संरक्षण क्षेत्रमा पदयात्रा गर्दा अनिवार्य गाइड

संरक्षण क्षेत्रमा पदयात्रा गर्दा अनिवार्य गाइड
अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा रहेका पर्यटक । कृष्णमणि बराल
सुन्नुहोस्

पोखरा : संरक्षण क्षेत्रको पदयात्रामा जाने विदेशी पर्यटकले चैत १८ गतेदेखि अनिवार्य रूपमा गाइड लैजानुपर्ने नियम लागू भएको छ। नेपाल पर्यटन बोर्डले यस्तो व्यवस्था गरेको हो। हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकको सुरक्षाका लागि यो नियम लागू गरिएको पर्यटन बोर्डले जनाएको छ। 

नेपाल पर्यटन ऐन, २०५३ को दफा ७ र पर्यटक पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०६४ को दफा १० (क) बमोजिम टिम्स अनुमति शुल्क लाग्ने गरी यो निर्णय गरेको बोर्डले जनाएको छ। यो नियम लागू भएसँगै लामो समयदेखि बेरोजगार बनेका पर्यटक गाइड र सहयोगीहरूका लागि रोजगारको अवसर सिर्जना भएको यस क्षेत्रमा कार्यरत पर्यटन मजदुरहरूले बताएका छन्। 

कोभिड–१९ र यसअघिका विभिन्न घटनाक्रमका कारण करिब ५० प्रतिशत पर्यटन गाइड र सहयोगीहरू पेसाबाट पलायन भइरहेको अवस्थामा यो निर्णयसँगै पदयात्रा पर्यटनमा लाग्ने मजदुर पलायन हुने क्रम रोकिने पर्यटन मजदुरहरूको विश्वास छ। सन् २०१८÷०१९ मा गाइड नलगी एक्लै घुम्ने पर्यटकको संख्या ५४ हजार रहेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। तथ्यांकलाई आधार मान्दा विदेशी पर्यटकहरू लामो पदयात्रामा जाँदा टे«किङ कम्पनीमार्फत अनिवार्य रूपमा गाइड लैजानुपर्ने नयाँ नियम सुरु भएपछि पर्यटकको आगमन कोभिडअघिकै अवस्थामा पुग्दा ३५ देखि ४० हजारभन्दा बढी गाइड र सोही संख्यामा सहयोगीले रोजगार पाउने पर्यटन बोर्डका अधिकारीको भनाइ छ। 

अनिवार्य गाइडको नियमले पर्यटन मजदुर बेरोजगार भएर पेसा छोड्नुपर्ने र बिदेसिन बाध्य हुने समस्या केही हदसम्म भए पनि कम हुने नेपाल पर्वतारोहण संघ गण्डकी च्याप्टरका अध्यक्ष शेषकान्त शर्माले बताए। नेपालका हिमाली क्षेत्रको पदयात्रा सुरक्षित छ भन्ने सन्देशका लागि पनि अनिवार्य गाइडको नियम उपयुक्त हुने टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्म पन्थीले बताए। 

अनिवार्य गाइडको व्यवस्था नियमित सवारीसाधन चल्ने गरी सडक पुगेका क्षेत्र मुस्ताङको मुक्तिनाथलगायतका क्षेत्र र मनाङको सडक पुगेका क्षेत्रमा भने उपयुक्त नभएको पर्यटन व्यवसायीले बताएका छन्। मोटरबाटो नपुगेका हिमाली क्षेत्रको पदयात्रामा गाइड अनिवार्य गराउनु सुरक्षित पदयात्राका लागि उपयुक्त भए पनि सडक पुगेका क्षेत्रमा पनि अनिवार्य गाइड लैजानु पर्ने नियम उपयुक्त नभएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले बताए।

टिप्स उठाउनु राम्रो भए पनि यसबाट उठेको रकमको सही ठाउँमा सदुपयोग हुनुपर्ने पनि परिषद्का पूर्वअध्यक्ष भट्टराईले बताए। पहिले टिम्सबाट उठेको रकम मजदुरहरूको हकहितमा के–कति खर्च हुने गरेको छ, पदयात्रा क्षेत्रका बाटोको स्तरोन्नति र विकासमा के–कस्ता काम भएका छन्, पदयात्रा क्षेत्रमा सडक विस्तार भयो तर नयाँ पदयात्रा मार्ग निर्माणमा के–कस्ता उपलब्धि भएका छन् यसको उत्तर खोजिनुपर्ने पनि उनले बताए। अनिवार्य गाइडको नयाँ व्यवस्थाले रोजगारका अवसर सिर्जना भए पनि एक्लै प्रकृतिमा रमाउन चाहने र कम बजेटमा नेपालको हिमाली क्षेत्रको पदयात्रा गर्न चाहने एकल पर्यटकलाई भने आर्थिक हिसाबले पदयात्रा गर्न समस्या पर्ने व्यवसायी बताउँछन्। 

अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा पछिल्लो समयमा भारतीय पर्यटक पनि जान थालेका छन्। मुक्तिनाथको दर्शनका लागि मात्र जाने भारतीय पर्यटक पछिल्लो समयमा अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधारशिविर, अन्नपूर्ण फेरो, मर्दी हिमाललगायत क्षेत्रको पदयात्रामा जाने गरेको पर्यटन व्यवसायीले बताएका छन्। कोभिडअघि चिनियाँ पर्यटक पनि ठूलो संख्यामा अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेका थिए। कोभिडपछि भने लामो समय चिनियाँ पर्यटक आउन रोकिएको थियो। पछिल्लो एक महिनाको अवधिमा पुनः चिनियाँ पर्यटक पनि नेपाल भ्रमणमा आउन थालेको व्यवसायीले बताएका छन्। यसअघि पदयात्रामा अमेरिका, युरोप, बेलायतलगायतका देशका पर्यटकले बढी संख्यामा हिमाली क्षेत्रको पदयात्रा गर्ने गर्थे।  पछिल्लो समयमा नेपाली युवाहरू पनि नेपालको कुना कन्दरामा घुम्न जान थालेका छन्। हिमाली क्षेत्रको पदयात्रामा जाने युवाहरूको मुख्य रोजाइ अन्नपूर्ण संरक्षण क्षेत्र हुने गरेको छ। छोटो समयमै हिमालको नजिकै पुग्न सकिने र हिउँ खेल्न पाइने भएकोले अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा रोज्ने गरेको स्वदेशी पर्यटक बताउँछन्। 

अन्नपूर्ण संरक्षण क्षेत्रको पदात्रामा भेटिएकी इटहरीकी मोनिका ढकालले छोटो समयमै हिमालको फेदीसम्मै पुग्न सकिने भएकोले यहाँको मर्दी हिमालको पदयात्रामा आएको सुनाइन्।  

अनिवार्य गाइडको बारेमा के भन्छन् पर्यटक ?

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत मर्दी हिमाल क्षेत्रको पदयात्रामा भेटिएका र पोखराको भ्रमणमा रहेका पर्यटकले अनिवार्य गाइडको व्यवस्थाको बारेमा सकारात्मक रूपमा लिने र कम बजेट भएकालाई समस्या हुने दुवै विचार राखेका छन्। 

अन्नपूर्ण संरक्षण क्षेत्रको पोथनामा भेटिएका बेलायती पर्यटक जाइल्स रेनल्डसले आफूले अनिवार्य गाइडको नियम नभएको भए पनि पदयात्रामा जाँदा गाइड लिएर नै जाने सुनाए। पदयात्रामा गाइड लिएर जाँदा सुरक्षित यात्राको साथै त्यस क्षेत्रको संस्कृति, रहनसहन, प्रकृति, वन्यजन्तुलगायतका विषयमा बुझ्न सहज हुने भएकोले अनिवार्य गाइडको नियम राम्रो लागेको उनले सुनाए। 

गाइड अनिवार्य लानुपर्ने नियमले कम बजेटमा पदयात्रा गर्न चाहने पर्यटकलाई भने आर्थिक भार बढ्ने उनले बताए। यस्तो अवस्थामा मिल्ने भए त्यस्ता पर्यटकलाई आर्थिक भार कम गराउन ३÷४ जनाको समूहमा एक जना गाइड र सहयोगी लग्न मिल्नेसम्मको व्यवस्था भए कम बजेटमा घुम्न चाहने पर्यटकको समस्या पनि सम्बोधन हुने केट रेनल्डले बनाइन्।

जर्मनकी पर्यटक एन्ड्री संरक्षण क्षेत्रको उच्च हिमाली क्षेत्रमा अनिवार्य गाइडको नियम उपयुक्त रहेको बताउँछिन्। यसले सुरक्षित यात्रा त हुन्छ नै नेपाली युवाहरूले रोजगार पनि पाउने भएकोले व्यक्तिगत रूपमा यो नियम मन गरेको उनले बताइन्। कम बजेटमा पदयात्रा गर्न आउने पर्यटकका लागि यो नियमले असर गर्ने रसियन पर्यटक डिमिट्रीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.