MENU

जयमायाको लेखापानी यात्रा

अशेष अधिकारी/अन्नपूर्ण टुडे शुक्रवार, बैशाख ८, २०७४ 2800 पटक पढिएको

Share This

काठमाडौंः पढेदेखि नै सुनिल पोखरेलको मस्तिष्कमा ‘जयमाया आफू मात्र लेखापानी आइपुगी’ सिनेमाका रूपमा घुमेको थियो, घुमिरहेको छ । सुनिलमा कुनै दिन यसलाई फिल्म बनाइछाड्ने चाहना जीवित छ । सिनेमा कहिले आउँछ, टुंगो छैन तर नाटक आइपुगेको छ ।

नेपाली साहित्यमा छुट्टै उचाइ बनाएका ईन्द्रबहादुर राईको कथाको नाट्य–रूपान्तर मञ्चमा गहन रूपमा आएको छ । कथामाथि नाटक बनाउनुलाई सुनिल ‘बिगार्ने’ शब्दले सम्बोधित गर्छन् तर नाटक हेरिरहँदा यस्तो भन्नु उनको महानता हो भन्ने लाग्छ । करिब डेढ घण्टा लामो नाटक मञ्चमा समृद्ध छ । दोस्रो विश्वयुद्धताका जापानी सेना तत्कालीन बर्मा कब्जा जमाउँदै अगाडि बढेपछि त्यहाँ पुस्तौंदेखि बसेका नेपालीले थातथलो छाड्दाको संघर्षपूर्ण यात्राको कथा नाटकमा हेर्दा हरेक दर्शक नतमस्तक हुन्छन् । मञ्चमा नाटक बेस्सरी दृश्यात्मक भएको छ ।

पोखरेलको यस नाटकले दर्शकलाई आदिदेखि अन्त्यसम्म बाँध्छ । नाटक अगाडि बढ्दै जाँदा नाटकले दर्शकमाथि आफ्नो प्रभाव विस्तार गर्दै अन्त्य हुँदा कब्जा जमाइसक्छ । उनको निर्देशनको कुनै जवाफ छैन । सानो मञ्चमा पनि उनले हरेक पात्रलाई बेग्लै परिचय दिएका छन्, जुन आफैंमा सहज होइन । ठूलो क्यानभास खोज्ने कथालाई उनले सानो मञ्चमा बडो सावधानी, सन्तुलित र असरदार ढंगले प्रस्तुत गरेका छन् । उनको यो शैलीले मण्डलाको साँघुरो मञ्च फराकिलो लाग्छ।

उनी तत्कालीन बर्मेली–नेपालीको पीडालाई मुखरित गर्न सफल छन् । उनले ‘जयामाया..’ कथाले बुनेको घेरालाई एउटा नक्सा मानेर त्यसमाथि आफ्नो विचार कथा नबिगारी थपेका छन् । नाटकमा त्यो काम उनले कथामा नभएका पात्रहरू थपेर सशक्त बनाएका छन् । उनले कथाले नभनेका पात्रका कथा सफल ढंगले प्रस्तुत गरेका छन् । नाटकमा सुनिलले प्रेम देखाएका छन्, नेपाली समाजको कुरीति देखाएका छन् । नेपालीको भाइचारा पनि प्रस्तुत गरेका छन् । ती पात्रहरूले प्रवासी नेपाली समाजको चित्र प्रस्तुत गरेको छ । नाटकलाई सुनिल आफ्नै भाषा शैलीमा भन्न सफल छन्।

 नेपाली साहित्यमा छुट्टै उचाइ बनाएका ईन्द्रबहादुर राईको कथाको नाट्य–रूपान्तर मञ्चमा गहन रूपमा आएको छ।

निर्देशनको सफलता भनेको दर्शकको मनोविज्ञानलाई नियन्त्रण गर्नु हो। पोखरेल त्यसमा निःसन्देह सफल छन् । सुनिलले दर्शकलाई शुरूमा हसाउँदै, फुक्र्याउँदै अन्त्यमा पात्रहरूले भोग्ने पीडा, संघर्षलाई दर्शकको अन्तर्यको भावना फुटाउँदै नाटक सकेका छन्। निर्देशनपछि अभिनय नाटकमा अभिन्न पक्ष बनेको छ । १७ पात्रले गरेको अभिनयले दर्शकको मन जित्छ । हरेक पात्रले मञ्चमा बेग्ला बेग्लै छाप छोडेका छन्, चाहे त्यो ‘जयामाया’ बनेकी सुनिशा बजगाईं हुन् वा ‘जयबहादुर’ बनेका आभाष अधिकारी या सुवेदार–सुबेदार्नी बनेका सुलक्षण भारती–सिर्जना अधिकारी । उनीहरूको अभिनय स्वाभाविक छ ।

यस्तै, ‘बाघवीर’ बनेका आर्जेश रेग्मी, विधवा बनेकी उषा किरण, ‘गर्जमान’मा सुरज तमु आदिले दर्शकको मन जित्छन् । ‘ब्याक ग्राउन्ड म्युजिक’ र प्रकाशले नाटकमा उत्प्रेरकको काम गरेका छन्। विशेषगरी खोला तर्दाको दृश्य सबैभन्दा सुन्दर लाग्छ । ज्यानै लिने खोलाका छालका लागि प्रयोग गरिएको सेतो कपडाको ‘प्रप्स’मा वास्तविकताको भान पर्छ । घटना, परिवेश र पात्रका मनोदशामा उत्सव कुमार बुढाथोकी तथा विश्वराज काफ्लेको ‘लाइभ म्युजिक’ र रागले नाटकमा मज्जा थपेको छ।

अनुप बरालको मञ्च परिकल्पनाले जयमायाको यात्रा–कथालाई चाहिने उकाली, ओराली, खोला–नाला, गोरेटा र जंगलहरूको अपेक्षा पूरा गर्छ । उनको मञ्च परिकल्पना तारिफको हकदार छ । यसैगरी सरिता गिरीले पात्र सुहाउँदो भेषभुषा बनाएकी छन् । समग्रमा मस्तिष्कमा फिल्म घुमाएको ईन्द्रबहादुर राई कथामा सुनिलको नाटक खरो उत्रिएको छ । नेपाली रंगमञ्चमा पछिल्लो समय विदेशी नाटकका नेपाली रूपान्तरण हेर्न बाध्य दर्शकका लागि ‘जयमाया आफू मात्रै लेखापानी आइपुगी’ले मन हर्ने छ।

 

प्रतिकृया दिनुहोस

Dish latest