MENU

नेपाली महिला रेस्लरको महाभिडन्त

अन्नपूर्ण शुक्रवार, बैशाख ८, २०७४ 7382 पटक पढिएको

Share This

दुई महिला रेस्लरको भिडन्त देखेर प्रथम चन्द्रागिरि महोत्सवमा उपस्थित दर्शक दंग परे । काँचको पर्दाका विश्वविख्यात रेस्लरको भिडन्त हेरेर रमाउने नेपाली युवापुस्ता आँखैअगाडि त्यो पनि महिला रेस्लरको भिडन्त देखेर नरमाउने कुरै भएन । यसै साता भएको खेलमा हिमालयन टाइगर प्रो. रेस्लिङ एसोसिएसनको प्रस्तुति रेस्लिङ खेलमा हिमालयन टाइगर, अजिंगर, स्कोरपियन, यती, वारियर, स्टोन पावर, गुणराज, अश्विनजस्ता नयाँ तथा पुराना रेस्लर पनि रिङमा उत्रिए । तर युनिका र जुरेलीले भिडन्तमा धेरै रमाए ।

fimalw_raceller_nepali

पछिल्लो समय नेपाली दर्शकलाई रेस्लिङको मजा चखाउन लागिपरेका छन् भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) । रेस्लिङमा लाग्न चाहने नेपाली पुरुषसमेत अत्यन्तै थोरै भएका बेला महिला रेस्लरका रूपमा क्रियाशील युनिका र जुरेलीप्रतिको आकर्षण बढ्दो छ । नेपालको पहिलो महिला रेस्लर हुन् युनिका । रामेछापको गेलुमा २०४५ सालमा जन्मेकी भगवतीलाई पछ्याउँदै जुरेली पनि उनीसँगै रिङमा भिड्न थालेको तीन वर्ष भयो । युनिकाले २०६९ सालमा पहिलोपटक अमेरिकाकी महिला रेस्लर दी ग्रेट छेनीसँग अर्घाखाँचीमा आयोजित प्रतियोगितामा रिङमा उत्रेकी थिइन् ।

 

केही समयअघि युनिका र जुरेली भारतको नयाँदिल्लीस्थित रोयडीमा भएको एफएफडब्लूमा सहभागी भएर आए । त्यहाँ पनि उनीहरूले त्यत्तिकै वाहवाही पाएका थिए । अहिलेसम्म युनिकाले दुई दर्जन रेस्लिङ भिडन्तमा भाग लिइसकेकी छन् भने जुरेली उनलाई पछ्याइरहेकी छन । 'देशकै पहिलो महिला रेस्लरका रूपमा चिनिनु मेरो लागि गौरवको विषय हो', युनिका भन्छिन्, 'सानो छँदा मलाई गायिका बन्ने रहर थियो । तर म अलि ज्यांगो शरीर भएकाले साथीहरूले खेलाडी बन भनेर प्रेरणा दिएपछि भारोत्तोलनमा लागेँ । भारोत्तोलनपछि रेस्लिङ सुरु गरेको हुँ ।'

खोटाङकी अस्मिता अर्थात् जुरेली पनि मोडेल हुन । विभिन्न म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । तर उनको पहिचान रेस्लिङबाटै बनेको छ । यसमा उनी खुसी छिन् । नेपालमा रेस्लिङप्रति दर्शकको रुचि देखिए पनि व्यावसायिक रूपमा धेरै पछाडि छ । युनिका र जुरेलीका लागि पनि अहिले रिङमा उत्रिनु रहरजस्तो मात्रै भएको छ । तापनि यसलाई व्यावसायिक बनाउने उनीहरूको प्रयास जारी छ । 'रेस्लिङलाई व्यावसायिक रूपमा अगाडि बढाउन मैले नेपाल गल्र्स रेस्टलिङ फाउन्डेसन दर्ता गरेको छु', युनिकाले भनिन्, 'भविष्यप्रति म आशावादी छु । मेरो लक्ष्य डब्लूडब्लूई खेल्ने हो ।'

नेपालमा रेस्लिङलाई व्यावसायिक बनाएरै छाड्ने अठोट लिएकी उनले त्यसबाट प्राप्त रकमले क्यान्सरपीडितको सेवा गर्ने लक्ष्य लिएकी छन् । 'मेरी आमाले क्यान्सरका कारण यो संसार छाड्नु पर्‍यो । मलाई जन्माएर, हुर्काएर यो संसारमा स्थापित गर्ने आमा क्यान्सरपीडित भएकाले मलाई उहाँहरूको पीडा थाहा छ', उनले कारण खोलिन् । हुन त युनिका रेस्लिङसँगै अभियन र गायनमा पनि रुचि राख्छिन्।

हबल्दारी सुन्तली, ब्ल्याक लाइट, वर्षात्, नबोले नि हाँसी राख न, प्रतिकार, हिम्मतवाली, रामप्यारीलगायतका विभिन्न चलचित्रमा अभिनय गरेकी उनले २०६५ सालमा एकल एल्बम युनिक' समेत श्रोतामाझ ल्याएकी थिइन् । तर उनको प्राथमिकतामा रेस्लिङमै छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100