शरणार्थी प्रकरणमा सत्य छानबिन गर्नुपर्नेमा जोड

शरणार्थी प्रकरणबारे संसद्मा खुलस्त पार्छु : ओली

एमाले केन्द्रीय कमिटी बैठक

शरणार्थी प्रकरणबारे संसद्मा खुलस्त पार्छु : ओली
एमाले पार्टी कार्यालयमा बिहीबारबाट सुरु केन्द्रीय कमिटीको पाँचौं बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली।
सुन्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा विस्तृत अध्ययन गरेर आगामी जेठ ४ गते संसद्मा बोल्ने ओलीले तयारी गरेका छन्।

 काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौं बैठक पार्टी केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति हलमा चल्दै गर्दा बिहीबार अध्यक्ष केपी शर्मा ओलीले भने, ‘कुन शरणार्थीका नाममा कहाँ–कहाँ कतिलाई रकम पठाइयो र को संलग्न छन् भन्ने तथ्यसहित संसद्मा म बोल्छु। के भएको थियो ? तथ्य खुल्नुपर्छ।’ अध्यक्ष ओलीले यसो भनिरहँदा सबैले गम्भीरताका साथ सुनिरहेका थिए। किनकि नक्कली शरणार्थी प्रकरणले अहिले राजनीति पनि तातेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा विस्तृत अध्ययन गरेर आगामी जेठ ४ गते संसद्मा बोल्ने ओलीले तयारी गरेका छन्। उनले आफू गृहमन्त्री रहेकै बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भुटानी शरणार्थीको तेस्रो राष्ट्रमा पुनस्र्थापनाबारे पहिलो पटक सल्लाह गरेको बैठकमा 
बताएका थिए। उनले त्यसबेला बिरामी अवस्थामा रहेका कोइरालाको स्वीकृतिमा आफूले यो विषय अगाडि बढाएको बताए। ‘हामीले अब शरणार्थी पालिराख्न सम्भव छैन। थर्ड कन्ट्री सेटलमेन्ट गर्नुपर्छ भन्ने प्रस्ताव गिरिजाप्रसादसँग राख्दा उहाँले तपाईं प्रयास गर्नुस् भन्नुभयो,’ उनले भने।

त्यसपछि न्युयोर्कमा आयोजित अमेरिकी राष्ट्रपतिले दिएको रिसेप्सनमा भुटानी शरणार्थीको सेटलमेन्टबारे पहिलोपटक प्रस्ताव राखेको ओलीले सुनाए। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले आफूसँग शरणार्थीको विषयमा जिज्ञासा राखेको ओलीको भनाइ थियो। ‘रिसेप्सनमा घुम्दै जाँदा उहाँले मलाई सोध्नुभयो। मैले भनें ‘हामीलाई ठूलो समस्या भयो। समस्या तन्किँदै जाँदा हामीले थेग्न सक्दैनौं। महामहिमज्यू, तपाईंले हामीलाई मद्दत गर्नुपर्‍यो।’

उहाँले कोन्डालिजा राइससँग कुरा हुँदैछ क्यारे। उहाँसँगै डिटेलमा कुरा गर्नुस् भन्नुभयो। म कोन्डालिजालाई भनुँला भन्नुभयो। त्यसपछि डीसीमा कोन्डालिजासँग मेरो लामै कुरा भयो। त्यो कुराकानीको रेकर्ड अहिले पनि परराष्ट्रमा होला,’ ओलीले भने। अध्यक्ष ओलीले सन् २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरु भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको उल्लेख गरे। 

शरणार्थी प्रकरणमा सत्य छानबिन गर्नुपर्ने

ओलीले नक्कली शरणार्थी प्रकरणमा सत्यतथ्य छानबिन गर्नुपर्ने बताएका छन्। भने, ‘यो केसमा निष्पक्ष छानबिन हुनुपर्छ। हामीले सोचेका थिएनौं टोपबहादुरजी कत्तिको संलग्न हुनुहुन्छ/हुनुहुन्न उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन। सोचेका पनि थिएनौं। तर, हामी आश्चर्यचकित बन्यौं उहाँलाई पक्राउ पुर्जी जारी हुँदा।’

पक्राउ पुर्जी जारी भएपछि टोपबहादुरले बाहिर आएर प्रहरीलाई सघाउने विश्वास लिए पनि त्यसो नभएको उनको भनाइ थियो। भागेपछि आरोपमा आशंका गर्ने ठाउँ हुने ओलीले बताए। यो प्रकरणमा सही छानबिन नगरेर सरकारले राजनीतिक फन्डा गर्न खोजेको उनको आशंका थियो।

लडाकु शिविर भ्रष्टाचारको छानबिन गर्न आयोगलाई आग्रह

ओलीले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन्। बैठकमा उनले राज्यको ढुकुटी अनुचित ढंगले छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार नै भएको बताए। 

‘राज्यको ढुकुटी अनुचित ढंगले छलछाप गरेर खल्तीमा हाल्ने कुरा भनेको भ्रष्टाचार नै हो। जोसुकैले गरेको होस् त्यो भ्रष्टाचारको बारेमा कोही बोल्न तयार छैन। राज्यको पैसा व्यक्ति वा संस्थाले अर्बांै कुम्ल्याएका छन्। 

अख्तियारले होल्ड गरेर राखेको छ’ उनले भने, ‘म भन्न चाहन्छु कि त्यसबारे छानबिन गर्नुस्।’ अहिले कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने अवस्था रहेको समयमा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खोज्नु सरकारको गलत निर्णय भएको उनको भनाइ थियो। क्याटोनमेन्टको नाममा नभएका व्यक्तिको नाममा अर्बौं पैसा घोटाला भएको ओलीले बताए।

‘माओवादीका कारण समस्या भयो’

अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको राजनीतिक बेइमानीले राष्ट्रिय राजनीतिलाई पुरानै अवस्थामा धकेलेको आरोप लगाएका छन्। बैठकमा ओलीले माओवादी केन्द्रको राजनीतिक बेइमानी, अस्थिरता र अवसरबादले राष्ट्रिय राजनीतिलाई फेरि पुरानै बिन्दुमा धकेलेको बताए। माओवादी केन्द्र विभिन्न शक्ति केन्द्रहरूको प्रभावमा परेको उनको दाबी छ। 

बैठकमा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा चुनावअघि र पछिका घटनाक्रमको समीक्षा गर्दै उनले नयाँ सहकार्यलाई भत्काएर फेरि पुरानै गठबन्धन स्थापित गर्ने, नेपाललाई अन्त्यहीन अस्थिरतातर्फ धकेल्न चाहने एवं मुलुकलाई शक्ति राष्ट्रहरूको स्वार्थको क्रीडास्थल बनाउन प्रयासरत विभिन्न शक्तिकेन्द्रको चलखेल बढेको आरोप लगाए।  पुस २६ गते कांग्रेसबाट समेत विश्वासको मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री प्रचण्डले बोली फेर्न थालेको प्रतिवेदनमा उल्लेख छ। 

‘कहिले राष्ट्रपतिका बारेमा भएको एमालेसँगको पूर्वसहमतिलाई भएकै छैन भनेर झुट बोल्ने र कहिले राष्ट्रिय सहमति भनेकै कांग्रेससँगको सहमति हो भन्ने अथ्र्याउन थाले। त्यस नयाँ राजनीतिक कोर्सलाई जोगाउन हामी हदैसम्म लचिलो भयौं।

तत्कालीन सत्ता गठबन्धनभित्रैबाट राष्ट्रपतिको उम्मेदवार बनाएर भए पनि सहकार्य जोगाउन प्रस्ताव गयौं। तर, आफैं चरम अवसरवादबाट ग्रस्त र विभिन्न शक्ति केन्द्रहरूको प्रभावमा परेको माओवादी केन्द्रलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन। राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ऊ नेपाली कांग्रेससँग समर्पण गर्न पुग्यो, प्रतिवेदनमा भनिएको छ। माओवादीको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्र पुरानै भएको उनले बताए। 

उपनिर्वाचनको नतिजा चिन्ताजनक

ओलीले उपनिर्वाचनको नतिजालाई चिन्ताजनक विषय भएको बताएका छन्। प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उपनिर्वाचनको नतिजालाई गम्भीर रूपमा हेर्नुपर्ने बताए।

‘नेकपा एमालेले उपनिर्वाचनमा संख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि चितवन–२ र तनहुँ–१ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताजनक विषय हो’, प्रतिवेदनमा उल्लेख छ।

यस्तो नतिजा आउनुको कारणबारे गम्भीर समीक्षाको आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ। ‘सम्बन्धित जिल्ला र प्रदेश कमिटीले यसको गम्भीर समीक्षा गर्नुपर्छ र रहन गएका कमीहरूलाई अविलम्ब सच्याउनुपर्छ’, ओलीको प्रतिवेदनमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.