MENU

३९ लाख लगानीमा चाैंरी फार्म

635x90

गोपाल छन्त्याल शुक्रवार, बैशाख ८, २०७४ 490 पटक पढिएको

Share This

बेनीः म्याग्दीका दुई किसानले ३९ लाख रुपैयाँ खर्चेर चौंरीपालन सुरु गरेका छन् । अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका प्रेम पूर्जा र लोकबहादुर पाइजाले चौंरीको छुर्पी र चीज उत्पादन गर्ने लक्ष्यसहित एक वर्षदेखि संयुक्त रूपमा चौंरीपालन सुरु गरेका हुन् ।

२०५५/५६ सालदेखि चौंरीपालन व्यवसाय गर्दै आउनुभएका प्रेमसँग यससम्बन्धी लामो अनुभव छ । वैदेशिक रोजगारबाट फर्केका लोकबहादुरले स्वाँत बयलीमा होटेल व्यवसायसमेत सञ्चालन गर्दै आउनुभएको छ । चौंरीको आलो रगत र मासुको माग बढ्दै गएपछि त्यसलाई थप विस्तार गर्ने र छुर्पीसहितका परिकार बनाउने उद्देश्यले संयुक्त लगानीमा व्यवसाय सुरु गरिएको प्रेमको भनाइ छ ।

‘खोप्रालेकमा एक सयभन्दा बढी चौंरीबाट हामीले व्यवसाय सुरु गरेका हौं, म निरन्तर यो पेसामा छु, अहिले साथी पनि थपिएपछि उत्साह बढेको छ', प्रेमले भन्नुभयो, ‘सुरुमा हिमालपारिको जिल्ला मुस्ताङबाट २० वटा चौंरी ल्याएर यो क्षेत्रमा मैले व्यवसाय सुरु गरेँ ।' खोप्रालेक र बयलीमा वर्षको दुई पटक साउन र फागुन महिनामा चौंरीको आलो रगत पिउने मेला आयोजना गरेर उनीहरूले रगत र चौंरीको मासु बिक्री गर्छन् । उच्च हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, जटामसी र पाँचऔंलेजस्ता बहुमूल्य जडीबुटीसमेत खाने चौंरीको आलो रगत पिएमा ग्यास्ट्रिक, दुब्लोपन, छालासम्बन्धी रोग र शारीरिक स्फूर्ती बढ्ने जनविश्वासका कारण सयौंको संख्यामा सर्वसाधारण त्यहाँ पुग्छन् ।

हिउँचितुवा र भीरपहराबाट जोगाउन सके चौंरीपालनबाट राम्रै आम्दानी हुन्छ ।

प्रतिगिलास ६० रुपैयाँका दरले रगत बिक्री हुन्छ । रगत पिउन आसपासका गाउँका साथै मुस्ताङ, पोखरा, पर्वत र बागलुङबाटसमेत सर्वसाधारण त्यहाँ पुग्छन् । त्यही बेलामा चौंरीको मासुसमेत बिक्री गर्ने गरिएको किसान लोकबहादुर पुनको भनाइ छ । ‘सर्वसाधारणसँगै पर्यटकले पनि चौंरीको मासु बढी खाने गर्छन्, दुई पटक आयोजना हुने मेलाबाट हामीले चार लाख रुपैयाँ आम्दानी गर्छौं', उहाँले भन्नुभयो, ‘हिउँचितुवा र भीरपहराबाट जोगाउन सकियो भने यो व्यवसायबाट राम्रै आम्दानी हुन्छ ।' चौरीलाई उचित पोखरी, विभिन्न समयमा परजीवि नियन्त्रणसम्बन्धी शिविर सञ्चालन गरेमा संख्या बर्सेनि बढ्दै जाने किसानको अनुभव छ ।

 

National College 220X220Pix Ad for Annapurna

‘सुरुमा २० वटा मात्र थिए अहिले एक सय १५ भन्दा बढी छन्', यसलाई हेरचाहका लागि एउटा गोठालो राखेका छौं', उहाँले भन्नुभयो । चौंरीगाईको दूधबाट छुर्पी र चीज बनाउन सकिने भए पनि त्यसलाई व्यवस्थित बनाउन नसक्दा समस्या भएको छ ।

गोठ र गोठालाको व्यवस्था गरेर पहिलो चरणमा छुर्पीका लागि आवश्यक दूध संकलन गर्ने योजना उनीहरूको छ । ‘छुर्पीका लागि आवश्यक सीप, तालिम र प्रविधिका विषयमा हामी छलफल गरिरहेका छौं, छुर्पी बनाउन सकियो भने, आम्दानी दोब्बर हुनेछ', उहाँले भन्नुभयो, ‘अहिले सबै गरेर वार्षिक तीनदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।'

पर्यटकीय क्षेत्र घोरेपानी, भुरुङतातोपानी, घान्द्रुक, बयलीखर्कलगायतका स्थानमा छुर्पीको माग उच्च भए पनि पोखरालगायतका सहरबाट आयात गर्नुपर्ने बाध्यता छ । गाउँमै तयार पार्न सके आम्दानी राम्रो आम्दानी गर्न सकिने उनीहरूको विश्वास छ । जिल्ला पशु सेवा कार्यालयका प्राविधिक डिल्ली रेग्मीले शिखघा र पाउद्धार क्षेत्रमा संस्थागत र साझेदारीमा चौंरीपालन व्यवसाय फस्टाउँदै गएको बताउनुभयो ।

कार्यालयले पोखरी र गोठ निर्माणका लागि बर्सेनि सहयोग गर्दै आएको उहाँले बताउनुभयो । ‘यस वर्ष पनि एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका छौं, त्यो रकम पोखरी र बाटो मर्मतमा खर्च गर्नुपर्नेछ', उहाँले भन्नुभयो ।

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100