पोखराको विश्व ‘कनेक्सन’

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गरेको ४७ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो। अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन (पुस १७ गते) देखि यो सञ्चालनमा आएको हो। यद्यपि अन्तर्राष्ट्रिय उडान भने अहिलेसम्म हुन सकेको छैन।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि पर्यटन पूर्वाधारमा व्यवसायीले लगानी थपेका छन्। विमानस्थल बन्ने पक्का भएपछि होटल क्षेत्रको पूर्वाधार निर्माणमा मात्र पोखरामा १ खर्ब थपिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
पोखरामा होटलको पूर्वाधारमा मात्र ४ खर्ब लगानी रहेको संघका अध्यक्ष सुवेदीले सुनाए। रेस्टुरेन्ट, बार, क्लब, सहासिक खेलहरू प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन, बञ्जीलगायतका गतिविधिमा खर्बौंको लगानी रहेको व्यवसायीले बताएका छन्।
चीनको झन्डै २२ अर्ब सहुलियतपूर्ण ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेर आन्तरिक उडान सुरु भएको चार महिना पूरा हुँदैछ। तर, अझै पनि अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ भन्ने एकिन छैन। अन्तर्राष्ट्रिय उडान होला र विदेशी पर्यटक सोझै पोखरामा आउलान् अनि व्यापार बढ्ला भनेर खर्बौ लगानी गरेका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडानमा ढिलाइ हुँदा चिन्तित छन्।
अन्तर्राष्ट्रिय विमानस्थल बन्नु अघि पोखरेलीले छिटो विमानस्थल बनाउ भनेर दबाब दिनुपर्ने अवस्था आइपर्यो। अहिले विमानस्थल त बन्यो तर छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर भनेर फेरी दबाब दिनुपर्ने देखियो।
यस्तो अवस्था आइलाग्नु दुःखको कुरा भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। आफ्नो व्यवसायमा ध्यान दिएर व्यस्त हुनुपर्ने पर्यटन व्यवसायी छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर भनेर प्रधानमन्त्री, पर्यटनमन्त्री, चीनका राजदूतको निवास धाउनुपर्ने अवस्था आइलागेको उनको गुनासो छ।
पोखराबाट छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लगायत आर्थिक समस्या समाधानका लागि पहल गर्न पोखरा पर्यटन परिषद्को नेतृत्वमा हालै पोखराका पर्यटन व्यवसायी राजधानी गए। त्यहाँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल र पर्यटन मन्त्रीलाई भेटे।
पर्यटन व्यवसायीसँगको भेटमा प्रधानमन्त्रीले पोखराबाट अन्तर्राष्ट्रिय उडान छिटो हुनुपर्छ भन्नेमा आफू चिन्तित रहेको बताए। निकट भविष्यमै हुने भारत र चीन भ्रमणका क्रममा दुवै देशसँग कुरा गरेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न पहल गर्ने प्रधानमन्त्री दाहालले बताएका होटल संघ पोखरा नेपालका अध्यक्ष सुवेदीले बताए।
चीनका विभिन्न शहरबाट सोझै पोखरामा उडान सुरुका पहल गर्न पोखराका पर्यटन व्यवसायी चीनका राजदूतसँग पनि भेट गरे। चिनियाँ राजदूत छन सोङले पहिलो चरणमा चीनबाट पोखरा चार्टर फ्लाइट गर्न पहल गर्ने र त्यसपछि विस्तारै नियमित उडानका लागि पहल गर्ने आश्वासन दिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायाण श्रेष्ठले सुनाए।
पोखराका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडान सुरुसँगै प्रदेशकै समृद्धिको ढोका खुल्ने विश्वास गर्छन्। त्यसैले पोखरेली व्यवसायी छिटो अन्तर्राष्ट्रिय उडान सुरु होस् भन्ने पहलमा लागेका पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले सुनाए।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका वायु सेवाहरू बुद्ध एयर, नेपाल एयरलाइन्स, हिमालयनले अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी तथा पहल गरिरहेको र अनुमति पाए लगत्तै उडान हुने बताउँदै आएको छ।
बुद्धले उद्घाटनकै दिन बनारस उडानका लागि अनुमति मागेको थियो। भारतबाट अनुमति आएन। अनुमति नआएपछि उड्ने कुरा भएन। त्यो भएर जुन मुलुकमा उडान भर्ने हो त्यो देशको सरकारले अनुमति दिनु पर्ने क्यानका अधिकारीले बताएका छन्। बुद्ध एयरले भारतका तीन सहरमा उडान भर्न अनुमति मागेको थियो। तर अहिलेसम्म भारतबाट कुनै जवाफ नआएको एयरलाइन्सले जनाएको छ।
‘हामीले अनुमतिका लागि जेजति ठाउँमा निवेदन दिनुपर्ने हो दिइसकेका छौं तर अहिलेसम्म कुनै जवाफ आएको छैन’, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए। अनुमति आउनासाथ उडानका लागि तयारी अवस्थामा रहेको पनि कर्णले जानकारी दिए। बुद्धले अहिले काठमाडौंबाट बनारस उडान गरिरहेको छ।
अनुमति पाए लगत्तै पोखराबाट बनारस, देहरादुन र दिल्ली पनि उडान गर्ने योजना रहेको सूचना अधिकारी कर्णको भनाइ छ। ‘हामी अहिले अनुमतिको पर्खाइमा छौं’, उनले थपे। भारत उडान सुरु भएसँगै अरू विदेशी विमान कम्पनी पनि पोखरामा उडान भर्न थप उत्साहित हुने भएकाले यसका लागि संघ सरकारले नै पहल गर्नुपर्ने श्रेष्ठको धारणा छ।
सरकारले सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी २०७३ वैशाख १ मा विमानस्थल शिलान्यास गरेको थियो। कोरोनाका कारण सामान आयातमा ढिलाइ र कामदार अभाव भएपछि एक वर्ष म्याद थपिएको थियो। नागरिक उड्डयन प्राधिरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच सन् २०१४ को मे ३१ मा ठेक्का सम्झौता भएको थियो।
नेपाल र चीनको एक्जिम बैंकबीच २०१६ मार्च २१ मा ऋण सम्झौता भएको हो। सरकारले प्राधिकरणसँग २०१६ जुन ५ मा ऋण सम्झौता गर्यो। एक्जिम बैंकले २०१७ मे ३१ देखि ऋण प्रवाह गरेको थियो। यसरी सन् २०१७ जुलाई ११ मा काम सुरु भएको थियो।
२०३२ सालमा पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण सुरु भएको थियो। ३८ सय ९९ रोपनी क्षेत्रफलमा विमानस्थल रहेको आयोजनाले जनाएको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डभित्र रहेर फोरडी मोडलमा विमानस्थल बनेको हो।
यस विमानस्थलमा बोइङ ७५७ र एअबरस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।
प्रतिक्रिया दिनुहोस !
