कोरोनाको आशंकामा जो उपचार नपाएर बिते

कोरोनाको आशंकामा जो उपचार नपाएर बिते

दुबईबाट चैत ६ मा नेपाल फर्किएका बाबुराम थापाको निमोनियाले गर्दा मृत्यु भयो । अस्पतालको लापर्बाहीका कारण उनको मृत्यु भएको र कोरोनाको आशंकामा उनीसँग अमानवीय व्यवहार गरिएको भन्दै आफन्त आक्रोशित छन् । बाबुरामले सामान्य बिरामीले पाउने उपचारसमेत पाएनन् । 


बुटवल : चैत ६ मा पाल्पा रिब्दीकोट, कुसुमखोलाका ३३ वर्षीय बाबुराम थापा काठमाडौँ, त्रिभुवन विमानस्थलमा ओर्लिए । विश्वभर कोरोना फैलिरहँदा यूएई, दुबईमा रहेका उनी बिदामा परिवार भेट्न घर आएका थिए । चैत ७ मा उनी रूपन्देहीको सैनामैनास्थित सिसैडाँडा पुगे । जहाँ उनका दुई नाबालक छोरा र श्रीमती डेरा गरेर बस्छन् ।

बाबा घर फर्किएपछि छोराहरू दंग थिए । बाबुरामलाई घर आएपछि ज्वरो आयो । पाँच वर्षअघि दुबई पुगेका उनी त्यहाँ ट्याक्सी चलाउँथे । त्रिभुवन विमानस्थलमा विमानबाट झर्दा नै उनमा सामान्य ज्वरो थियो । ज्वरोकै कारण उनी विमानस्थलमा आधा घण्टा रोकिनुपर्‍यो । चेकजाँच गर्दा उच्च ज्वरो देखिएपछि विमानस्थलका स्वास्थ्यकर्मीले आधा घण्टा रोकेर फेरि ज्वरो चेक गरेका थिए । ‘विमानको एसीले गर्दा तापक्रम बढेको होला,’ विमानस्थलमा ज्वरो जाँच्ने कर्मचारीले भनेका थिए, ‘घर गएर थपक्क बस्नू । ज्वरो आए अस्पताल जानू ।’

सैनामैना आएपछि पनि उनलाई ज्वरोले छाडेन । मुर्गियाको मेडिकलमा चेकजाँच गरे । टाइफाइड भएको भन्दै औषधि खाए । ज्वरो अझै रोकिएन । ज्यानमा थकान पनि थियो । फेरि सरकारी हेल्थपोस्ट पुगे । त्यहाँबाट ‘आराम गर्नुस्’ भन्ने सुझाव आयो । दुई दिन घरमै बसे । मनले मानेन । श्रीमती रीतासँग भने, ‘कोरोना पो हो कि, एक पटक ढुक्क भएर आउँछु ।’ रीता सँगै आउन खोजिन् । ‘तिम्लाई भित्र बस्न दिन्नन्’ भन्दै घरमै रोके । अटोरिक्सा चढेर लकडाउन छिचोल्दै प्रादेशिक अस्पताल बुटवल पुगे ।

बाबुराममा यसअघि कुनै रोग थिएन । एक्लै आफूलाई जँचाउन अस्पताल पुगेका उनी तीन दिनपछि सधैँका लागि संसारबाट बिदा भए । बुटवलस्थित धागो कारखानाको आइसोलेसन अस्पतालमा भर्ना भएका उनले उपचार पाएनन् । डाक्टरले अस्पताल त पठाए, तर उपचार नै गरेनन् । श्रीमान् आउने आशमा बसेकी रीताले चैत १६ मा उनको मृत्युको खबर पाइन् । उनलाई विश्वासै लागेन । ‘कुनै रोगका कारण मेरो श्रीमान्को ज्यान गएको होइन, अस्पतालको लापर्बाहीका कारण गएको हो,’ उनले भनिन्, ‘अस्पतालले उपचार नगरेका कारण उहाँको मृत्यु भयो । मरेपछि मात्रै चेकजाँच गर्न थालियो । गएकै दिनदेखि चेकजाँच गरेको भए उहाँ पक्कै बाँच्नुहुन्थ्यो ।’ 

अस्पताल गएपछि बाबुराम र उनको फोनमा बारम्बार कुराकानी भइरहेको थियो । चैत १६ गते, आइतबार बिहानभर बाबुरामको फोन उठेन । रीता र उनकी आमाले निरन्तर फोन गरिरहेका थिए । ‘९ बजेतिर मात्र फोन उठ्यो,’ रीताले भनिन्, ‘तर, उहाँ बोल्नुभएन । अह...अह...मात्रै आवाज सुनियो ।’ एकैछिनमा अस्पतालबाट  फोन गयो । मोबाइलमा चार्ज सकिएकाले बोली सुनिएन । ‘डराउनुपर्दैन’ भनियो । ‘मैले ‘फोन दिनुस्, म कुरा गर्छु’ भनेँ,’ उनले भनिन्, ‘तर, फोन काटियो ।’ १० बजेतिर फेरि फोन आयो– ‘बिरामीलाई काठमाडौँ लैजानुपर्ने भयो, दुईचार जना मानिस लिएर आउनुस् ।’ साढे ११ बजेतिर उनी अस्पताल पुगिन्, तर श्रीमान्सँग भेट्न पाइनन् । १ बजेतिर ‘तपाईंको श्रीमान्लाई बचाउन सकिएन’ भन्दै चिकित्सक बाहिर आए । 
आईसीयू नलग्दै मृत्यु

अस्पतालमा खटिएका डा. सुदर्शन थापाले स्थिर बिरामीमा एक्कासि श्वासप्रश्वासको समस्या देखिएकाले मृत्यु भएको बताए । ‘उनलाई आईसीयूमा लैजाने तयारी हुँदाहुँदै मृत्यु भयो,’ उनले भने । उनमा निमोनियाजस्तै रोग देखिएको चिकित्सकको भनाइ छ । जसले श्वासनलीको तल्लो भागमा समस्या देखाएको थियो । श्वासमा समस्या देखिएपछि भेन्टिलेटर आवश्यक हुन्छ । कोरोना अस्पतालमा त्यो सुविधा छैन । प्रादेशिक अस्पतालमा लगिएन । कोरोना आशंका भन्दै भेन्टिलेटरमा नलैजाँदा बाबुरामले ज्यान गुमाए । प्रादेशिक अस्पतालमा दुई भेन्टिलेटर र सात आईसीयू छन् ।

चैत १३ गते अस्पताल पुगेका उनको मृत्यु भएको दिन मात्रै स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । दुई दिनपछि रिपोर्ट नेगेटिभ आयो । तर, कोरोनाको आशंकामा उनीसँग अमानवीय व्यवहार गरिएको भन्दै आफन्तले असन्तुष्टि जनाए । उपकरण नै नभएको अस्पतालमा बिरामी राखेर मार्ने काम भएको आरोप आफन्तले लगाए । बाबुरामले सामान्य बिरामीले पाउने स्याहारसमेत पाएनन् । १३ घण्टासम्म चिकित्सकबिनै एक्लै टहरामा बसे । औषधि त परै जाओस्, खाना र तातो पानीसमेत पाएनन् । स्याहार नभएपछि ज्वरोले गाल्दै लग्यो । शरीरले थेग्न सकेन । उनको मृत्यु भयो ।

न बाबु आए, न शव

भर्खर छ वर्ष पुगेका नीरज थापा बुबाले विदेशबाट ल्याएको चकलेट खाँदै छन् । छ वर्ष विदेशमै बिताएका बुबाको अनुहार बल्ल चिन्दै थिए । दुईतीन वर्षको अन्तरमा घर आएका बाबुराम छोराहरूसँग राम्ररी घुलमिल हुनसमेत पाएका थिएनन् ।

चैत ७ गते रूपन्देही, सैनामैनाको डेरा पुगेर झोला खोल्दा छ वर्षीया नीरज र आठ वर्षीय कुशल निकै खुशी भएका थिए । त्यो खुशी धेरै दिन टिक्न सकेन । उनीहरूले बुबासँग पाँच दिनभन्दा बढी बिताउन पाएनन् । 

पाल्पाको रिब्दीकोट, कुसुमखोलाबाट एक वर्षअघि छोराहरू पढाउन रीता सिसैडाँडा सरेकी हुन् । कुशल कक्षा एक र नीरज यूकेजीमा पढ्छन् । बुबाको मृत्यु भएको आठ दिनसम्म श्रीमती र छोराले शव देख्न पाएका छैनन् । कोरोनाको चेकजाँच नहुञ्जेल बाबुरामको शव अस्पतालकै बेडमा पल्टिरह्यो । कोरोना रिपोर्ट नेगेटिभ आएपछि शवगृहमा राखिएको छ । घरमा बुबा पर्खिरहेका नाबालकले न बुबा देख्न पाए, न त शव । 

छानबिनको माग

आठ दिन बित्दासमेत बाबुरामको शव उठेको छैन । रीताले अस्पतालको लापर्बाहीका कारण श्रीमान्को मृत्यु भएको भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेकी छिन् । लुम्बिनी प्रादेशिक अस्पतालले मृत्यु भएको तीन दिनपछि मात्रै निमोनियाका कारण ज्यान गएको दाबी गर्‍यो । ‘निमोनियाका कारण उनको मृत्यु भएको हो,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा. राजेन्द्र खनालले भने, ‘घटनामा चिकित्सकको नभई व्यवस्थापकीय कमजोरी देखिन्छ ।’  

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले कोरोना नेगेटिभ रिपोर्ट आए पनि शतप्रतिशत विश्वास गर्न नसकिने बताउने गरेका छन् । कोराना अस्पताल निर्माण गरेको बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालले यस विषयमा केही बोलेका छैनन् । अस्पतालका चिकित्सकको दोहोरो भनाइले बाबुरामले मलामी नपाउने आशंका देखिएको छ । डा. सुदर्शन थापाले कोरोना नभएको भन्न नसकिने भनेकाले परिवार र आफन्त शवनजिक जान डराएका छन् । 

अन्नपूर्ण सम्पूर्णबाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.