ली, नैनीताल लगायतका नेपाली कामदार बस्ने ठूला–साना सहरमा बिक्री गरे।

यस्तो कार्यबाट पंक्तिकारलाई आर्थिक कार्यमा घाटा व्यहोर्नु परे पनि सांस्कृतिक रूपमा भरपुर फाइदा भयो। नेपालमा सुदूरपश्चिमको संस्कृति संगीत र गीत पनि प्रशस्तै छन् है भन्ने जानकारी दिलायो। कठै ! ती सांगीतिक कठिनाइका दिनहरू सम्झिदा यतिखेर यो गीतको याद आउँछ–झुन् झुन्या वरषु लाग्यो काट्या बाटो दर्की यसाइ दिन् गैझान्या हुन् कि आउन्या हुन् कि फर्की ? 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.