मोटरसाइकल चोरी नियन्त्रण गर्न मोरङमा विशेष ‘अप्रेशन’, गिरोहका ६ जना पक्राउ

मोटरसाइकल चोरी नियन्त्रण गर्न मोरङमा विशेष ‘अप्रेशन’, गिरोहका ६ जना पक्राउ

विराटनगर : मोटरसाइकल र स्कुटर चोरी नियन्त्रण गर्न मोरङ प्रहरीले विशेष ‘अप्रेशन’ सञ्चालन गरेको छ। 

पछिल्लो समय मोटरसाइकल र स्कुटर चोरीका घटना बढेपछि प्रहरीले सक्रियता बढाएको हो। कोसी प्रदेशको राजधानी विराटनगरलगायत मोरङका विभिन्न स्थानमा मोटरसाइकल चोरी हुने क्रम बढेको छ। 

सार्वजनिकस्थल, पार्किङस्थल तथा घरैबाट मोटरसाइकल चोरी हुने क्रम बढेको प्रहरीले जनाएको छ। चोरीमा संगठित गिरोहको संलग्नता यकिन भएको छ। 

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले चोरी नियन्त्रण गर्न, खोजी गरेर चोरिएका मोटरसाइकल पत्ता लगाउन र चोरीमा संलग्न गिरोहलाई कारबाहीको दायरामा ल्याउन प्रहरीको छुट्टै टोली परिचालन गरेर विशेष ‘अप्रेशन’ चलाएका छन्। 

‘पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेका छन्। चोरी रोक्न छुट्टै टोली खटाएर विशेष ‘अप्रेशन’ चलाइएको छ,’ पोखरेल भन्छन्, ‘एक साताको अवधिमा राम्रै सफलता प्राप्त भएको छ। गिरोहका केही व्यक्ति पक्राउ परेका छन्।’ उनका अनुसार पक्राउ परेकाको साथबाट चोरीका मोटरसाइकल र स्कुटर पनि बरामद गरिएको छ। 

मोटरसाइकल चोरी गर्ने संगठित गिरोहका ६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा २ जना भारतीय नागरिक छन्। पक्राउ परेकाको साथबाट ५ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउन अनुसन्धानको प्रक्रिया सुरु गरिएको डीएसपी दाहालको भनाइ छ। 

उनका अनुसार पक्राउ पर्नेमा भारत अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशीलकुमार यादव, भारत पोसदाहका २५ वर्षीय शौरभकुमार यादव, सुनसरीको देवानगन्ज गाउँपालिका–३ का १८ वर्षीय राजकुमार यादव, सुनसरीकै भोक्राहानर्सिङ गाउँपालिका– ६ का २० वर्षीय सुमनकुमार यादव, विराटनगर महानगरपालिका–१२ का दिनेश साह र सञ्जय साह रहेका छन्। पक्राउ परेको गिरोह लामो समयदेखि संगठित रूपमा मोटरसाइकल चोरीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

विराटनगर–७ स्थित मालपोत कार्यालयअगाडि पार्किङ गरेर राखेको को २५ प १९४५ नम्बरको मोटरसाइकल गत फागुन १० गते चोरी भएको थियो। मोरङको बेलबारी नगरपालिका–४ का ६० वर्षीय बमबहादुर खवासको उक्त मोटरसाइकल चोरीमा सुशीलकुमार, शौरभकुमार र राजकुमार संलग्न रहेको दाहालले बताए। उनका अनुसार चोरीका ३ वटा मोटरसाइकलसहित उनीहरू चैत २१ गते पक्राउ परेका हुन्। 

त्यस्तै, विराटनगर–१६ मा पार्किङ गरेर राखिएको प्रदेश २–०२–००३ प ५२५९ नम्बरको मोटरसाइकल चैत २४ गते चोरी भयो। सप्तरी कन्चनपुरका केशवप्रसाद गुप्ताको मोटरसाइकल चोरीमा सुमनकुमारलगायतको संलग्नता रहेको प्रहरीले जनाएको छ। प्रहरीले चोरीको मोटरसाइकलसहित उनलाई चैत २४ गते पक्राउ गरेको हो। 

विराटनगरको सेन्ट्रल महलको पार्किङस्थलबाट को २७ प ६९४९ नम्बरको स्कुटर गत माघ २१ गते चोरी भयो। विराटनगर–४ का सुरेन्द्र कार्कीको उक्त स्कुटरसहित चोरीमा संलग्न दिनेश र सञ्जयलाई चैत २४ गते पक्राउ गरिएको डीएसपी दाहालले बताए। उनका अनुसार पक्राउ परेको गिरोहको साथबाट चोरीमा प्रयोग हुने ‘मास्टर की’ र नक्कली नम्बर प्लेट पनि बरामद भएको छ। 

‘चोरीका मोटरसाइकल पहाडी जिल्लाका दुर्गम तथा तराईका ग्रामीण इलाका र भारतका विभिन्न स्थानमा पुर्‍याएर बिक्री गर्ने गरेको पाइयो,’ एसपी पोखरेलले भने, ‘नेपाल–भारत सीमा क्षेत्रमा अवैध मदिरा र लागूऔषध ओसारपसारमा चोरीका मोटरसाइकल प्रयोग भइरहेको खुलेको छ।’ मोटरसाइकलका इन्जिन पानी तान्ने मोटरको रूपमा पनि प्रयोग गर्ने गरेको पाइएको उनको भनाइ छ। 

चोरीमा संलग्न गिरोहले नम्बर प्लेट परिवर्तन गरेर आफ्नो सम्पर्कमा भएका व्यक्तिहरूलाई निश्चित रकम लिएर मोटरसाइकल बिक्री गर्ने गरेको पोखरेल बताउँछन्। ‘मोटरसाइकल चोरीमा संगठित गिरोह सक्रिय रहेको अनुसन्धानबाट पत्ता लागेको छ,’ उनले भने, ‘पक्राउ परेकाले दिएको सूचना तथा अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा चोरीमा संलग्न अरुको पनि खोजी तीव्र पारिएको छ।’ 

मोटरसाइकल चोरी गर्ने गिरोहको सञ्जाल भत्काउन र चोरी नियन्त्रण गर्न कुनै कसर बाँकी नराखिने एसपी पोखरेलको भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.