नेपाल भारतसँग पराजित, सेमिफाइनलमा कजाकस्तानसँग खेल्ने

नेपाल भारतसँग पराजित, सेमिफाइनलमा कजाकस्तानसँग खेल्ने
सुन्नुहोस्

काठमाडौं : प्रतिस्पर्धात्मक खेलमा नेपाललाई पराजित गर्दै भारत काभा महिला भलिबल च्यालेन्जकप २०२३ को समूह ‘ए’ विजेता बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सम्पन्न खेलमा भारतले ३-१ को रोमाञ्चक जित निकाल्यो।

प्रतिस्पर्धात्मक खेलमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि ब्लक र डिफेन्समा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले हार टार्न सकेन।

निर्णायक बनेको चौथो सेटमा नेपाल अन्तिम समयमा लगातार पाँच अंक गुमाउँदा चार अंकले पछि पर्‍यो। रिसिभ र ब्लकमा सटिक देखिएको भारतले चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्‍यो।

त्यसअघि तेस्रो सेटमा पहिलो पटक नेपालले १९-२३ बनाएर चार अंकको अग्रता लिएको थियो। तर, प्रगति नाथले सर्भिस कोर्टमा राख्न नसक्दा अंक २०-२३ मा पुगेको थियो। यद्यपि, सरस्वती चौधरीले चतुर्याईँपूर्वक अंक जितेपछि नेपाल सेट प्वाइन्ट नजिक पुगेको थियो।

फेरि एक पटक भारतको सशक्त स्पाइक नेपालले उठाउन नसक्दा अंक २१-२४ मा पुगेको थियो। यद्यपि, भारतको सर्भिस आउट भएसँगै नेपालले तेस्रो सेट २१-२५ ले आफ्नो पक्षमा पार्‍यो। नेपालले तेस्रो सेट जित्दा निरुता ठगुन्नाले सर्वाधिक ६ तथा सरस्वती चौधरीले चार अंक जोडेकी थिइन्।

दोस्रो सेटमा भारतलाई कठिन चुनौती दिएको नेपालले २६-२४ ले सेट गुमाउनु पर्‍यो। प्रतिस्पर्धात्मक सेटमा नेपालले पटक-पटकको अग्रता जोगाउन नसक्दा नजिक पुगेर पनि सफल भएन।

राम्रो सुरुआत गरेको नेपालले १३-१६ को अग्रता बनाएको थियो। अन्तिम समयमा २१-२३ को अग्रता जोगाउन नसक्दा नेपालले भारतलाई तीन अंक दिएरमात्र एक अंक लिन सक्यो। सोही अंकसँगै २४-२४ मा पुगेको खेलमा भारतले निरन्तर दुई अंक जोड्दै २-० सेटको अग्रता बनायो।

त्यसअघि पहिलो सेटमा हतास देखिएको नेपालले राम्रो सुरुआत गर्न सकेन। संगम महतोले क्विक स्पाइकमार्फत सेटको दोस्रो अंक जोड्दै १-१ बराबरी गराएकी थिइन्।

तर, त्यसपछि डिफेन्स र ब्लकमा निरीह बनेको नेपालविरुद्ध भारतले लगातार अंक जोड्दै अग्रता ११-२ मा पुर्‍याएको थियो। त्यसपछि सम्हालिन नसकेको नेपालले २५-१२ ले पहिलो सेट आफ्नो पक्षमा पार्‍यो।

जितसँगै भारत समूह ‘ए’को विजेता बनेको छ। सुरुआती दुई खेलमा जित निकालेका भारत र नेपाल सेमिफाइनलमा पुगिसकेका छन्। नेपालले समूह ‘बी’को विजेता कजाकस्तानसँग खेल्ने छ।

त्यस्तै भारतले समूह ‘बी’को उपविजेता उज्वेकिस्तानको सामना गर्नेछ।

नेपालले १३औं दक्षिण एसियाली खेलकुदमा पहिलो पटक भारतविरुद्ध दुई सेट जितेको थियो। यद्यपि, सम्हालिन नसक्दा ऐतिहासिक जित निकाल्न असफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.