महामारीले सम्बन्धहरू नै मासिदिने त होइन ?

महामारीले सम्बन्धहरू नै मासिदिने त होइन ?

–सृजना खड्का/दिनेश गौतम

मनोविश्लेषक वासु आचार्यलाई हालसालै एउटा फोन आयो।

एकजना युवकले गुनासो पोखे, ‘म न विदेशबाट आएको हुँ, न मलाई कोरोना भएको छ। तैपनि, पसल जाँदा पसले किन तर्किन्छन्? छिमेकी किन तर्किन्छन् ? आफन्त किन तर्किन्छन् ? साथीभाइ किन तर्किन्छन् ? आखिर यो कहिलेसम्म ?’

ती युवाको गुनासोलेकोरोना–कालमा सम्बन्धहरू के भइरहेका छन्, कता गइरहेका छन्, धेरथोर संकेत गर्छ।

सञ्चारकर्मी एवं गायिका नीरा रानाभाटले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा स्ट्याटसले भने सम्बन्धका बारेमा हामीलाई आशावादी बनाउँछ। उनले लेखेकी छिन्– ‘घरबेटी दिदीले तीन मिटर परैबाट स्वागत गर्नुभयो। दिदीसँग चार÷पाँच मिटर दूरी राख्दै म आफ्नो कोठामा आइपुगेँ। तातो पानीले नुहाएँ। घरबेटी दाइले तातो पानीमै लुगा भिजाऊ भन्नुभयो, भिजाएँ। मरिच र कागती हालेको चिया पिएँ।’

उनी र घरधनीबीचको आत्मीय सम्बन्धलाई धेरैले मन पराएर लाइक ठोकेका छन्। अन्य कतिपय घरधनीले डेरावालाको मासिक भाडा मिनाहासमेत गरेका छन्।

डेरावाललाई घरबेटीको उर्र्दीः कोरोना नेगेटिभको प्रमाणपत्र ल्याउनू

तर, शहरका विभिन्न स्थानमा घरधनी र डेरावालको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ। लकडाउनको अवधि लम्बिँदै जाँदा डेरावाल र घरधनीबीच एउटा खाडल उपस्थित भएको छ। गत चैत ११ गतेदेखि सरकारले कोरोनाको संक्रमण जोखिम न्यूनीकरण गर्न मुलुकभर लकडाउन घोषणा गरेपछि यी दुई थरीको सम्बन्धमा एकाएक अविश्वास उब्जिन थालेको हो।

कोरोनाको संक्रमण देखिएका तराईका सीमावर्ती जिल्लाका बासिन्दालाई घरधनीले कोठा छाड्न दबाब दिएका छन्। ‘लकडाउनअघि नै कोठा छाडेर गएका डेरावाललाई कोरोना नेगेटिभ भएको रिपोर्ट नदेखाए कोठाभित्र पस्न नदिने चेतावनी दिएका छन्,’ २४ जना संक्रमित भेटिएको नेपालगञ्जका एक युवाले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. सागर राजभण्डारीले कोरोना भाइरसको आशंकामा परीक्षण गर्न आउनेहरू बढेको बताए। ‘घरधनीले कोरोना परीक्षणको रिपोर्ट ल्याउन दबाब दिने रहेछन्,’डा.राजभण्डारीले भने, ‘कुनै लक्षण नै नभएपनि परीक्षण गरी रिपोर्ट माग्नेहरूको संख्या बढेको छ। हरेक दिन औसतमा झण्डै एक सय व्यक्तिले परीक्षण गराउने गरेका छन्।’

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको भयका कारण घरधनी र डेरावालबीच मनमुटाव भएको छ। घरधनीले व्यावहारिकता नबुझेको डेरावालको भनाइ छ भने डेरावालको गतिविधिका कारण कोरोना भाइरस संक्रमणको डरले जीउज्यानकै खतरा भएको घरधनीको दाबी छ। घरबेटी र डेरावालको विवाद कीर्तिपुर र दाङमा प्रहरीसमक्ष पुगेको थियो।

विदेशबाट आउने सबै कोरोनाको पोको हुँदैनन्। हिजो उनीहरूले कमाएको पैसामा रमाइलो गर्ने हामीले अहिले उनीहरूलाई लखेट्ने र लाञ्छना लगाउने गर्नु हुँदैन। – प्रा. डा. रवि शाक्य, मनोचिकित्सक

गत चैत २६ गते काठमाडौँ, कीर्तिपुरस्थित बहिनीको डेरामा आएकी गर्भवती देवी शर्मालाई पाँच दिनपछि घरबेटीले कोठाबाट निस्कन दबाब दिए। ‘घरबेटीले फोनबाट र भेटेरै ‘तुरुन्तै कोठा छोड, एक दिन पनि कोठामा नबस, पानी दिन सक्दिनँ’ भन्नुभयो,’ देवीका श्रीमान्वैकुण्ठ शर्माको लिखित नोटमा उल्लेख छ। घरधनीले राति ढोकामा बाहिरबाट ताल्चासमेत लगाइदिएका थिए।चैत ३० गते बेलुका चार बजेतिर घरधनी गणेशमान महर्जनले ‘बाहिर निस्कनुस्’ भन्दै बच्चालाई लतार्दै बाहिर निकालेको पीडित वैकुण्ठले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ। ‘श्रीमतीको कोरोना परीक्षण गर्दा भाइरस नेगेटिभ आउँदासमेत बस्न दिइएन,’ शिक्षक वैकुण्ठले उजुरीमा भनेका छन्, ‘घरबेटीले मानमर्यादामा आँच आउने गरी तथानाम गाली–बेइज्जती गर्नुभयो।’

लकडाउनको बेला काठमाडौँ बाहिरबाट आएकाले शर्मा दम्पती क्वारेन्टिनमा बस्नुपर्नेमा त्यसको पालना नगरेको दाबी घरबेटी महर्जनको थियो। वडा कार्यालयले पे्रस विज्ञप्ति जारी गर्दै स्थानीय बासिन्दाको आक्रोश नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएको जनाएको थियो। घरबेटीले दुव्र्यवहार गर्दै डेराबाट निकालेको शर्मा परिवारले बताएको थियो। घरधनी र डेरावालबीचको यो विवाद सार्वजनिक चासोको विषय बन्यो। प्रहरी अधिकृतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुग्यो। डेराबाट निकालिएको शर्माको परिवारलाई त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको जनस्वास्थ्य केन्द्रीय विभागको क्वारेन्टिनमा राखियो।

दाङमा पनि घरबेटी–डेरावालको विवाद प्रहरी चौकीसम्म पुग्यो। कोरोना सर्ने आशंकामा दाङ, घोराहीका एक जना घरधनीले अस्पतालमा कार्यरत नर्सलाई डेराबाट निस्कन दबाब दिए। घोराही उपमहानगरपालिका– १८ का आचार्य थरका व्यक्तिले नर्स सिर्जना खड्कालाई कोठा छोड्न दबाब दिएको स्थानीय सञ्चारमाध्यमले समाचार दिएका थिए। आचार्य घोराही–२ का वडासचिव हुन्। पछि दुवैको सहमतिमा घटना साम्य हुन पुग्यो।

पत्रकारलाई टोल प्रवेशमा निषेध 

केही पत्रकार लकडाउनको अवधिमा पीडित हुन पुगे। कतिपयले धम्की पाए। भाडामा बसेका सञ्चारकर्मीलाई कतिपय घरधनीले डेरा छाड्न दबाब दिए।

कीर्तिपुरको घटनालाई सार्वजनिक गरेका सञ्चारकर्मीलाई सामाजिक सञ्जाल र फोनबाट स्थानीय बासिन्दाले धम्की दिए। नेपाल पत्रकार महासंघले लकडाउनको समयमा सञ्चारकर्मीलाई धम्की दिइएको जनाएको छ। महासंघ अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित समितिले मिडिया अनुगमनका क्रममा चैत १० देखि २८ गते सम्ममा पाँच जना पत्रकारलाई धम्की दिइएको र उनीहरूले दुव्र्यवहार सहनुपरेको जनाएको छ। महासंघको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘भाडामा बसोबास गरिरहेका सञ्चारकर्मीलाई कार्यालयमा र घरमा आउने जाने गर्नुपर्दा घरधनी र छिमेकबाट समेत आपत्ति प्रकट गरेको पाइयो। घरधनीले डेरा छाड्न दबाब दिने गरेको पाइयो। कतिपय ठाउँमा आफू बसेको टोलमै प्रवेश गर्नसमेत नदिएको पत्रकारहरूले जानकारी गराएका छन्।’

लकडाउनमा जसले ज्यान गुमाइन्

लकडाउन जारी थियो। काठमाडौँ, सामाखुसीको आशीर्वाद वृद्धाश्रममा आश्रय लिएकी २८ वर्षीया सरस्वती भुजेलको टाउकोमा चोट भएकाले एकदिन उनी एकाएक बेहोश भइन्। गाडीनचलेकाले आश्रमका केही सहयोगीले सोह्रखुट्टे प्रहरीलाई सम्पर्क गरे। पाँच मिनेटको दूरीमा भएको प्रहरीले घटनास्थल पुग्न एक घण्टा लगायो । ‘लौ न, एकाएक बेहोश हुनुभयो, गाडीमा हालेर अस्पताल लैजानुप¥यो,’ आश्रमका केही सहयोगीले अनुरोध गर्दै भने, ‘कोरोना होइन। टाउकोमा चोट भएकाले अचानक बेहोश हुनुभएको हो।’तर, प्रहरी न घरभित्र छि¥यो, न गाडीमा हालेर लैजान राजी भयो।

सहयोगीले एम्बुलेन्सलाई फोन गरे । तर, एम्बुलेन्सचालकले पनि बिरामीलाई छुन मानेनन्। सहयोगीहरू आफैँले सरस्वतीलाई एम्बुलेन्समा हाले। उपचारका लागि शिक्षण अस्पताललिएर लगे। अस्पताललेसरस्वतीलाई भर्ना लिन मानेन। अस्पताल लगेको केही समयमाउनले ज्यान गुमाइन्।

सडकमा ढल्दा कसैले उठाइदिएनन्

काठमाडौँ, गौरीघाटकी अनामिका बानियाँ केही दिनअघि काम विशेषले घर बाहिर निस्किएकी थिइन्। बाटोमा कुकुरहरू झगडा गरिरहेका थिए। त्यही बाटो हुँदै अघि बढ्ने क्रममा कुकुरले लखेटेर उनी लडिन्। उनको ज्यान सडकमा बजारियो। कुकुरले झम्टिन थाले। वरिपरिका मानिसले केही प्रतिक्रिया जनाएनन्। टुलुटुलु हेरेर बसिरहे। केहीले भने उनलाई सहयोग गर्न खोजेका थिए। तर, उनीहरू अगाडि बढ्नेबित्तिकै पछाडिबाट आवाज सुनिन थाल्यो– ‘कोरोना लागेको रहेछ भने सर्छ, जान्ने भएर छुन कोही पनि नजानू।’

सामाजिक दूरी भनेको खासमा भौतिक दूरी हो। भौतिक दूरी भनेको एउटा व्यक्तिले अर्कोलाई, एउटा समाजलाई अर्कोलाई हेप्ने, चेप्ने, टाढा बनाउने भनेको होइन। समाजबाट टाढा भाग्न खोज्नु ‘सोसल डिस्ट्यान्सिङ’ होइन।’ – डा. सरोज ओझा, मनोचिकित्सक

आफूबाट मानिसहरूतर्किएको देखेर उनले आफ्नी छोरीलाई फोन गरेर बोलाइन्। ‘त्यो दिन मेरी छोरी आएर मलाई नउठाएको भए सडकमै अलपत्र हुने थिएँ,’ अनामिकाले भनिन्, ‘आफूले अरूलाई समस्या पर्दा कति सहयोग गरियो। आफूलाई समस्या पर्दा सडकबाट पेटीमा उठाएर राखिदिनेसम्म कोही भएनन्।’

आजभोलि मानिसहरू एकअर्कासँग तर्केको देख्दा उनलाई दुःख लाग्न थालेको छ, ‘एकदिन पसलमा सामान किन्दा पसलेले ‘पैसा भुँइमा राख्नू’ भनेको रहेछ,’ उनले भनिन्, ‘मैले सुनिनँ। हातमै पैसा दिँदा नराम्रोसँग रिसायो। १० वर्षदेखि रासन  लिँदै आएको त्यो पसलमा त्यही दिनदेखि जान छाडेँ।’

टाढा–टाढा सम्बन्ध

चीनको बेइजिङबाट फर्केका टेकनबहादुर थापाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेर कोरोना जँचाए। डाक्टरले केही समस्या छैन भनेर रिपोर्ट दिएको थियो। उनी त्यही रिपोर्ट खल्तीमा बोकेर हिँडिरहेका थिए। तर, त्यसको केही दिन बित्न नपाउँदै ‘कोरोना भाइरसको संक्रमण बोकेर ल्याएको र घरमै लुकेर बसेको’ भन्दै छिमेकीहरूले वडा कार्यालयमार्फत उनीविरुद्ध उजुरी दिए।

समाजशास्त्री सुरेन्द्र मिश्र कोरोनाले छरछिमेकी र समाजका मानिससँग मात्रै नभई श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई समेत टाढा बनाइदिएको बताउँछन्। ‘यसको रोकथाम नभएसम्म यस्ता दूरी कायम रहन्छन्,’ मिश्र भन्छन्, ‘कुनै जमानामा एड्स लागेको मानिसलाई समाजले घृणा गथ्र्याे। पहिले–पहिले कुष्ठरोगीलाई गाउँ निकाला गरिन्थ्यो। अहिले कोरोनाको कारणले भएका विभेदका पछाडि चेतनाको कमी जिम्मेवार छ।’

आफूलाई सुरक्षित राख्नका लागि अवलम्बन गरिएको सामाजिक दूरीलाई अनर्थका रूपमा लिन नहुने मिश्र बताउँछन्। ‘प्रहरीले पनि लकडाउन उल्लंघन गर्नेलाई समात्नका लागि दुई मिटर टाढाबाट समाउन मिल्ने इन्स्ट्र्युमेन्ट बनाएको छ,’ उनी भन्छन्, ‘त्यो इन्फेक्सनबाट जोगिने उपाय मात्रै हो। यस्ता उपायलाई गलत रूपले अथ्र्याउनु हुँदैन।’

गलत बुझिएकोे‘सामाजिक दूरी’

मनोचिकित्सक डा.सरोज ओझा ‘सामाजिक दूरी’ आफैँमा गलत शब्द भएको बताउँछन्। ‘सामाजिक दूरी भनेको खासमा भौतिक दूरी हो,’ डा. ओझा भन्छन्, ‘‘भौतिक दूरी भनेको एउटा व्यक्तिले अर्कोलाई, एउटा समाजलाई अर्को समाजलाई हेप्ने, चेप्ने, टाढा बनाउने भनेको होइन। समाजबाट टाढा भाग्न खोज्नु ‘सोसल डिस्ट्यान्सिङ’ होइन।’ यो दूरीलाई सामाजिक प्रतिष्ठाको विषयमा अथ्र्याउन नहुने उनी बताउँछन्। ‘विकसित देशमा प्रधानमन्त्री आफैँले कोरोना भयो भनेर औषधि गरेर घर फर्किएका उदाहरण छन्,’ उनी भन्छन्, ‘तर, हाम्रोमा सुरुदेखि नै कोरोना संक्रमित व्यक्तिको नाम लुकाउने चलन बन्यो।’

यस्ता विषयलाई मानिसको चेतनाको स्तरले निर्धारण गर्ने डा. ओझा बताउँछन्। ‘भौतिक दूरीलेकोरोनाबाट मात्र होइन, अरू रोगबाट पनि बचाउँछ,’ उनी भन्छन्, ‘यसरी बुझ्यो भने यसले सकारात्मक असर गर्छ। नभए समाजलाई यसले नकारात्मक दिशातिर डो¥याउँछ।’

मनोविद् करुणा कुँवर मानिस सामाजिक प्राणी भएकाले उसका लागि सामाजिक परिवेश अत्यन्तै महŒवपूर्ण हुने बताउँछिन्। ‘तर, मानिसले जहिले पनि पहिला आफू बाँच्नुपर्छ भन्नेकुरा सिकेर आएको हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले हामी पहिलो प्राथमिकता सधैँ आफूलाई दिन्छाँै। त्यही कारण अहिले आफू बाँच्नका लागि मानिसहरू सामाजिक दूरी कायम गरेर बसिरहेका छन्। एकअर्कासँग तर्किरहेका छन्।’

आफूलाई उपयुक्त हुने वर्ग र समाज मानिस आफैँले निर्माण गर्नेकुँवर बताउँछिन्। भन्छिन्, ‘हुर्किंदै गर्दा मानिसले राम्रो, नराम्रो, जात, धर्म सिक्दै जान्छ। वातावरणले जे सिकाउँछ, मान्छेले सिक्ने त्यही हो। अहिले कोरोनाको वातावरणले मानिसलाई एकअर्काबाट टाढा बनाइरहेको छ।’कोरोनाको कारण मानिसहरूएकअर्कासँग डराउने र एकअर्कालाई उपेक्षा गर्ने प्रवृत्तिलेधेरैमा मानसिक समस्या आउन सक्ने उनले देखेकी छिन्। ‘अहिले एकले अर्कालाई देख्नेबित्तिकै मानिसहरूझसंग भएर पछाडि सर्ने गरेका छन्,’ उनी भन्छिन्, ‘यस्तो कुराले मानिसलाई पछिसम्म असर गर्छ। यस्तो बेलामा आफूले अरूलाई गर्ने व्यवहारमा धेरै ध्यान दिनुपर्छ। अरूलाई लाञ्छना लगाउनुपूर्व त्यसलेआफू र आफूवरिपरि भएकालाई पनि क्षति गर्छ भन्नेकुरा बुझ्नुपर्छ।’

अहिले मानिसहरूले एकअर्कालाई गरिरहेको व्यवहार मूर्खतापूर्ण रहेको मनोविद् कुँवर बताउँछिन्। ‘कसैलाई डेराबाट निकाल्दैमा, अपमानजनक व्यवहार गर्दैमा कोरोनाबाट बचिने होइन,’ उनी भन्छिन्, ‘कतिपय अवस्थामा कोरोनाले भन्दा बढी क्षति मानिसको व्यवहारले पु¥याउँछ।’

मनोविश्लेषक आचार्य मानिसहरू कुन संस्कृति, विचार र बौद्धिक क्षमतामा हुर्किएका छन्, त्यहीअनुसार समाज ढल्किने बताउँछन्। ‘दुनियाँमा सबै कुरा बुझाइमा भर पर्छ,’ उनी भन्छन्। सामाजिक दूरीलाई नकारात्मकतरिकाले बुझ्दा भविष्यमा पोस्ट ट्रोमाटिक स्टे«स डिसअर्डर (पीटीएसडी)जस्ता मानसिक रोगहुन सक्ने उनी बताउँछन्। ‘कोरोना महामारी साम्य भइसकेपछि पनि त्यसले व्यक्तिको व्यवहारमा असर गरिरहेको हुन्छ,’ उनी भन्छन्, ‘त्यस्ता व्यक्तिलाई सामाजिक रूपमा घुलमिल हुन गाह्रो हुन्छ। उनीहरूलेअहिलेजस्तै पछि पनि एकअर्कालाई हेयको दृष्टिले हेर्ने सम्भावना रहन्छ।’


‘दूरी कायम गरेर पनि सामाजिक जीवन जिउन सकिन्छ’

प्रा. डा. रवि शाक्य, मनोचिकित्सक

कोरोनाको कारणले अहिले एकअर्काप्रति छुवाछुतपूर्ण व्यवहार गर्न थालिएको छ। रोग लागेको छ कि भनेर शंकाको दृष्टिले हेरेर मानिससँग सम्पर्क गर्न नखोज्नेहरू धेरै छन्। समाजिक दूरीको मतलबसामाजिक सम्बन्धहरू राख्नै हुँदैन भन्ने होइन।यसको अर्थ मान्छेसँग गफै नगर्नू, मतलबै नगर्नू, एकअर्कासँग आत्मीयता घटाउनू भनेको होइन। यसो गर्न थाल्यो भने कोरोना सकिएपछि पनि त्यसले सम्बन्धमा असर गर्न सक्छ। सामाजिक दूरी भनेको भौतिक दूरी हो। त्यसैले यसलाई ‘समाजिक दूरी’को सट्टामा ‘व्यक्तिगत दूरी’ भनेको भए हुन्थ्यो।

सामाजिक दूरीमा रहेर पनि सामाजिक सम्बन्धहरूलाई कायम राख्न सकिन्छ। दूरी कायम गरेर पनि सामाजिक जीवन जिउन मिल्छ भनेर धेरैलाई थाहा छैन। पुरानो सभ्यतालाई हेर्ने हो भने हामीले योभन्दा अघि पनि व्यक्तिगतदूरी कायम गरेर पनि सामाजिक सम्बन्ध कायम राखेका थियौँ।हात नमिलाई नमस्कार गर्दा पनि हाम्रो सामाजिक सम्बन्ध चलेकै थियो। बाहिरबाट आउँदा भित्र छिर्ने बेलामा जुत्ता फुकाल्नुपर्छ भन्ने हाम्रो मान्यता छ। मलामी गएर फर्किएपछि नुहाएर मात्र घरभित्र छिनुपर्छ भन्ने मान्यता पनि पहिलाबाटै थियो। यो हुँदाहुँदै पनि हाम्रो सामाजिक जीवन कम भएको थिएन। यस्ता कुरालाई सकारात्मक रूपमा बुझियो भने यसले नकारात्मक असर गर्दैन। किनभने, क्वारेन्टिन गर्ने, विदेशबाट आएपछि १४ दिनसम्म घरभित्र नछिराउने चलन काठमाडौँमा पहिलादेखि नै थियो। प्रमाणका रूपमा असनमा क्वारेन्टिन घर भनेर अहिलेसम्म छ। मानिसहरू विदेशबाट आएपछि १४ दिनसम्म त्यहाँ बसेपछि मात्र घर जान्थे। संकीर्ण स्वभाव भए मात्रै यस्तो अवस्थामा समस्या आउँछ। सामाजिक दूरी भनेको रोगबाट बचेर सबैको भलाइ होस् भन्ने हो। रोगी पनि सुरक्षित होस्, आफू पनि सुरक्षित भइयोस् भन्ने हो।

रोगी भएको थाहा पाउनेबित्तिकै अलग्याउने, हेप्ने, भेदभाव गर्ने, अपराधीलाई जस्तो व्यवहार गर्नाले धेरै समस्या ल्याउँछ। कसैलाई मानसिक रोग लाग्यो भने रोगले कम मात्र क्षति गर्छ। त्योभन्दा हजारौँ गुणा समाजले लगाएको लाञ्छनाले पीडा दिन्छ। भाडामा बसेकालाई निकाल्न खोज्ने, कोरोना लागेको थाहा पाउनेबित्तिकै अर्कै ग्रहबाट आएको जस्तो व्यवहार गर्ने घटना अत्यन्तै अव्यावहारिक काम हुन्। अहिले संसारभरि कोरोनाको टेस्ट गर्ने रिसोर्स टन्न छैन। यस्तो अभावमा त्यस्तो व्यवहार गरिनु हुँदैन। बाहिरबाट आएका सबैलाई रोगी भनेर वर्गीकरण गर्दा त्यसले उनीहरूको मनस्थितिमा एकदमै नराम्रो असर पार्छ। विदेशबाट आउने सबै कोरोनाको पोको हुँदैनन्। हिजो उनीहरूले कमाएको पैसामा रमाइलो गर्ने हामीले अहिले उनीहरूलाई लखेट्ने र लाञ्छना लगाउने गर्नुहुँदैन। यसले उनीहरूलाई मानसिक रूपमा मर्माहत बनाउँछ। यस्तो बेलामा भेदभाव एकदमै खतरनाक हुन्छ। त्यसैले यो बेलामा सक्छौँ, एकअर्कालाई सहयोग गरौँ, सक्दैनौँ अरूलाई क्षति हुने खालको व्यवहार पनि नगरौँ।


‘पारिवारिक र सामाजिक सम्बन्ध बलिया हुनेछन्’

मीना उप्रेती, समाजशास्त्री

हिजोका दिनमा मानिसहरू एकदमै भर्चुअल भइसकेका थिए। हिजो हामीलाई आफ्नो घरभित्र के भइरहेको छ, थाहा हुँदैनथ्यो। तर, वासिङ्टन र लन्डनमा के भइरहेको छ, थाहा हुन्थ्यो। अब सबैले आफ्नो देश, समाज, परिवार र आफ्ना मानिस कहाँ छन् भनेर सोध्न थालेका छन्, खोज्न थालेका छन्। मानिस सामाजिक र व्यक्तिगत हुन थालेका छन्। अबका दिनमा चिनेको, जानेको, विश्वास गरेको, माया गरेको सम्बन्ध बलियो हुन्छ। हिजो देखाउनका लागि बनाइएका सम्बन्धहरूमा अबका दिनमा कटौती हुन्छन्।

आर्थिक विकासको पछि दौडिने समाजलाई अहिलेको परिवेशले परिवर्तन गर्नेछ। पुँजीवादले सिर्जना गरेका कतिपय मान्यता अहिले भत्किएका छन्। व्यक्तिगत स्वतन्त्रताभन्दा पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुनुपर्छ भन्नेकुरा अहिलेको समयले सिकाएको छ। पुँजीवाद र ग्लोबलाइजेसनमा परिवर्तन आउनु भनेकै सामाजिक संरचनामा परिवर्तन आउनु हो। हाम्रोजस्तो ठाँउमा कोरोनाकै कारणले कोही भोकै मर्दैनन्। काठमाडौँबाट हिँडेर दूरदराजमा जानेलाई बाटोमा कसै न कसैले चाउचाउ, बिस्कुट खुवाएकै हुन्छन्। तर, एउटै रेस्टुरेन्टमा खाना खाँदा पनि छुट्टाछुट्टै पैसा तिर्ने पश्चिमा समाजलाई कोरोनाले गतिलै पाठ पढाएको छ।

अहिले हाम्रोमा देखिएको सामाजिक दूरी रोगको कारणले निर्माण भएको हो। यो समयले हामीलाई अनुशासित र सभ्य बनाउँछ। भोलिका दिनमा पारिवारिक र सामाजिक सम्बन्धहरूबलिया हुँदै जान्छन्। अहिले मान्छेदेखि मान्छे डराउनुपर्ने अवस्था पनि आउने रहेछ भनेर धेरैले सिकेका छन्। त्यसैले हिजो हामीले गरेका अभ्यासमा हामी पुनः सोच्छौँ। खाने, बस्ने र सोच्ने कुरामा परिवर्तन आउँछ।सामाजिक सम्बन्ध र सांस्कृतिक पाटो भनेको आर्थिक पाटोभन्दा बलिया हुन्छन्। त्यसैले अहिलेको अवस्थामा ग्लोबल भिलेज भन्नुभन्दा अब मेरा जनता, मेरो समाज, मेरो परिवार भन्नुपर्ने बेला आएको छ। समाज परिवर्तनका लागि कोरोना हाम्रोजस्तो देशका लागि अवसर हो। मलेसिया, युरोप, अमेरिका बनाउन गएका मानिस अब आफ्नै देश बनाउन आउँछन्। उनीहरूलाई राम्रो नीति ल्याएर काम लगाउन सकियो भने धेरै राम्रो हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.