MENU

यसरी जोगाउन सकिन्छ अनुहारलार्इ घामबाट

रामकला खड्का शुक्रवार, बैशाख ८, २०७४ 21750 पटक पढिएको

Share This

गर्मी बढिसकेको छ । यस्तो अवस्थामा कामकाजी महिला हुन् वा पुरुष सबैलाई बाहिर घाममा निस्कँदा छालामा विभिन्न खाले समस्या देखा पर्न सक्छन् । चर्को घामका कारण विशेषगरी अनुहारको छालामा सन वर्न हुने सम्भावना बढी हुन्छ । हामीमध्ये प्रायःले घाममा निस्कनु अगाडि सनस्क्रिन लोसन लगाएर हिँड्ने गर्छौं ।

हामीले लगाएको सनस्क्रिनले बढीमा तीन घन्टासम्म मात्रै काम गर्ने भएकाले त्यस पछाडिको समयमा सूर्यका किरणले छालामा विभिन्न टाटा पर्न सक्छ । त्यसैलाई सन बर्न भनिन्छ । सन वर्न हुन नदिन विभिन्न उपायहरू अपनाए छालामा टाटाहरू देखा परिसकेपछि ट्यान हटाउने फेसियलबाट मात्रै यसलाई कम गराउन सकिन्छ । यसको तरिका यस प्रकार रहेको छ ।

क्लिन्जिङ

अन्य समयमा फेसियल गर्दा झैं सबभन्दा पहिले अनुहारको फोहोर हटाउन क्लिन्जिङ मिल्कको सहायताले क्लिन्जिङ गर्नु आवश्यक छ । ट्यान हटाउनका लागि विशेष प्रकारका सौन्दर्य प्रशाधनलाई नै प्रयोग गर्नुपर्छ । करिब दुईदेखि तीन मिनेटसम्म क्लिन्जिङ गरेपछि स्क्रब लगाउनुपर्छ ।

टोनिङ

स्क्रब लगाउँदा छालाको सानासाना प्वालहरू खुल्ने गर्छ । यही खुलेका प्वाललाई बन्द गराउनका लागि टोनरको प्रयोग गर्नुपर्छ । टोनर लगाए पनि जेलको सहायताले हल्का मालिस गर्ने । यसले छालामा पानीको मात्रालाई सन्तुलित बनाउने काम गर्छ । यदि कसैको छाला तैलीय छ भने त्यसलाई तेलमुक्त बनाउने काम पनि यही जेलले नै गर्छ ।

 

मसाज

जेल लगाएर पुसेपछि मसाज क्रिमले करिब १५ मिनेट जति छालाको मसाज गर्ने । यसरी मसाज गर्दा छालाको सुक्खापनमा कमी आई छालामा पानीको मात्रामा सन्तुलन गरी त्यहाँका कोषिकाहरूलाई सक्रिय बनाइदिन्छ । प्याक मसाज सकिएपछि ट्यान हटाउने खालकै प्याक लगाउनुपर्छ । प्याक लगाएर केही बेर सुकाएपछि त्यसलाई भिजाएर हल्का हातले मालिस गरी पुछ्नुपर्छ । यी सबै प्रक्रिया सकिएपछि मोइस्चराइजर लगाउने । यदि तुरुन्तै घरबाहिर घाममा जानु छ भने सन ब्लक क्रिम पनि लगाउन बिर्सनु हुँदैन ।

सन बर्न हुन नदिने उपाय

१.घाममा निस्कनु अगाडि सधैं सन ब्लक क्रिम लगाउनु पर्दछ । बजारमा पाइने विभिन्न एसपीएफका क्रिमहरू आफ्ना छालाको प्रकारहरू अनुसार छानेर ल्याउने र नियमित प्रयोग गर्नु पर्दछ । यदि घर बाहिरैको काममा बढी व्यस्त भइन्छ भने हरेक पटक पखाल्दै करिब दुई, तीन घन्टाको अन्तरमा सनब्लक क्रिम लगाइरहनु पर्छ ।

२.घाममा जानु अगाडि छाता ओड्ने बानी गर्नुपर्छ ।

३.सुक्खा छाला हुनेहरूले जहिले पनि मोइस्चराइजर लगाएरमात्रै सन ब्लक क्रिम लगाउनुपर्छ भने तैलीय छाला हुनेहरूले पनि आइल फ्रि मोइस्चराइजर लगाएपछि मात्रै सन ब्लक लगाउने गर्नु राम्रो हुन्छ ।

४. अनुहार धुनलाई साबुनको प्रयोग गर्नु हुँदैन । सधैं राम्रो गुणस्तरको फेसवासले मुख धुनुपर्छ ।

५. लामो यात्रामा निस्किँदा ह्याट वा क्यापको प्रयोग गर्ने र आँखालाई बचाउनका लागि सन ग्लास लगाउने गर्नुपर्छ ।

६. क्लिन्जिङ मिल्क नभए दूधको तरमा मह मिसाएर बनाएको लेपलाई अनुहारमा लगाएर १० मिनेट राखेर पखाल्ने गर्नुपर्छ ।

७. काचो नरिवललाई पिसेर त्यसमा मह हाली बनाएको पेस्टलाई अनुहारमा लगाएर करिब २० मिनेट राखेपछि पखाल्नुपर्छ ।

८. सुन्तलाको बोक्रालाई पिसेर त्यसमा रोज वाटर हाली बनाएको लेदोलाई अनुहारमा लगाएर केही समयपछि सफा पानीले धुनुपर्छ ।

९. नीमको पातलाई सुकाएर बनाएको धुलोले मसाज गरे पनि ट्यान हट्छ ।

प्रतिकृया दिनुहोस

Dish latest