किसानकी प्यारी ‘डाक्टर्नी दिदी’

संघर्षको संसार

किसानकी प्यारी ‘डाक्टर्नी दिदी’
सुन्नुहोस्

२०६७ देखि निरन्तर संघर्ष गरिन्। पसिना किसानका दु : खमा मिसाएर सयौंको मन जितिन्। उनै कान्ताले अन्तत :  नाम पाइन्, ‘डाक्टर्नी दिदी’।

उनलाई निद्राभन्दा किसानका पशुचौपायाको चिन्ता छ। मध्यरात नै किन नहोस्, मोबाइलमा घण्टी बजेपछि किसानका पीडामा मलम लगाउन दौडिन्छिन्। अरूको अनुहारमा देखिएको खुसी नै आफ्नो खुसी सम्झने उनी हुन्, धनुषाको मिथिला नगरपालिका—९ बेंगाडावकी ३८ वर्षीया कान्ताकुमारी मगर।

सँगै पढेर हुर्किएका कतिपय साथी विदेशमा पसिना बगाइरहेका छन् अनि कति बेरोजगार पनि। तर, कान्ता भेटेरिनरी पढेर गाउँमै नामसँगै महिनाको ५० हजारसम्म दाम कमाइरहेकी छन्। धनुषा र महोत्तरीका झन्डै ६ सय पशुपालक किसानको प्यारी ‘डाक्टर्नी दिदी’ बनेकी छिन्, कान्ता। सीपले उनको पहिचान बदलिएको छ— कान्ताबाट किसानको ‘डाक्टरनी दिदी’मा।

उनको एउटा पसल दुइटा भइसकेको छ। उनको दैनिकी साइकलबाट स्कुटीमा उक्लिएको छ। कान्ताको प्रगति देखेर रमाउने र ईष्र्या गर्नेहरू दुवै छन्। घरबाट गाउँ निस्कँदा किसानले ‘डाक्टर्नी दिदी’ भनेर बोलाउँदा उनी दंग पर्छिन्। थुप्रै पुरुष पशु चिकित्सकमाझ उनी उदाहरणीय बनेकी छन्। पिछडिएको समुदाय मगरकी छोरी उनी। बुवाले नगरेको पेसा अपनाउनु र सबैको दिलमा बस्नु नै ठूलो कुरो रहेको उनले सुनाइन्। उनी तराईको ग्रामीण भेगमा दबिएर रहेका महिला दिदीबहिनीलाई घरबाट बाहिर निस्किन काम गर्दै हुटहुटीसमेत जगाइरहेकी हुन्छिन्। भन्छिन्, ‘गृहिणी महिला दिदीबहिनी घरबाट निस्किने आँट गरे पक्कै सफलता भेट छ।’

सीपको कमाल  कुरो १२ वर्षअघिको हो। जतिखेर उनी विद्यार्थी थिइन्। गाउँमा हेफर इन्टरनेसनलले पशु किसानलाई लक्षित कार्यक्रम आएको थियो। धनुषा सेवा समितिले त्यसको सहजीकरण गरेर ३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको तालिम दिलायो, उनले त्यो अवसर लिइन्। सिकेको ज्ञान कार्यान्वयन गर्न उनलाई ३० हजार बीउ पुँजी पनि दिइयो। सुरुमा पसल थाप्दा कतिपयले उनलाई कान्ताले यो के गरेकी ? सम्म भने। अहिले बनेको सुन्दर त्यही पसलले सबैलाई जवाफ दिएको छ ! २०६७ सालदेखि निरन्तर संघर्ष गरिन्। पसिना किसानका दु : खमा मिसाएर सयौंको मन जितिन्। उनै किसानले राखिदिए कान्ताको नाम, ‘डाक्टर्नी दिदी’।

हेपाइले उठेकी कान्ता : थोत्रो साइकल। केरियल पछाडिको झोलामा केही औषधि। घाम न पानी, बिहान न राति। हरेक क्षण पशुपालक किसानको सेवा जुटिरहिन्। पशु बिरामी हुँदा किसानले उनलाई उपचारका लागि गोठमा बोलाउन थाले। तर ‘३५ दिने तालिम लिएर पनि के काम गरेको ?’ भन्दै हेलाँ गर्न थाले। उनी सोचअनुरूप काम गरिरहिन् र जितिरहिन् किसानको मन। सीप निखार्दै गइन्। ‘पख, तिमीहरूलाई पढेर देखाउँछु’ भन्ने ईख पालिन्। जेटीए पढ्ने मन थियो, पढ्ने पैसा थिएन। घरपरिवारको साथ भने सतिसाल झैं थियो। पशु उपचारको रकम बचाउन थालिन्।

जेटीए पढ्न १ लाख ५० हजार तिरेर रारा प्राविधिक शिक्षालय बर्दिबासमा नाम लेखाइन्। किताब, कपी, कलममा उनले थप ७० हजार खर्चिन्। काम र पढाइ सँगै हिँडाइन्। १८ महिने जेटीए पूरा गरिन्। झनै लोकप्रियता बटुलिन्। ‘बिहान पढ्न जान्थें। दिउँसो भेटनरी पसलसँगै किसानको गोठमा पशुको उपचारमा खटिन्थें’, दु : खका दिन सम्झँदै कान्ता भन्छिन्, ‘एकातिर काम र अर्कोतिर पढाइले भ्याइनभ्याइँ भयो। निकै दु : ख गरेर पढाइ पूरा गरें। कमाउने र परिवार पाल्ने आधार त्यही बन्यो।’

गरेरै जोडिन् घडेरी : कान्ता अहिले भाडाको घरमा बस्छिन्। मेहनतको कमाइले पाँच वर्षअघि २० लाखमा १० धुर घडेरी किनिन्। अहिले त्यो जग्गाको मूल्य ३० लाख पुगेको छ। पक्की घर बनाउने सपना छ उनको। कमाइबाटै नयाँ स्कुटी किनेकी छन्। फिल्ड र पसल जान आउन सहज छ। बिस्तारै फिल्ड र भेटनरी पसलको आकार बढेको छ। श्रीमान् आनन्दकुमार आलेको यसमा भरथेग छ।

कोरोना महामारीअघि आले सवारीचालक थिए। लकडाउनले सवारी ठप्प भएपछि कान्ताले श्रीमान्लाई पसलको तालाचाबी सुम्पिइन्। उनी फिल्डमा किसानको मागअनुसार नै समय दिन सक्ने भइन्। भन्छिन्, ‘दुईटा पसल भएपछि भेटनरीसँगै दाना पसल पनि छ। म फिल्ड र घरको काम हेर्छु। उहाँ पसलमा समय दिनुहुन्छ।’ पशु चिकित्सक मोहन खड्का र सूर्यदेव साहलाई कान्ता गुरु मान्छिन्। जटिल प्रकारका रोग पशुमा देखिए उनले खड्का र साहसँग सुझाव लिन्छिन्।

अनि कान्ताले रोजिन् सिरिन्ज र सुईं : कान्ताको परिवारको पुख्र्यौंली पेसा कृषि र पशुपालन हो। गोठको पशु बिरामी हुँदा उपचारका लागि बाउबाजेले पशु चिकित्सक बोलाउँथे। चिकित्सकहरूको निकै मान हुन्थ्यो। त्यो देखेर उनी लोभिन्थिन्। जीवनमा पशु चिकित्सक बन्ने सपना उनको त्यतिबेलैदेखिको हो। लगातारको मेहनत र संघर्षले नाम र दाम दियो, सँगै प्रतिष्ठा पनि। भन्छिन्, ‘हातमा सीप हुँदा परिवार पाल्न कसैको मुख ताक्नु पर्दैन। विदेश पनि जानु पर्दैन। आत्मनिर्भर हुन सकिन्छ।’

चुनावको हारले धेरै सिकायो :  कान्ता २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार पनि भइन्। कांग्रेसले मिथिला नगरपालिका–८ को महिला वडासदस्यको उम्मेदवारमा टिकट दियो। पहिलोपटक लडेको चुनावमा जित्न त उनले सकिनन्। तर, चुनावले धेरै कुरो सिकाएको उनी बताउँछिन्। ‘हामीजस्तो सोझो मान्छेले राजनीति गर्नु हुँदैन जस्तो लाग्यो।

अर्काको कुरो काट्ने, अरूलाई पछाडि पार्न सकियो भनेमात्रै राजनीतिमा सफल भइने रहेछ’, थप्छिन्, ‘हामी भनेको अरूलाई सहयोग गरेरै अगाडि बढेको मान्छे म। कसैलाई दु : ख परेछ भने साथ दिएर हिँड्ने हो।’ त्यसैले उनलाई राजनीति गर्ने हिम्मत छैन। बरु पशु उपचारसम्बन्धी काममा थप अध्ययन गर्ने उनले योजना बनाएकी छन्।

‘गाउँमै ल्याबटेस्ट हुनुपर्छ’ : किसानले गाईभैंसी पालेर परिवार चलाउँछन्। छोराछोरीको विवाह गर्छन्। तर, पछिल्लो समय किसान समस्यामा पर्दै आएका छन्। वस्तुभाउमा अज्ञात रोगहरू अत्यधिक देखा परेकाले पशुपालक किसानहरू निकै समस्यामा परेका हुन्। पशु चिकित्सक कान्ताका अनुसार जलवायुु परिवर्तनको असर वस्तुभाउमा पनि देखिएको छ। तापक्रम बढिरहेको छ। त्यसले ठूलो पशुहरू गर्भाधान नहुने, गर्भमै बच्चा अड्किने, वस्तुभाउमा ज्वरो आउने समस्याले पशुपालक किसानहरू हैरान छन्। भ्याक्सिन लगाए पनि पीपीआर रोग देखा परेको छ। खोरेत रोगले आतंक मच्चाएको छ।

‘वस्तुभाउको मुख र खुट्टामा सोरेत अर्थात् घाउ भएर पशुहरूले खाना खान सक्दैन’, कान्ता भन्छिन्, ‘स्थानीय सरकारले संक्रामक रोगहरू विरुद्धको कार्यक्रम सञ्चालन गर्नुपर्छ।’ पछिल्लो समय पशुहरूमा नयाँ प्रकृतिको रोगहरू फैलिएको उनी बताउँछिन्, ‘केही समयपहिले सुंगुर र बंगुरमा स्वाइनफिभरको नयाँ भेरियन्ट आएको थियो। दुई महिनापछि मात्रै रोगको पहिचान भयो। तबसम्म किसानले पालेका धेरै सुंगुर र बंगुर खोरमै मरिसकेका थिए।’

स्थानीय स्तरमा रोगहरूको पहिचान गर्न पशु ल्याब टेस्ट नहुँदा समस्या भइरहेको कान्तासँग अनुभव छ। ‘केसहरू सफल भए भने झनै खुसी लाग्छ। कहिलेकाहीँ केसहरू सफल हुँदैनन्। त्यतिबेला किसानहरू रोइरहेका हुन्छन्’, उनी थप्छिन्, ‘त्यो देखेर मन दु : ख्छ। दुईतीन दिनसम्म आफैंलाई निद्रा लाग्दैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.