यो मेरो हार होइन जित हो

यो मेरो हार होइन जित हो

आफुलाई ठूला भन्ने दलहरूको अब भविष्य नै छैन भनेपनि हुन्छ। पाँच दलले गठबन्धन गरेर लड्दा त यति धेरै शक्ति लगाउनु पर्‍यो। बारा–२ मा जिते पनि पाँच दलका स्थानीयदेखि शीर्ष नेताहरू खुशी छैनन्, उनीहरूको अनुहार अँध्यारै छ।

प्रस्तुति : क्रान्ति साह

उपनिर्वाचनमा भएको पराजयलाई कसरी लिनुभएको छ ? 
चुनावमा जनताले दिएको जनादेशलाई मैले सहर्ष स्वीकारेको छु। कानुनी रुपमा मैले चुनाव हारेको भए पनि व्यवहारिक रुपमा भने जितेको महसुस गरिरहेको छु। किनकि चुनावी मैदानमा म जनमत पार्टीको उम्मेदवार एक्लै थिएँ। तर, मेराविरुद्ध पाँचदलीय गठबन्धनसँगै संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारसमेत मिलेर लडेका थिए। तैपनि बारा २ का जनताले जुन मत मलाई दिएका छन् त्यो मतसँग पाँचदलीय गठबन्धनले पाएको मत पाँच भागमा विभाजन गरेर तुलना गर्ने हो भने मैले पाएको मत अहिले जितेकाको भन्दा कयौं गुणा बढी हुन्छ। त्यसैले यो मेरो हार होइन जित हो भनेर सम्झेको छु। 

बारा–२ मा सिके राउतको खटाइले मात्र यति धेरै मत जनमत पार्टीले पाएको हो भन्छन् नि ? 
बारा–२ मा मैले पाएको मत, हाम्रा पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत अनि मेरो पनि प्रभावले पाएको मत हो। यो स्वाभाविक हो। पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत रातदिन खटिनुभयो। भोट माग्नु भयो। हामी दुईजना सँगैसँगै पनि जनताको घरदैलोमा पुग्यौं, जनतासँग भोट माग्यौं। जनताले जनमत पार्टीको चुनाव चिन्हमै मत दिएको हो। त्यसैले कसैको कारण वा प्रभाव भनेर छुट्याउनु उचित हुँदैन। पार्टीको लोकप्रियताका साथै हामी दुवैको खटाई र प्रभावले जनमत पार्टीलाई यति धेरै मत आएको हो। 

चुनावी प्रचारका क्रममा तपाईले त महागढीमाइ माताको आशिर्वाद म माथि छ, फरकिलो मतान्तरले मैले नै जित्छु भनेर दावी गर्दै आउनु भएको थियो नि ? 
म जित्नकै लागि चुनाव लडेको थिएँ। म मात्रै होइन चुनावमा कुनै पनि उम्मेदवार जित्नकै लागि लड्छ। मैले अघि पनि भनिसकेँ कांग्रेस, जसपा, माओवादीलगायतका पाँच दल मात्र होइन तीनै तहका सरकार प्रमुखहरू मिलेर मेरोविरुद्ध लाग्दासमेत उनीहरूका उम्मेदवारले जुन मतान्तरले जितेका छन्, त्यसैले भन्छ कि यो मेरो हार होइन यो मेरो जित हो। यो कुरा जनतामा गएर सोध्दा पनि हुन्छ। 

र, अर्को कुरा आउँदा चुनावहरू अहिलेका गठबन्धन दलले फेरि पनि गठबन्धन नै गरेर लड्छन् भन्ने ग्यारेन्टी छैन। एक्ला–एक्लै लड्छन् होला। त्यसबेला म कुन स्थानमा रहन्छु अहिले पाएको मतले नै संकेत गरिरहेको छ। अहिले पाँच दलीय गठबन्धनले पाएको मतलाई पाँच भागमा बाँडेर हेर्दा थाहा भइहाल्छ नि एक्लै–एक्लै लडेको भए कसले जितेको छ, कसले हारेको छ। 

थोरै मतान्तरले पराजित हुनुपर्‍यो। यस्तो खालको मत आउनुमा उम्मेदवारको कमजोरी कि पार्टीको ? 
चुनाव भनेको हारजितको खेल हो। एउटाले जित्छ अर्कोले हार्छ। चाहे थोरै मतले हारोस या धेरै मतले जितोस्। मलाई जुन मत आएको छ त्यसले के देखाइरहेको छ भने, यसमा कसैको कमजोरी होइन। जनताले मलाई २३ हजार ३३४ मत दिएको छ यदि उम्मेदवार वा पार्टीको कमजोरी भएको भए जनताले विश्वास गरेर त्यति धेरै मत दिँदैनथ्यो। त्यसकारण उम्मेदवार वा पार्टी कसैको कमजोरी होइन। यो प्रश्न सोध्नु नै गलत हो। प्रश्न नै परिपक्व भएन। यदि कमजोरी भएको भए जनताले त्यति धेरै मत पक्कै दिने थिएन। 

पुराना दलहरूप्रतिको वितृष्णाले पनि मत बढेको हो जस्तो लाग्दैन ? 
पहिलो कुरा जनमत पार्टीको एजेण्डा नै जनमुखी छ। जनमत पार्टीले लिएको मुद्दा जनताको हितमा छ। त्यसकारण जनमत पार्टीलाई जनताले अहिले मन पराइरहेका छन्। पाँच दल र तीनै तहका सरकारका प्रमुखहरू आफ्ना एकल उम्मेदवारलाई जिताउन र मलाई हराउन घरमा–घरमा धाएर भोट मागे। बहालवाला र पूर्व गरी तीन जना प्रधानमन्त्रीसमेत आएर मलाई हराउन सारा शक्ति लगाए। मधेसका मुख्यमन्त्री त मतदानका दिनसमेत बुथबुथमा गएर आफ्ना उम्मेदवारका लागि भोट मागे। 

मतदानको अघिल्लो दिन राति पैसाको बिटोसमेत उनीहरूले बाँडे। मतदानका दिन ठाँउ–ठाँउमा बुथ कब्जा पनि गरे। सिङगो राज्य र सरकार प्रमुखसमेतले सारा शक्ति लगाउँदा पनि मैले त्यति धेरै मत पाएँ। यसले नै पुष्टि गर्छ कि यति धेरै मत जनताले जनमत पार्टीलाई औधी मन पराएर दिएका हुन्। जनतामा जनमत पार्टीको लोकप्रियता बढ्दो छ। रह्यो पुरानो भनिएका दलहरूको कुरा। उनीहरूले अहिलेसम्म जनताका लागि के गरे ? आफ्नो स्वार्थका लागि के गरे ? त्यसको समिक्षा जनताले गर्न सुरु गरिसकेका छन्। अहिलेको चुनावमा पनि जनताले ती दलहरूको समिक्षा गरेर नै मत दिएका हुन्। यद्यपि अंकगणितीय हिसाबले मैले हारे पनि जनताले जनमत पार्टीमाथि भरोसा गरेर दिएको मतले मैले जितेको छु भनेर बारा–२ का जनताले नै भनिरहेका छन्। 

अब आउने निर्वाचनमा दलहरूको भविष्य कस्तो होला ? 
आफुलाई ठूला भन्ने दलहरूको अब भविष्य नै छैन भनेपनि हुन्छ। पाँच दलले गठबन्धन गरेर लड्दा त यति धेरै शक्ति लगाउनु पर्‍यो। बारा–२ मा जिते पनि पाँच दलका स्थानीयदेखि शीर्ष नेताहरू खुशी छैनन्, उनीहरूको अनुहार अँध्यारै छ। अनुहारमा थोरै पनि हाँसो देखिएको छैन। बारा–२ मात्र होइन उपनिर्वाचन भएको चितवन–२ र तनहुँ–२ को निर्वाचन परिणामले पनि ती दलहरूको मुटुमा ढ्याँङग्रो ठोकिसकेको छ। ती दलहरूमा पहिरो जान सुरु पनि भइसकेको छ। अर्को कुरा सधैभरी चुनावमा गठबन्धन नै भइहाल्छ भन्ने ग्यारेण्टी त हुँदैन। अब हुने चुनावमा एक्ला–एक्लै लड्नु पर्छ। त्यो बेला हाम्रो हविगत के हुन्छ भन्ने डरत्रासमा उनीहरू अहिलेदेखि नै छन्। 

गठबन्धनको उम्मेदवारले जित्नुभएको छ, अब उहाँलाई तपाईंको कस्तो सहयोग रहनेछ ? 
पहिलो कुरा त अब साढे ४ वर्षपछि हुने निर्वाचनमा उपेन्द्र यादवले जुन क्षेत्रबाट चुनाव लड्छन् म पनि त्यही क्षेत्रबाट लड्छु। यो घोषणा अहिले नै गरेँ मैले। उपेन्द्रजी लडेकै क्षेत्रबाट चुनाव लडेर त्यहीँबाट मैले उहाँलाई पराजित गरेरै छाड्छु। किनकि यसपालि बारा–२ मा जनताले उपेन्द्रजी र मलाई दिएको मतले म  निक्कै उत्साहित छु। 

रह्यो कुरा उपेन्द्रजीलाई सहयोग गर्ने सवाल। म जनताको सेवक हुँ, हारे पनि जिते पनि म जनताको सेवामै समर्पित रहन्छु। यस क्षेत्रका जनताको विश्वास र भरोसा सधैं म माथि छ। त्यसलाई म आगामी दिनमा टुट्न दिने छैन। क्षेत्रको विकास र समृद्धि अनि जनताको सेवामा मेरो सकारात्मक भूमिका सधैं रहन्छ। उपेन्द्रजीले यो क्षेत्र र यहाँका जनताको लागि राम्रो काम गरे भने मेरो सकरात्मक भूमिका रहनेछ। यदि जनविरोधी काम गरे भने त्यसको भण्डाफोर गर्न म पछाडि हट्दिनँ। 

आफ्नो पार्टीलाई अझै बलियो बनाउँदै लैजान तपाईंको भूमिका कस्तो हुनेछ ? 
साँच्चै भन्ने हो भने उपनिर्वाचन हुँदासम्म बारा–२ मात्र जनमत पार्टीको संगठन विस्तार भइसकेको थिएन। तर, अब समग्र बारा जिल्लाभरमै जनमत पार्टीको संगठन विस्तारमा हामी लाग्छौं। वडा–वडामा जनमत पार्टीको संगठन बनाउछौं। 

किनकि मंसिर ४ को निर्वाचनमा मधेसमा जनमत पार्टीप्रति देखिएको जनउभारले अबका दिनमा मधेसमा जनताले विकल्प खोजिरहेको प्रष्टै देखिन्छ। त्यसकारण बारामा मात्र नभई मधेसमै जनमत पार्टीलाई १ नम्बरको पार्टी बनाउनका लागि हामी अहोरात्र खट्छौं। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.