चीनबाट नेपालले सिक्नुपर्ने पाठ लकडाउन नै अन्तिम अस्त्र

चीनबाट नेपालले सिक्नुपर्ने पाठ लकडाउन नै अन्तिम अस्त्र

प्रा. डा. राजीवकुमार झा चीनको सियानमा बस्न थालेको २२ वर्ष भयो। सियान विश्वविद्यालयका अनुसन्धाता झाले कोरोना भाइरसको संक्रमण रोकथाममा चीनले गरेका प्रयासबारे ‘अन्नपूर्ण सम्पूर्ण’लाई बताएका छन्। 


तीन महिनापछि ‘कोभिड–१९’ को मुहान मानिने वुहान यतिखेर सामान्य जीवनमा फर्किसकेको छ। मेट्रो रेल, बस चल्न थालेका छन्। मानिसहरू सामान्य अवस्थामा फर्केका छन्। कलकारखाना, होटल, रेस्टुरेन्ट सुचारु भएका छन्। केन्द्र तथा प्रान्तीय सरकारका अनुसन्धान कोषहरूलाई ‘कोरोना अनुसन्धान कोष’ मा परिणत गरेर अनुसन्धाता र वैज्ञानिकलाई अनुदान दिन थालिएको छ। यसबाट आगामी दिनमा चिनियाँहरूले कोरोनाको विषयमा अनुसन्धानलाई कसरी अघि बढाउलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ। चीनको मोडलबाट नेपालले पनि केही सिक्न सक्छ। 

तीन हजारभन्दा बढी नागरिकको ज्यान लिएको कोरोना भाइरस घरेलु रूपमा नियन्त्रणमा लिएपछि चीन यतिखेर संसारलाई सहयोग गर्दै छ। वुहानमा कोरोना संक्रमण नियन्त्रणमा आइसकेको छ भने अमेरिका अहिले नयाँ ‘एपिसेन्टर’ बनेको छ। स्पेन र इटाली चरम संकटमा छन्। छिमेकी देश भारतमा समेत कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। 

पछिल्ला दिन चीनमा नयाँ संक्रमित थपिएका छैनन्। गत शुक्रबार त एक जनाको पनि मृत्यु भएन। 

वसन्त पर्वमा भाइरस विष्फोट 

सन् २०१९ बिदा हुँदै थियो। पश्चिमाहरू नयाँ वर्षको स्वागतको तयारीमा थिए। कोही क्रिसमस मनाउँदै थिए, कोही लामो बिदामा विदेश घुम्ने तयारीमा थिए। डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट खबर आयो– ‘निमोनियाको लक्षणसँग मिल्दोजुल्दो खालको नयाँ रोग देखिएको छ।’ 

डिसेम्बर २६ र २७ मा वुहान शहरमा २७ जना यस्ता बिरामी आए। त्यहाँको स्वास्थ्य विभागले सार्वजनिक सूचना नै दियो– ‘सार्सको लक्षणसँग मिल्दोजुल्दो खालका बिरामी आए। तीमध्ये दुईचार जनाबाहेक अरू सबै निको भएर घर फर्के।’ एक हप्तापछि त्यस्ता बिरामीको संख्या ४४ पुग्यो। अर्थात्, सन् २०२० जनवरीको पहिलो साता झण्डै दोब्बर बिरामी सोही प्रकृतिका देखिए। जनवरी २० सम्म कुनै नयाँ बिरामी देखिएनन्। त्यसलगत्तै खरमा आगो लागेजस्तै वुहान र त्यसबाहिर पनि यो भाइरस फैलिँदै गयो। 

चीनको मोडल अपनाएको भए अरू देशमा कोरोनाले यो रूप लिने थिएन। असावधानी र अराकजताका कारण स्पेन, इटाली र अहिले अमेरिकामा यो अवस्था आयो। मानिस–मानिस बीचको सम्पर्कको कडी तोड्न चीनले गरेको लकडाउन महत्त्वपूर्ण थियो। 

चिनियाँ नागरिक वसन्त पर्वलाई धुमधामसँग मनाउने तयारीमा थिए। त्यसैले धेरै स्वदेश र विदेशबाट घर फर्कंदै थिए। चीनको द्रुतगतिको मेट्रो रेल भरिभराउ थियो। हवाईजहाजका सबै सिट भरिएका थिए। नियमितभन्दा धेरै उडान भइरहेका थिए। विश्वविद्यालय, विद्यालय बन्द थिए। मानिसको चाप बढ्ने र आवतजावत पनि उस्तै हुने समयमा वुहानमा कोरोना भाइरसको विष्फोट भयो। जनवरी २३ मा देखिएको महामारीको धक्काले चिनियाँको नयाँ वर्षलाई समेत अर्को साल सारिदियो। उता पश्चिमाहरू भने कोरोनालाई सुरुमा वुहान र पछि ‘चिनियाँ भाइरस’को नाम दिन थालेका थिए। आज त्यही भाइरस संसारका दुई सयभन्दा बढी देशमा पुगेको छ। अहिलेसम्म ६९ हजारभन्दा बढी नागरिकको ज्यान लिइसकेको छ। संसारका १२ लाखभन्दा बढी मानिस यसबाट संक्रमित छन्।  
 
चिनियाँ सरकारले यो भाइरसको फैलावटको दर निकै खतरनाक हुने आकलन गर्‍यो र वुहानलाई एपिसेन्टर मानेर वुहान, सियान, बेइजिङ मात्रै नभई धेरै प्रान्तमा लकडाउन गर्ने घोषणा गर्‍यो। यो निर्णयलाई कतिपयले अलोकप्रिय भने पनि बाध्यकारी निर्णय थियो। नेपालको सिमाना जोडिएको तिब्बतमा समेत एक बिरामी देखिएका थिए। त्यसपछि त केही देशले दूतावासका कर्मचारी लैजान चार्टर उडानसमेत गरे। डिसेम्बर २७ मा सिफुड बजारबाट फैलिएको कोरोनालाई जनवरीको तेस्रो सातामा मात्रै विश्व स्वास्थ्य संगठनले ‘कोभिड १९’ नाम दिएको थियो।  

चीनले कसरी सफलता पायो ? 

चीनकै मोडल अपनाएको भए अरू देशमा कोरोनाले अहिलेको यो रूप लिने थिएन। असावधानी र अराकजताका कारण स्पेन, इटाली र अहिले अमेरिकामा यो अवस्था आयो। मानिस–मानिस बीचको सम्पर्कको कडी तोड्न चीनले गरेको प्रयास नै सबैभन्दा महत्वपूर्ण विषय थियो। लकडाउन नै त्यसको वास्तविक कारण बन्यो। रातारात अस्पताल बने, हजारौँ स्वास्थ्यकर्मी वुहान ओरालियो। घर–घर गएर स्वास्थ्यकर्मीले नमुना परीक्षण गर्दै अस्पताल पठाउन थाले। मानिस शंकै नलाग्दा पनि परीक्षण गर्न आए। घरमा बस्नेहरू पनि अनुशासित भएर ‘सेल्फ क्वारेन्टिन’मा बसे। यस्ता धेरै कारण छन्, जसले चीनलाई यति चाँडै सफल बनायो।

चीनको प्रविधि, जनशक्ति र सार्समा बटुलेको अनुभवले पनि उनीहरू ढुक्क थिए। महामारीसँग जुध्ने नेतृत्वको दृढ इच्छाशक्ति, उपलब्ध भौतिक सामग्री र नागरिकको समर्थन नै सफलताको कारण हो। 

चीनको वुहानमा लकडाउन गर्दा पश्चिमाहरूले मानव अधिकारको विषय उठाएका थिए। वास्तवमा त्यो त मानव अधिकारभन्दा पनि जनताको जीवनरक्षा गर्न लिइएको कदम थियो। नेपालीमा पनि बडो वैज्ञानिक र पुरानो भनाइ छ नि, ‘महामारीमा ज्यान जोगाउनू’ भन्ने। चीनमा एक महिनाभन्दा बढी लकडाउन भयो। त्यसैले त थोरै क्षतिमै रोगमाथि विजय प्राप्त गर्न सक्यो। कडाइका साथ लकडाउन नगरेको भए आज के हालत हुन्थ्यो होला चीनको ? अमेरिकाले पनि यही गर्नुपथ्र्याे। खुला समाजको परिचायक बन्न खोजेर मात्र हुँदैन, जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो। 

अहिले युरोपेली देशका नागरिकको हालत दयनीय बन्दै गएको देखिन्छ। महामारी दिनदिनै फैलिँदो छ तर नियन्त्रण गर्ने भेउ नै पाइरहेका छैनन्। डाक्टर, नर्सले ‘हार खाने हुन् कि’ भन्ने खतरा देखिँदै छ। अब चीनले नै यस्तो अवस्थाको नियन्त्रणका लागि सहयोग गर्नुपर्छ। एयर चाइनाको जहाजलाई स्वागत गर्न सर्बियाका राष्ट्रपति विमानस्थल नै पुग्नुपरेको दृश्य टेलिभिजनमा देखियो। छिमेकीले साथ दिएपछि सर्बियाका राष्ट्रपतिले भावुक शैलीमा लेखेको पत्र विश्वभरका सञ्चारमाध्यममा भाइरल भयो। 

लकडाउन नै अन्तिम अस्त्र 

नेपालमा लकडाउनभन्दा प्रभावकारी उपाय अर्काे केही छैन। सरकारले भनेको मानौँ, लकडाउनमा घरमै बसौं, सामाजिक दूरी कायम गरौँ, भीडभाडबाट जोगिआँै। योभन्दा राम्रो उपाय अरू केही छैन। कम्तीमा पनि २८ दिन लकडाउन गर्नुपर्छ। नेपालमा संक्रमणको ठूलो संख्या नदेखिए पनि खतराको घण्टी भने बजिसकेको छ। चीन वा भारतको मोडल अवलम्बन गरेर नागरिक आफैँ सचेत भएर समाज र देशलाई जोगाउनुपर्छ।  

सरकारले केही अस्पताललाई तत्कालै ‘डेडिकेटेड हस्पिटल’ घोषणा गर्नुपर्छ। सरकारले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालाई डेडिकेटेड अस्पताल बनाएको छ। काठमाडौँ, नयाँ बानेश्वरको सिभिल अस्पताललाई पनि डेडिकेटेड अस्पताल बनाएको भए ठीक हुन्थ्यो। सिभिल अस्पतालमा बढीमा सय बेड छुट्याएर डेडिकेटेड अस्पतालका रूपमा घोषणा गरियोस् भन्ने सुझाव छ, मेरो। यो अस्पताल सफा र खुल्ला छ। चिनियाँको सहयोगमा बनेको हो। भोलि नेपालमा महामारी फैलियो र चिनियाँ सहयोग नै चाहियो भने उनीहरूलाई आफ्नो मापदण्डअनुसार बनाएको अस्पतालमा काम गर्न सजिलो हुनेछ। 

सबैभन्दा महत्त्वपूर्ण विषय भनेको हामी महामारीसँग जुध्न सक्छौँ भन्ने आत्मविश्वास जरुरी छ। डाक्टर, नर्सलाई पनि मानसिक रूपमा प्रशिक्षित गर्न आवश्यक छ। उनीहरूलाई साधन–स्रोतसम्पन्न बनाउनुपर्छ। बिरामीको उपचारमा लाग्नेलाई व्यक्तिगत सुरक्षादेखि सबै खालको प्रबन्ध गर्नुपर्छ। तर, सबैलाई एन ९५ मास्क नै चाहिन्छ भन्ने खालका प्रचार नगरौँ।

संक्रमणको आशंका लागेकालाई क्वारेन्टिन वा आइसोलेसनमा राख्नुपर्छ। नेपालमा यसको सुरुवात भइसकेको छ। यस्तो बेलामा कोही कसैले पनि नकारात्मक प्रचार गर्नुभएन। चीनमा जस्तै नागरिकको मनोबल बढाउने, मानसिक रूपमा सकारात्मक प्रभाव पार्ने खालको सूचना दिनु जरुरी छ। नागरिकको दैनिक आवश्यकता परिपूर्तिका लागि समेत विशेष ध्यान दिनुपर्छ। 

क्वारेन्टिनमा बसेका कोही पनि डराउनु पर्दैन। तर, हाम्रोमा एक खालको त्रास पैदा गरिएको छ। मनोवैज्ञानिक त्रास नै सबैभन्दा घातक विषय हो। एक सय जनामा कोरोना लागि नै हाल्यो भने पनि ८० प्रतिशत आफैँ निको हुन्छन्। मृत्यु हुनेको संख्या त तीन प्रतिशत मात्रै रहेको देखिएको छ। संक्रमित भएका व्यक्तिले अरूलाई नसारून् भनेर ध्यान दिनु जरुरी छ। रोगसँग लड्ने प्रतिरोधी क्षमता कम भएका मानिसलाई यसले सबैभन्दा बढी प्रभाव पारेको पाइएको छ। ‘मलाई रोगले होइन, रोगलाई मैले जित्छु’ भन्ने मनोबल उच्च भएका जोसुकै नागरिक १४ दिनमा निको भइहाल्छन्।

कोरोना समूहको आठौँ संस्करणको भाइरस भएकाले कोभिड–१९ सँग जुध्न आन्तरिक रूपमा मानव तयार नभएको पनि हुन सक्छ। किनकि, यो जनावर र मानिसमा भएका कमजोर–कमजोर भाइरस मिलेर बनेको नयाँ ठिमाहा प्रजातिको भाइरस हो। त्यसकारण वृद्धवृद्धा, दीर्घरोगी र रोगप्रतिरोधी क्षमता कम भएका नागरिकलाई यो भाइरसले छिटो आक्रमण गर्छ। उनीहरूका लागि विशेष हेरचाह जरुरी हुन्छ। 

हाम्रो बसोबास पनि एकाध शहरबाहेक अन्यत्र फरक–फरक नै छ। सामाजिक बनोटले नै सामाजिक दूरी कायम गरेको छ। यस्तो अवस्थामा एक जना संक्रमितले धेरैलाई सार्ने सम्भावना कम हुन्छ। 

चिनियाँ सरकारले जनतामा कुनै प्रकारको डरको अनुभव नै हुन दिएन। यो सामान्य घटना हो भनेर अभ्यस्त बनाएको कारण रोग नियन्त्रण गर्न सफल भयो। हामीमा आजसम्म त्यस्तो देखिएको छैन। विदेशबाट आएका मानिसलाई घृणा गर्ने संस्कार विकसित भएको देखिएको छ। यस्तो संस्कार शतप्रतिशत गलत हो। विदेशबाट आएका, संक्रमति भएकालाई माया गरौँ, सकारात्मक सन्देश प्रवाह गरौँ, उनीहरूलाई आत्मीय व्यवहार गरौँ। 

लकडाउनको समयमा नेपालमा नागरिकलाई दैनिक उपभोग्य वस्तु उपलब्धतामा समस्या देखिएको छ। तर, चीनमा त्यस्ता सामग्री उपलब्ध गराउन विद्युतीय प्रणालीको सहारा लिइयो। चिनियाँले मोबाइल एप नै बनाए। त्यसलाई सबैले आफ्नो मोबाइलमा राखे। सबैले आ–आफ्नो विवरण त्यसमा भरे। दैनिक रूपमा एपमा अपडेट नभए कोही कसैलाई पनि बाहिर जान दिइएन। हाम्रोमा त्यस्तो सम्भव नभए पनि सहज व्यवस्थापन गर्न के कस्ता उपाय अवलम्बन गर्नुपर्छ, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ। अनि, पछिल्लो पटक विभिन्न प्रभावित देशमा नै जहाज गएका छन्। तिनीलाई पनि नेपाल आएपछि क्वारेन्टिनमा राख्नुपर्छ। जस्तो कि, चीनबाट विद्यार्थी ल्याएको जहाजलाई हामीले १४ दिन राख्यौँ। अहिले पनि उद्धार गरिएका नागरिकलाई विदेश छोडेर आउने नेपाली जहाजलाई त्यसै गरी राख्नुपर्छ। 

चीनमा हप्तामा एक जना परिवारका सदस्यलाई घरबाहिर जान पाउने व्यवस्था गरिएको थियो। सोही कारण दैनिक उपभोग्य वस्तु खरिद गर्न कुनै समस्या भएन। चीनमा मिडियाले पनि त्रास फैलाउनेभन्दा जनतालाई सजग गराउने समाचार नै बढी दिए। मनोवैज्ञानिक रूपमा कुनै समस्या भए के गर्ने भन्ने सूचना पनि त्यसमा उपलब्ध हुन्थ्यो। 

नेपालमा समस्या थप जटिल बन्दै गयो भने चीनबाट हामीले पूर्ण सहयोग प्राप्त गर्छौं। यसमा कुनै दुविधा नराख्दा हुन्छ। इटाली, स्पेन पुगेका चिनियाँ डाक्टर र अन्य प्राविधिक जनशक्ति नेपाल सरकारले अनुरोध गरेको खण्डमा पाँच घण्टामै नेपाल आइपुग्छ। मैले नै पढाइरहेको सियान विश्वविद्यालयको टिम नै आवश्यक परेको खण्डमा नेपाल आउन तयार छ। किनकि, छिमेकी हुनुको नाताले पनि चिनियाँहरू नेपाललाई माया गर्छन्। नेपालप्रति उनीहरूको सद्भाव छ। 

(प्रा.डा. झासँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.