MENU

पर्दामा शरणार्थीको दुःख 

अन्नपूर्ण शुक्रवार, बैशाख ८, २०७४ 2299 पटक पढिएको

Share This

काठमाडौः भुटानी शरणार्थीहरूको जीवनकथामाथि बनेको चलचित्र ‘देश खोज्दै जाँदा'को राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर शो गरिएको छ । चलचित्र हेरिसकेपछि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले चलचित्रले आफूलाई सन्तुष्टि दिएको प्रतिक्रिया दिए । ‘झापाका विभिन्न शिविरमा रहेका शरणार्थीको बिजोगको कथालाई चलचित्रले जीवन्त ढंगले उतारेको पाएँ', उनले भने, ‘भुटानी शरणार्थी समस्या र त्यहाँभित्र आन्तरिक पोल्टिक्स कसरी चल्दो रैछ, त्यो चलचित्रले देखाएको छ ।'

निर्देशक प्रकाश आङदेम्बेले लामो खोज अनुसन्धानपछि चलचित्र बनेको बताए । आफू भुटानी शिविरकै आसपास बस्दै आएकाले पनि उनीहरूमाथिको कथा खोज्न सजिलो भएको उनले सुनाए । ‘भुटानी पात्रहरूसँगको लामो उठबसले पनि मलाई चलचित्र बनाउन प्रेरित गर्‍यो', उनले भने, ‘यो चलचित्र ‘फिल्म ग्रामर' बुझेर बनाइएको होइन मूलतः संवेदनाले बनाइएको हो ।'

पटकथाकार उपेन्द्र सुब्बाले आफूले जानेर नभई शरणार्थीमाथिको जिज्ञासाले तानेर चलचित्र लेखेको बताए । यसअघि धेरै चलचित्रको कथा लेखे पनि उनले यो नै आफ्नो पहिलो स्क्रिप्ट भएको जानकारी दिए । चलचित्र हेरिसकेपछि कला समीक्षक युवराज भट्टराईले यो विशुद्ध ‘डकु-ड्रामा' भएको प्रतिक्रिया दिए । ‘निर्देशकले जे हो त्यही खिचेका छन्, यिनले दर्शकलाई कत्ति पनि झुक्याउँदैनन्', उनले भने, ‘यदि कोहीसँग सिनेमा संस्कार छ भने उसले धैर्यपूर्वक यसको ‘एस्थेटिक' स्वाद लिन सक्छ ।'

भुटानी शरणार्थी समस्या विश्व समस्या रहेको बताउँदै कवि चन्द्रवीर तुम्बापोले चलचित्रको मेटाफोर राम्रो रहेको प्रतिक्रिया दिए । ‘निर्देशकको पहिलो चलचित्र निकै प्र्रंशसायोग्य छ', उनले भने, ‘राम्रो विषयवस्तुमाथि बनेकाले चलचित्र निकै समयसम्म बहसमा रहनेछ ।' चलचित्र हेरेर बाहिरिँदै लेखक खगेन्द्र संग्रौला, डा. गोविन्दराज भट्टराई, कवि श्रवण मुकारुङ, विप्लव ढकाल, डा. कुमार कोइराला, समीक्षक माधव ढुंगेललगायतले चलचित्रले राम्रो प्रभाव छोडेको र समाजको जल्दोबल्दो मुद्दालाई सही ढंगले उठाएको बताए ।

 

Yamaha

घरफिर्ती अभियानका बेला शरणार्थीले ‘नेपाल सरकार बोलिदेऊ', ‘भारत सरकार बाटो देऊ', ‘भुटान सरकार माटो देऊ' भन्दै नारा लगाएको दृश्यले दर्शकलाई तरंगित बनाएको देखिन्थ्यो । घरफिर्ती अभियानमा लागेका नायक वीरु मारिएपछि कथाले अर्कै मोड लिन्छ । यही घटनाले अहिले शिविरमा रहेका शरणार्थीको अवस्था झल्काउँछ । न उनीहरूसँग कुनै आन्दोलन छ, न त नेताहरू नै सक्रिय छन् । घरफिर्ती अभियानमै लागेका केही शरणार्थीले अमेरिका पुनर्वासका लागि फाराम भर्ने वा नभर्ने विषयमा भएको द्वन्द्व नै चलचित्रको मूलकथा हो । भुटानीहरूको जीवनशैली, संस्कृति, भोगाइ, दुःखलाई जस्ताको तस्तै चलचित्रले उतारेको छ ।

भुटानबाट घरबास छोडेर लखेटिँदै पूर्वी झापाको बेलडाँगी शिविरमा बस्न आइपुगेका शरणार्थीको दुःखलाई जस्ताको तस्तै देखाए पनि कथामा भुटानप्रतिको राष्ट्रप्रेममा कतैकतै अति भावुकता मिसिएको छ । बिहानैपिच्छे भुटानबाट ल्याएको माटोको टीका लगाउने एक पात्र भन्छन्, ‘म गर्भमै रहँदा आमाले माटो खाएकी रहिछन् र मैले पनि माटो खाएछु । त्यसैले मलाई देशको साह्रै माया लाग्छ ।'

चलचित्रले शरणार्थीको तेस्रो देश पुनर्वास, घरफिर्ती अभियान र शिविरभित्रको सामाजिक, राजनीतिक र आर्थिक द्वन्द्वलाई हुबहु उठाएको छ । नेपालमा रहेका एक लाख २० हजार भुटानी शरणार्थीमध्ये अब करिब १० हजार जति मात्र झापाको दमकस्थित बेलडाँगी शिविरमा बाँकी छन् । बाँकी शरणार्थी पुनर्वासका लागि अमेरिका, क्यानाडा, अस्ट्रेलियाजस्ता मुलुक पुगिसकेका छन् । एक घन्टा ४० मिनेटको चलचित्रमा बाबु बोगटी, हेमन्त बुढाथोकी, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

प्रतिकृया दिनुहोस

dishhomeapp