एसईईको तयारी यसरी

एसईईको तयारी यसरी
सुन्नुहोस्

नेपाली समाजमा एसईईलाई फलामे ढोकाको रूपमा लिने गरिन्छ। यस्तो सोचले विद्यार्थीमा झन् तनाव सिर्जना गर्छ। शुक्रबारदेखि यस वर्षको एसईई परीक्षा सुरु हुँदैछ। त्यसैले परीक्षा सफल पार्न तनाव होइन, विद्यार्थीमा आत्मविश्वास बढाउनु जरुरी हुन्छ। परीक्षा भनेको ‘टेस्ट अफ मेमोरी’मात्र हो। जीवनमा एउटा परीक्षा राम्रो हुनुको अर्थ पूरै जीवन सफल हुनु होइन।

तपाईंले परीक्षामा ९० प्रतिशत ल्याउँदैमा जीवनमा सम्पूर्ण सफल हुन्छ र कम अंक ल्याउँदैमा जीवनमा केही गर्न सक्नु हुन्न भन्ने होइन। विद्यार्थी भएका नाताले परीक्षामा राम्रो अंक ल्याउनु धर्म हो। परीक्षाका अवधिमा राम्रो पढ्नु, खानपान र दिनचर्यामा विशेष ध्यान दिनु जरुरी हुन्छ।

भोलि जुन विषयको परीक्षा दिनुछ, अघिल्लो दिन पढिसकेका विषय दोहोर्‍याउनु उपयुक्त हुन्छ। यो छोटो समयमा आफूले पहिले नपढेका र नबुझेका कुरालाई पढ्छु र बुझ्छु भन्नु समय नास गर्नुमात्र हो। त्यसैले यसबीच नयाँ कुरा सिक्नेभन्दा पुरानो कुरालाई दोहोर्‍याउनु उचित हो।

विद्यार्थीले ध्यान दिनुपर्ने कुरा

  • परीक्षाको अघिल्लो रात राम्रोसँग निदाउनु जरुरी हुन्छ। यसले गर्दा दिमागका कोषिकाहरू रिल्याक्स र सक्रिय हुन्छन्।
  • परीक्षा सुरु हुनु एक वा आधा घण्टाअघि पढ्न छाड्नुपर्छ। किनकि यो अवधिमा किताब पल्ट्याएर बस्दा पढाइमा ध्यान जानुभन्दा पनि दिमागलाई अनावश्यक तनाव दिने काममात्र हुन्छ। यसले परीक्षामा प्रस्तुतिलाई नै असर गर्न सक्छ। यो अवधिमा मन शान्त बनाएर राख्नुपर्छ।
  • परीक्षा हलमा प्रवेश गरिसकेपछि प्रश्नपत्रलाई राम्ररी पढ्नु पर्छ। जुन प्रश्नको उत्तर आउँछ त्यसलाई घण्टौं लगाएर लेख्ने होइन। सबै प्रश्नलाई उत्तिकै समय विभाजन गरेर उत्तर लेख्ने बानी बसाल्नुपर्छ। यसले नतिजा राम्रो पार्न सहयोग पुर्‍याउँछ।
  • परीक्षाको समयमा खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ। अत्यधिक मात्रामा खाना खानु हुन्न। जंक फुडबाट पनि टाढा रहनुपर्छ। तैलीय र मसलादार खानेकुरा खानु हुँदैन। यस्ता खानेकुराले पेट खराब पार्नुका साथै दिमागलाई पनि ‘डिस्टर्ब’ गर्छ।
  •  परीक्षाको बेलामा हल्का खानेकुरा खाने, मौसमी तरकारी र फलफूलमा जोड दिने, नरिवल पानी खाने गर्नुपर्छ। खानेकुरा जति हल्का भयो, दिमाग त्यति नै तेजिलो र फुर्तिलो हुन्छ।
  •  परीक्षाको समयमा १० देखि २० मिनेटसम्म आँखा बन्द गरेर ध्यान गर्नुपर्छ। ध्यानमा बस्दा भोलि जुन परीक्षा छ, त्यस विषयवस्तुलाई ‘भिजुअलाइज’ गर्ने कोसिस गर्नुपर्छ। उदाहरणका लागि भोलि विज्ञानको परीक्षा छ भने ध्यानमा बस्दा ‘परीक्षा हलमा बसेको छु, प्रश्न पत्र हेरें, सबै प्रश्न मलाई गर्न आउँछ। सबैको उत्तर लेखें। यो विषयमा राम्रो अंक आउँछ’ भनेर सोच्ने हो। यसले उसको माइन्ड सेटमा सकारात्मक प्रभाव पारी, परीक्षा हलमा उपस्थित हुँदा विद्यार्थीमा आत्मविश्वास जगाउँछ।
  • परीक्षा दिएर घर फर्केपछि कुन कुन प्रश्न सही भए, कुन प्रश्नमा कति अंक आउँछ भनेर अंक जोड्ने काम गर्नु हुँदैन। कुनै प्रश्नको उत्तर गलत लेखेको छ भने पनि त्यसले तनाव दिन्छ। त्यसको असर भोलिको परीक्षालाई पर्छ। त्यसैले अघिल्लो दिनको तनाव लिनेभन्दा भोलिपल्टका लागि पढ्ने काम गर्नु महत्त्वपूर्ण हुन्छ। यस्तो बानीले जीवनकै परीक्षा राम्रो गर्न सक्छ।
  •  परीक्षा भनेको तनाव होइन, यसलाई रमाइलोसँग लिनुपर्छ। वर्षभरि पढेका कुरालाई परीक्षामा प्रस्तुत गर्ने हो। नपढेको कुरा आउँदैन भनेर पटक्कै तनाव लिनु हुँदैन।
  • अरू बेला पढाइमा ध्यान नदिने, परीक्षाको बेलामा रातभरि नसुती पढ्ने बानी राम्रो होइन। एक रात पढेर एउटा परीक्षा राम्रो भएर हुँदैन। राति निद्रा नहुँदा भोलिपल्ट बिरामी हुन सकिन्छ र यसले अन्य परीक्षा बिगार्छ।
  • परीक्षाको समयमा घोकेर कण्ठस्थ पार्नु राम्रो होइन। निश्चित विधि अपनाएर कुनै पनि विषयवस्तुलाई आफ्नो दिमागमा भण्डार गर्नु राम्रो हो। तर सर्सर्ती घोक्नुमा कुनै अर्थ हुँदैन। संसारमा स्मरण गर्ने जम्मा दुईवटा विधि हुन्छन्। एउटा अंकको रूपमा एउटा शब्दको रूपमा। अंक र शब्दलाई दिमागमा कसरी भण्डार गर्ने भन्ने विधि थाहा छ भनेमात्र गर्नु पर्छ। दिमागमा भएका कोषिकाहरू डेन्ड्रोन र डेन्ड्रवाइड्सहरूलाई पनि यस विषयमा अभ्यस्त गराएमात्र निश्चित विधि लगाएर घोकेका विषयमा पछि याद आउन सक्छ।

अभिभावकले ध्यान दिनुपर्ने कुरा

  •  छोराछोरीको परीक्षाको बेलामा उनीहरूलाई ‘मोरल सपोर्ट’ दिनु अति आवश्यक छ। तिमीले अहिलेसम्म यति राम्रो गरिरहेका छौ, अझै राम्रो गर्दै जानुपर्छ भनेर हौसला दिनुपर्छ।
  •  फलानोको छोराछोरीले यति अंक ल्याएको छ, तिमीले पनि यति ल्याउनै पर्छ। हाम्रो इज्जतको सवाल छ। तिमी फेल भए हाम्रो नाक काटिन्छ। तिमीले ए प्लस ल्याएनौ भने फलानोले के भन्लान् ? जस्ता कुरा गरेर बच्चाको दिमागमा अनावश्यक तनाव पार्नु हुँदैन। यसले उनीहरूलाई झन् निरुत्साही गर्ने काम गर्छ।
  • अभिभावकले छोराछोरीको हौसला बढाउन उसले जे जति गरेको छ, त्यसमा साथ दिनुपर्छ। तिमीले जति राम्रोसँग पढेका छौं, परीक्षामा त्यसलाई उत्कृष्ट गर्ने प्रयास गर्नुपर्छ। परीक्षा राम्रो भए उत्कृष्ट नतिजा आउँछ। प्रयास गर्दागर्दै भएन भने पनि हामी साथमै छौं भनेर उत्प्रेरित गर्नुपर्छ।
  •  परीक्षा भनेको दिमागको परीक्षामात्र हो, जीवनकै परीक्षा होइन। तर राम्रो अंक ल्याउँदा राम्रो हुन्छ। त्यसैले नडराइकन परीक्षा देऊ, हामी छौं भनेर सन्तानसँग भावनात्मक रूपमा जोडिन सक्यौं भने यसले उसको इच्छाशक्ति बढाउँछ। पढाइलाई जिम्मेवारी जस्तो गरी उसमा तनाव थोपर्ने काम अभिभावकले गर्नु हुँदैन।
  • घरको वातावरण पनि परीक्षामैत्री बनाइदिनुपर्छ। आफू पनि एक अनुशासित अभिभावकको रूपमा बस्ने प्रयास हुनुपर्छ। आउँदैन भने जानेको सिकाउँछु भनेर आत्मबल बढाउनुपर्छ।

मेमोरी किङ पजियार स्मरण शक्तिमा तीन पटक गिनिज वर्ल्ड रेकर्ड होल्डर हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.