‘नक्कली शरणार्थी’ पीडित कि मतियार ?

‘नक्कली शरणार्थी’ पीडित कि मतियार ?

काठमाडौं : ‘आफ्नै देशमा कुनै समस्यामा नपरी शरणार्थी बनेर अमेरिका जान ती नक्कली शरणार्थीलाई के पुगेनछ ?’ यो ‘सक्कली’ शरणार्थीको प्रश्न हो। अझै पनि विभिन्न कारणले झापा र मोरङका शरणार्थी शिविरमा ६ हजारभन्दा बढी भुटानी शरणार्थी छन्। नक्कली शरणार्थीकै कारण आफूहरू समस्यामा परेको उनीहरूले बताइरहँदा अब ती लाखौं रकम बुझाएर नेपाली नागरिकता त्याग्दै शरणार्थी बन्न खोज्नेलाई कानुन लाग्दैन ? भन्ने प्रश्न पनि उठिरहेको छ। 

अवैध बाटोबाट नागरिकता नै त्यागेर अर्को देश जान खोज्ने पीडित हुन् कि मतियार ? भन्ने प्रश्न पनि त्यत्तिकै छ। नेपाल बार एसोसिएसनकी महासचिव अञ्जिता खनाल पनि प्रश्न गर्छिन्, ‘आफ्नो नेपाली नागरिकता त्यागेर नक्कली भुटानी शरणार्थी हुन मोटो रकम दिनेहरूलाई कसरी पीडित भन्ने ?’

नेपाली नागरिकता त्यागेर मोटो रकम बुझाई परिचय फेरेर अमेरिका जान तयार हुनेहरू उपयुक्त साक्षी एवं प्रमाण भएको फौजदारी कानुनका जानकारहरू बताउँछन्। सरकारी निकायकै संलग्नतामा भएको यो अपराधमा धेरैको संख्यामा नक्कली शरणार्थीको सहभागिता भएको पाइएको छ। प्रहरी हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको समेत आर्थिक लेनदेनका साथै सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ। गत वैशाख २७ गते तत्कालीन गृहमन्त्री खाँण पक्राउ परेपछि उनकी पत्नी मञ्जु खाँण फरार छिन््। 

वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डित अमेरिका पठाउने आश्वासन तथा प्रलोभनमा परेर रकम दिने सबै व्यक्ति पीडित भएकोमा शंका व्यक्त गर्छन्। ‘गलफहतमा परेको भए छुट्टै कुरा हो। जानीजानी गरिएको छ भने अपराधमा सहभागी भएको मानिन्छ। नेपाली नागरिकता त्यागेर भुटानी शरणार्थी बनी अमेरिका जाने प्रलोभन वा आश्वासनमा रकम बुझाउनेहरू पनि दोषी हुन्,’ वरिष्ठ अधिवक्ता पण्डित भन्छन्, ‘अपराधमा संलग्नतालाई प्रमाण र कागजातले पुष्टि गरेको छ भने रकम बुझाउनेहरू मतियार हुन सक्छन्।’ 

अपराधकर्ममा संलग्नलाई कानुनी कठघरामा पुर्‍याई सजाय दिलाएर ठगी एवं संगठित अपराध रोक्न साक्षी एवं पीडितहरूको बयानले महत्त्वपूर्ण भूमिका खेल्छ। तर, नेपाल प्रहरीले रकम उठाउनेहरूलाई मात्र पक्राउ गरेको छ। यस प्रकरणमा रकम बुझाउनेहरूको संलग्नता (कनेक्सन)को आधारलाई प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गर्नुपर्ने फौजदारी मुद्दाका जानकारहरू बताउँछन्। 

डुब्यो लगानी, रह्यो पछुतो

कुनै कारणले हानिनोक्सानी, चोटपटक वा कठिनाइ भोगिरहेको व्यक्तिलाई पीडितका रूपमा लिइन्छ। पीडितको हैसियत गवाहमा सीमित हुन्छ। पीडितको तर्फबाट सरकारले नै मुद्दामा प्रतिरक्षाको काम गर्छ।

संयुक्त राष्ट्रसंघले सन् १९८५ नोभेम्बर २९ मा अपराध पीडित तथा अख्तियार दुरुपयोगसँग सम्बन्धित न्यायका आधारभूत सिद्धान्तहरूको घोषणापत्र अवलम्बन गरेको छ। घोषणापत्रले पीडित सम्बन्धित पक्ष राष्ट्रको फौजदारी तथा अधिकारको दुरुपयोगसम्बन्धी कानुनको उल्लंघनबाट कुनै व्यक्तिको व्यक्तिगत वा सामूहिक रूपमा शारीरिक वा मानसिक चोट, भावनात्मक कष्ट एवं आर्थिक नोक्सानी हुन्छ वा उनीहरूको मौलिक अधिकारको क्षति हुन्छ भने त्यस्तो व्यक्ति वा समूहलाई पीडितको रूपमा बुझ्नुपर्ने परिभाषा गरेको छ।
घटनामा पीडित र साक्षीहरूको सक्रिय सहभागिता र सहयोग बिना फौजदारी न्याय प्रणाली सफल हुन सक्दैन। नक्कली भुटानी शरणार्थी काण्डमा प्रहरीसमक्ष दिइएको जाहेरीले पनि पीडित हुन् वा साक्षी भन्ने प्रष्ट्याउने कानुन व्यवसायीहरू बताउँछन्।

वरिष्ठ अधिवक्ता पण्डितका अनुसार, जाहेरी व्यहोराले संलग्नताको बारेमा निर्धारण गर्छ। ‘गलफहतमा पारेर अमेरिका लैजान्छु भनेर लैजान खोजेको भन्ने कुरा उल्लेख भएको छ कि ? यस खालको जाहेरी परेको छ भने पीडित मानिन्छ,’ उनले थपे, ‘नेपाली नागरिकता त्यागेर नक्कली भुटानी शरणार्थी बनेर जानुपर्छ भनेर प्रलोभन दिइएको छ भने मतियार हुन्।’ मोटो रकम बुझाउनेहरू पीडित हुन् कि होइनन् भन्ने कुरा जाहेरी दरखास्तले निर्धारण गर्ने वरिष्ठ अधिवक्ता पण्डित बताउँछन्। 

पीडितशास्त्रका जानकारहरू नेपालीहरू जानेर वा नजानीकन पनि अमेरिकालगायत तेस्रो मुलुक जान पाउने सपनाले फसेको बताउँछन्। ‘फसेका व्यक्ति पनि मगज बिग्रेका होइनन्। जानीजानी नगरेको भएता पनि पैसा लगाएका डुबेका हुन्। पैसा डुबेको हिसाबमा मात्र पीडित हुन्,’ यस मुद्दामा बहस पैरवी गर्ने तयारीमा रहेका एक अधिवक्ताले भने, ‘भुटानी शरणार्थी भएर तिमीहरू जाँदै छौं भन्ने आश्वासन वा प्रलोभन दिइएको छ। तिमीहरूको नागरिकता अन्त्य हुँदैछ भनेर पूर्वजानकारी दिइएको छ। यति जान्दाजान्दै पनि प्रलोभनमा फस्नेहरू त मुर्ख हुन् र ? लगानी डुबेको हिसाबले मात्र पीडित हुन्। प्रक्रियागत त्रुटि त जानीजानी गरेका हुन्। यो अपराध हो।’ 

काठमाडौं जिल्ला अदालतका एक न्यायाधीशका अनुसार, सचेत व्यक्तिलाई अमेरिका जाने प्रलोभनको लागि फसेर नक्कली भुटानी शरणार्थी हुन तयार हो भने कसुर मानिन्छ। उनले भने, ‘जानीजानी गरेको कसुर क्षम्य हुने कुरै हुँदैन।’

नेपाली भएर पनि भुटानी शरणार्थी भएको व्यहोरा दिनु ठगी पनि हो। ‘नेपाली नागरिक हुँदाहुँदै होइन भनेर नक्कली शरणार्थी बन्नको लागि सरकारी कर्मचारीसँग मिल्नु भ्रष्टाचार पनि हो,’ डा. पण्डित भन्छन्, ‘कसैलाई प्रभाव पार्न खोजेर अमेरिका वा तेस्रो मुलुक प्रवेश गर्न खोजेको देखिन्छ। जानीजानी नक्कली शरणार्थी बन्न चाहेको देखिएको छ।’


 

यो पनि पढ्नुहोस

पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहमन्त्री रामबहादुर बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप, गृहमन्त्री बादलका छोरा प्रतीकलगायतका व्यक्तिको आडमा बिचौलियाहरूले रकम उठाएको अनुसन्धानमा देखिएको छ। उनीहरूले विश्वास दिलाएको उज्ज्वल भविष्यको आसमा जान खोजेको देखिन्छ। भुटानी शरणार्थी पुनर्वास कार्यक्रम टुंगिएपछि पनि मोटो रकम उठाएको पाइएको छ। झापाको दमकस्थित शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको उपशाखा कार्यालय बन्द भइसकेको पछि प्रलोभन दिई रकम उठाएको पाइएको छ। 

वरिष्ठ अधिवक्ता डा. पण्डितका अनुसार, रकम दिनेहरूलाई दुई तरिकाबाट हेर्नुपर्ने हुन्छ। ‘पैसा दिनेको मनशाय के कस्तो थियो ? त्यसले मुद्दा लाग्ने, नलाग्ने निर्धारण गर्छ,’ वरिष्ठ अधिवक्ता पण्डित भन्छन्, ‘नक्कली भुटानी शरणार्थी भएर जान स्वयं तयार भएको हो भने जानीजानी अपराधमा संलग्न भएको मानिन्छ। आफैं तयार भएको हो वा झुक्याइएको हो भन्ने बारेमा मिहिनरूपमा अनुसन्धान गर्नुपर्छ। मानसिक अवस्था कस्तो थियो भनेर छुट्ट्याउन सजिलो छैन।’ 

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले प्रलोभनमा पारेको हो। अनुसूची थपी ८ सय ७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको पाइएको हो। गिरोहले नक्कली अनुसूचीमा नाम समावेश गरेबापत जनही १० देखि ६० लाख रुपैयाँसम्म उठाएको प्रहरी अनुसन्धानमा पाइएको छ। मोटो रकम उठाइसकेपछि गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरणसमेत गरेको थियो। यस प्रकरणमा राज्यका निकायको पनि संलग्नता पाइएको छ। राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी तथा दलका परिवारसमेतको संलग्नता एवं संरक्षणमा ठूलो रकम उठाएको प्रहरी स्रोतले जनाएको छ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी स्वदेशमा जीविकोपार्जनका लागि स्रोतसाधन नभएपछि तेस्रो मुलुक जान रकम बुझाउनेलाई मतियारका रूपमा लिन नमिल्ने बताउँछन्। ‘चोरी, डकैती, ज्यानमारा, बलात्कारजस्ता मुद्दाका मतियारको जस्तो व्यवहार गर्नु उपयुक्त होइन। नेपालमै रोजगारको अवसर भएको भए उनीहरू तेस्रो मुलुक जाँदैनथे। त्यसैले मतियारका रूपमा कडा व्यवहार गर्नुहुँदैन’, न्यायाधीश केसी भन्छन्, ‘नक्कली शरणार्थी प्रकरणमा बिचौलियालाई रकम दिनेहरूलाई सरकारले साक्षी बनाउनुपर्छ। शरणार्थी बिचौलियाविरुद्ध उनीहरूलाई साक्षी बनाउनुपर्छ।’ 

सरकारीस्तरबाट पृष्ठपोषण गरिएको गम्भीर अपराधका रूपमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिनुपर्ने उनको भनाइ छ। ‘ठगी, संगठित, भ्रष्टाचार, सरकारी कागजात कीर्ते र मानव तस्करीसम्बन्धी अपराध भएकोमा विवादै छैन,’ केसी भन्छन्, ‘रकम बुझाएको अडियोसमेत सार्वजनिक भएको छ। ती रकम लिनेसँग लिखित बयानसमेत लिइएको छैन। यही ताल हो भने कर्मकाण्डी अभियोजन हुने लक्षण देखिन्छ।’

null
कानुविद् भन्छन् 
–    जानीजानी गरिएको छ भने अपराधमा सहभागी भएको मानिन्छ।
–    प्रलोभन वा आश्वासनमा रकम बुझाउनेहरू पनि दोषी हुन्।
–    अपराधमा संलग्नतालाई प्रमाण र कागजातले पुष्टि गरेको छ भने रकम बुझाउनेहरू मतियार हुन्।

 

‘जनप्रतिनिधिलाई विश्वास गर्दा डुबियो’

विराटनगर : मोरङको पथरी शनिश्चरेका कल्याण श्रेष्ठ (नाम परिवर्तन) नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान तयार भए। अमेरिका जाने योजना बनाएर ४ वर्षअघि १० लाख रुपैयाँ पनि बुझाए। नक्कली भुटानी खडा गर्ने गिरोहलाई बुझाएको नगद अहिलेसम्म फिर्ता पाएका छैनन्। न त अमेरिका जान नै पाए। त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा सागर राईलाई जिताउन कल्याण कम्मर कसेरै लागेका थिए। 

जग्गाको कारोबार गर्ने कल्याणसँग थोरबहुत पैसा साथमा भइरहन्थ्यो। सागर कांग्रेसबाट उम्मेदवार बनेर पथरी शनिश्चरे नगरपालिका–१० को वडाध्यक्षमा प्रतिस्पर्धा गर्दै थिए। त्यसअघि सागरको राजनीतिक पृष्ठभूमि खुलेको थिएन। चुनाव आउने बेलामा पार्टीमा भिœयाएर टिकट दिलाउन केशव दुलालले भूमिका खेलेको कांग्रेसका नेता कार्यकर्ता बताउँछन्। 

नभन्दै सागरले चुनाव पनि जिते। वडामा अन्य जनप्रतिनिधि नेकपा (एमाले)बाट विजयी भएका थिए। वडाध्यक्षमात्रै कांग्रेस अर्थात् सागरले जितेका हुन्। त्यसले पनि सागर स्थानीयस्तरमा लोकप्रिय थिए भन्ने कुरा प्रस्ट पार्छ। बाबु–आमा अमेरिका बस्ने भएकाले उनलाई खर्चको अभाव थिएन। त्यसका आधारमा उनी चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल भए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सागर र केशवलगायतमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। 

‘चुनावमा उम्मेदवार बनेपछि सागर राईलाई जिताउन अहोरात्र खटिएका थियौं। जितायौं पनि,’ कल्याण भन्छन्, ‘उहाँ मेरो पुरानै चिनजानको दाइ हो। केशव दुलाललाई पनि पहिल्यैदेखि चिन्थें।’ आफू पनि कांग्रेस नै भएकाले त्यही पार्टीबाट उम्मेदवार बनेका सागरलाई जिताउन धेरै मेहनत गरिएको उनको भनाइ छ। ‘प्रायः उहाँ (सागर) र हामी सँगसँगै हिँड्थ्यौं। चुनाव जिताएर वडाध्यक्ष पनि बनायौं’ कल्याण भन्छन्, ‘त्यसअघि उहाँ (सागर)ले हाम्रो विश्वास जित्ने धेरै कामहरू गर्नु भएको थियो। असल पहिचान बनाएको व्यक्ति वडा हाँक्ने ठाउँमा पुगेपछि झन् उहाँमाथि विश्वास बढ्यो।’ 


 

 

   

एकदिन सागरले तिमीहरूलाई अमेरिका लैजान्छु भनेर भनेको उनले बताए। ‘तिमीहरू मेरो नजिकका मान्छे हौ। अमेरिका जान सहयोग गर्छु। त्यसका लागि तिमीहरू भुटानी शरणार्थी बन्न तयार हुनुपर्छ भन्नुभयो,’ उनी भन्छन्, ‘यसमा माथिकै ‘सेटिङ’ छ भनेर विश्वास दिलाउनु भयो। यत्रो ‘सेटिङ’मा दुनियाँ अमेरिका पुग्दै गर्दा तिमीहरू के हेरेर बस्छौ भनेपछि हामी तयार भयौं। फटाहा मान्छे नभएकाले अविश्वास गर्ने त कुरै थिएन।’

त्यतिबेला सत्ता र शक्तिमा भएका टोपबहादुर रायमाझी, रामबहादुर थापा ‘बादल’लगायतको नाम लिएपछि वडाध्यक्षजस्तो व्यक्तिले ढाँट्दैनन् होला भन्ने पनि लागेर विश्वास गर्दा आफूहरू डुबेको उनले बताए। भने, ‘हामी ३ जना थियौं। बिनाआधार र प्रमाण १०–१० लाख रुपैयाँ सागरलाई बुझायौं। दुनियाँ मान्छे अमेरिका जान मरिहत्ते गरिरहेका थिए। हाम्रो पालो आउँदैन होलाजस्तो लागेर सुटुक्क काम गरौं भन्नेतर्फ केन्द्रित भइयो।’ 

केही समस्या पर्दा सागरले नै समाधान निकालिदिने गरेकाले पनि उनीप्रतिको विश्वास बढेको कल्याण बताउँछन्। ‘हाम्रो लागि सोच्नु भएको होला भन्ने लाग्यो। त्यही भएकाले कुनै कुराको प्रवाह नगरिकन ‘आँखा चिम्लिएर’ पैसा दियौं,’ उनले भने, ‘हामीलाई अमेरिका कहिले पुग्नुजस्तो भएको थियो। भुटानी बनेर जान पाइन्छ र माथिल्लो ‘लेभल’देखि नै काम भइरहेको छ भनेपछि त्यो दिनको पर्खाइमा थियौं।’ 

जग्गाको सामान्य कारोबार गर्ने भए पनि जग्गाजमिन बिक्री कम हुँदै गएपछि आफू अमेरिका जान तयार भएको उनी बताउँछन्। ‘त्यत्तिकै बस्नुभन्दा अमेरिकाजस्तो देश जान पाइयो भने आनन्द हुन्छ। पैसा पनि कमाइन्छ भन्ने भयो,’ उनले भने, ‘जसरी पनि अमेरिका जान पाए हुन्थ्यो भन्ने लाग्यो। शरणार्थी भनेपछि अमेरिका जान पनि सहज हुन्छ जस्तो लाग्यो।’ 

जनप्रतिनिधि भएर सागरले पथरी शनिश्चरेभित्र सबैको मन जितेको कल्याण सम्झन्छन्। अहिले यो प्रकरण बाहिरिएपछि पैसा बुझाउने तीन जनाले नै प्रहरीमा जाहेरी दिइसकेको उनले बताए। ‘सम्भवतः पहिलो ‘लट’मा जाहेरी दिने हामी नै हौं कि जस्तो लाग्छ। प्रहरीले बोलाएपछि गएर जाहेरी दियौं,’ उनले भने, ‘अहिले पैसा बुझाउनेलाई पनि कारबाही हुनुपर्छ भन्ने आवाज उठेको देख्दा तनावमा छौं। पैसा त गयो नै तर, कारबाही पनि भोग्नु पर्‍यो भने दोहोरो मारमा परिन्छ।’ 

सुनसरीको इटहरी घर भएका काजीबहादुर बस्नेत (नाम परिवर्तन)ले भतिजो अमेरिका जाने भएपछि सागरलाई पैसा बुझाएको बताए। ‘भतिजोले अमेरिका जाने भन्यो। पैसा चैं मैले नै सागरको बैंक खातामा हालिदिएको हुँ,’ उनले भने, ‘भतिजका पथरी शनिश्चरेतिर केही साथीहरू थिए। उनीहरूकै विश्वासमा पर्दा यो अवस्था झेल्नु पर्‍यो।’ भतिजोले साथीहरूको विश्वास गरिदिएपछि गिरोहको फेला परिएको र कोरोना महामारीभन्दाअघि नै पैसा बुझाएको उनले बताए। तर, काम नहुने थाहा पाइसकेपछि पटकपटक पैसा फिर्ताका लागि आग्रह गर्दा सागरले सुनुवाइ नगरेको काजीले बताए। भने, ‘अहिले भतिज विदेश गइसकेको छ।’

सागरले पैसा फिर्ता गर्छु भनेर पटकपटक भाका मात्रै राखेको उनको भनाइ छ। ‘म कुरा मिलाउन काठमाडौं जाँदैछु, त्यहाँबाट आएपछि फिर्ता गर्छु त भन्दै थिए। निक्कै पटक गरेको फोन पनि उठाएनन्। उनी त पक्राउ परिसकेछन्,’ काजी भन्छन्, ‘कानुनविपरीतको काममा अघि बढ्न खोज्ने हामीलाई पनि कारबाही हुन्छ कि भन्ने डर लागेको छ। सामान्य गरिखाने हामीलाई जग्गा बन्धकी राखेर लिएको १० लाखको ब्याज तिर्न गाह्रो भइरहेको छ। सागर पक्राउ परेपछि हाम्रो सम्पर्क हुन सकिरहेको छैन।’

पक्राउ पर्नुअघि भने पैसा फिर्ता माग्दै पटकपटक सागरको घर पुगेको उनले उनले सुनाए। उनका अनुसार भुटानी बनेर अमेरिका जान खोज्नेमा पथरी शनिश्चरेका मान्छेहरू धेरै छन्। ‘अमेरिका जानलाई अनेक गरेर बुझाएको पैसा डुब्दा मान्छेको बिल्लीबाठ भयो,’ उनले भने, ‘पैसा बुझाउनेहरू रोएको देख्दा मन थामिँदैन।’ 

गिरोहलाई पैसा बुझाउनेमध्येमै पर्छन्, मोरङ पथरी शनिश्चरे–४ का ३३ वर्षीय संकेत गौतम (नाम परिवर्तन)। कुखुरापालन गरेर सामान्य हिसाबले परिवार धान्दै आएका उनलाई सागरसँगकै संगतले अमेरिका जाने रहर लाग्यो। त्यसपछि कुखुराबाट लाभ नहुने देखे। १० लाख रुपैयाँ सागरलाई बुझाए। अहिले नक्कली भुटानी शरणार्थी भनेर प्रहरीले समात्छ कि भन्ने त्रासमा छन्। 

‘पैसा त गयो। अमेरिकाको कुरै भएन। कोरोनाले व्यवसायमा समस्या हुन थालेपछि अमेरिकाको सोच पलायो,’ उनले भने, ‘साथीबाट अमेरिकाको ‘अफर’ आएको थियो। जनप्रतिनिधि भएकाले सागरको विश्वास गरियो। चाँडै नै उडाउने पनि भनेका थिए।’ अमेरिकाको सपनाले आफू नक्कली भुटानी बन्न तयार भएको संकेतको भनाइ छ। 

प्रहरीले पक्राउ गर्ने डरले अहिले चुपचाप बसेको उनले बताए। भने, ‘पैसा खानेविरुद्ध जाहेरी दिने आँट छैन। उल्टै कारबाही हुन्छ कि भन्ने डर छ।’ उनका अनुसार सागरले अमेरिका जाने सबै प्रक्रिया पूरा भइसकेको भन्ने गरेका थिए। साथीभाइसँग खोजेर र ससुरालीको जग्गा धितो राखेर बुझाएको पैसाले अहिले पिरोलिरहेको संकेत बताउँछन्। उनले कानुनी झमेलामा फस्दा परिवारमा अर्को तनाव आइपर्ने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.