भुटानी शरणार्थी नेता नै समातिए ‘नक्कली’ धन्दामा

हज समितिका अध्यक्ष पनि पक्राउ

भुटानी शरणार्थी नेता नै समातिए ‘नक्कली’ धन्दामा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल नै नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा बिहीबार पक्राउ परेका छन्। प्रहरीले बिहीबारै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि नियन्त्रणमा लिएको छ। यससँगै अनुसन्धानका लागि समातिएकाको संख्या १६ पुगेको छ।

उक्त प्रकरणमा रिजाल र मियाँको पनि संलग्नता देखिएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए। उनका अनुसार मियाँलाई सिंहदरबार परिसर र रिजाललाई त्रिभुवन विमानस्थलको आगमन कक्षबाट नियन्त्रणमा लिइएको हो। परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार रिजाल झापाबाट काठमाडौं आउँदै थिए। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नजिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद मिलान गरिएको प्रहरीले जनाएको छ। 

यसअघि नै पक्राउ परेका गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीको बयानका आधारमा रिजालको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो। गिरोहका एजेन्टसँग आर्थिक लेनदेन देखिएपछि सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार उनले ७ लाख रुपैयाँ लिएको प्रमाण भेटिएको छ।

नेपालमा लामो समयदेखि बसोबास गरिरहेका नेता रिजाल भुटानी शरणार्थीको हक र अधिकारको क्षेत्रमा क्रियाशील थिए। शरणार्थीको तेस्रो देश पुनस्र्थापनामा उनले पटकपटक सरकारको ध्यानाकर्षण गराएका थिए। उनले छुटेका ६ हजार ५ सय शरणार्थीलाई अमेरिका लैजान पहल गरिरहेका थिए। त्यस सम्बन्धमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णय गरी कार्यदल बनाएका थिए। त्यही कार्यदललाई टेकेर गिरोहले दर्ता छुट भएका शरणार्थीलाई परिचयपत्र दिने आवरणमा नक्कली शरणार्थी बनाउने धन्दा चलाएको थियो। गिरोहले पैसा उठाएको थाहा पाएपछि रिजालले विभिन्न दलका नेतालाई खबर पनि गरेका जनाइएको छ। उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। तर, उनी पनि आर्थिक लेनदेनमा संलग्न भएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। 

हज समितिका अध्यक्ष पनि पक्राउ

नेपाल हज समितिका अध्यक्ष हुन्, शमशेर मियाँ। गृह मन्त्रालयमा छ समितिको सचिवालय। उनले कानुनतः सचिवालय भएको गृह मन्त्रालय परिसरबाटै काम गर्नुपर्ने हो। तर, उनी कार्यालय नगएको धेरै भइसक्यो। उनी समितिको सरकारी कागजातसहित बिहीबार बिहान सिंहदरबारमा रहेको ऊर्जा मन्त्रालय परिसरबाट पक्राउ परेका हुन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको पनि संलग्नता देखिएपछि बिहीबार बिहान नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीले बताए। अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद मिलान गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालका अनुसार यसअघि पक्राउ परेका आरोपितको बयानका क्रममा मियाँको पनि संलग्नता देखिएको छ। केही न केही प्रमाण नभेटिकन प्रहरीले पक्राउ नगर्ने दाबी उनले गरे। 

सरकारले समितिलाई उपलब्ध गराएको गाडी मियाँले चढ्दै आएका थिए। बीएबी १४०५ नम्बरको उक्त गाडी यो प्रकरणका आरोपित सानु भण्डारी, केशव दुलाललगायतले प्रयोग गरेको खुलेको छ। गिरोहको टोली सरकारी नम्बर प्लेटको गाडी लिएर पैसा उठाउन चितवन, विराटनगरलगायत ठाउँमा पुगेका थिए। 

उक्त  प्रकरणमा उक्त गाडी प्रयोग भएको खुलेपछि मियाँ मोबाइल बन्द गरी फरार भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरेर उनको निगरानी गर्दै आएको थियो। कार्यालयमा गएर काम गर्दा पक्राउ हुने डरले उनी हज समितिको कार्यवाहकको जिम्मेवारी अरूलाई दिने तयारीमा थिए। उनले त्यसको प्रक्रिया मिलाउन समितिको कागजात मगाएर ऊर्जा मन्त्रालय परिसरमा काम गरिरहेका थिए। यसै क्रममा उनी प्रहरी नियन्त्रणमा परेका हुन्। 

तत्कालीन गृहमन्त्री थापाले मियाँलाई समितिको अध्यक्षमा नियुक्त गरेका थिए। दुईवर्षे उनको कार्यकाल सकिएपछि अर्का गृहमन्त्री बालकृष्ण खाँणले पुनः उनको म्याद थप गरेका थिए। प्रहरी स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिस खोज्ने, उनीहरूलाई प्रलोभनमा पार्ने, विश्वासका लागि सरकारी गाडी प्रयोग गर्न दिने र गिरोहको सजिलोका लागि कागजात बनाउने र सहयोग गर्ने जिम्मा उनको थियो। 

प्रारम्भिक अनुसन्धानका क्रममा मियाँले गिरोहका व्यक्तिसँग पटकपटक सम्पर्क गरेको प्रमाण प्रहरीले फेला पारेको छ। गिरोहका सदस्यले मियाँलाई गृह मन्त्रालयको ठूलो कर्मचारी भनेर चिनाउने गर्थे। यसका लागि सरकारी गाडी नै प्रयोग गरेको खुलेपछि प्रहरी उक्त गाडीको खोजी गर्ने क्रममा मियाँको संलग्नता फेला पारेको हो। 

१६ जना हिरासतमा 

नक्कली शरणार्थी प्रकरणमा हिरासतमा पुग्नेको संख्या १६ पुगेको छ। जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री थापाका सुरक्षाविज्ञ इन्द्रजित राई छन्। यस्तै, टोपबहादुरका छोरा सन्दीप रायमाझीसहित सानु भण्डारी, केशव दुलाल, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी हिरासतमा छन् । उनीहरूविरुद्ध ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.