MENU

यी हुन चितवनलाई चिनाउने कलाकार

अनिल ढकाल शुक्रवार, बैशाख ८, २०७४ 15697 पटक पढिएको

Share This

ऋद्धिचरण श्रेष्ठको जीवन अभिनयमै बित्यो । नेपाली सिने क्षेत्रमा सफल चरित्र अभिनेताको रूपमा चिनिएका ७४ वर्षीय श्रेष्ठको कलायात्रा चितवनबाटै सुरु भएको हो । पाल्पामा जन्मेका उनी १५ वर्षको उमेरमा चितवन आएका हुन् । त्यसको एक वर्षपछि उनले कलाकारिता सुरु गरे । सानैदेखि अरूको नक्कल गर्न सिपालु उनले सुरुवातमा रोपाइँजात्रा, गाईजात्रामा हास्यव्यंग्य प्रहसन गर्थे ।

Image may contain: 1 person, standingमनमा इच्छा भए पनि सिक्ने थलोको अभाव भएपछि साथीहरू मिलेर नाटक खेल्न नारायणी कला मन्दिरको स्थापना गरे । २०१६ सालमा 'विजय' नाटकबाट उनले यात्रा सुरु गरे । त्यसको २३ वर्षपछि उनले चलचित्र 'कान्छी'मा नायिकाको बुवाको भूमिकामा अभिनय गरेपछि उनको माग बढ्न थाल्यो । अहिलेसम्म ७० वटा चलचित्रमा अभिनय गरेका उनी आफू चितवनको हुनुमा गर्व गर्छन् ।

सन्तान, सुखदुःख, माइली, आगो, मालती, मलाई माफ गरिदेऊ, मनकामनालगायतको सफल चलचित्रमा चरित्र अभिनेताको रूपमा ख्याति पाए । 'अभिनयमा सौख बस्यो त्यसमै रमाए' ऋद्धिचरण भन्छन् 'यसरी चर्चामा आउँछु जस्तो लागेको थिएन अहिले खुसी छु' । नारायणगढ बजारमा खाइखेली हुर्किएका उनीप्रति जिल्लावासी पनि गर्व गर्छन् । नारायणी कला मन्दिरमा हुने कार्यक्रममा उनी अहिले पनि सहभागी भइरहन्छन् । 

चितवनलाई कलाको भूमि भनेर पनि चिनिन्छ । अभिनय र गीतसंगीतमा चितवनका कलाकारले राम्रो ख्याति कमाएका छन् । सिने क्षेत्रदेखि गायनमा चर्चा पाएकाको धनी जिल्लाको रूपमा परिचित छ, चितवन । नेपाली सिने क्षेत्रका सदाबहार नायक सरोज खनाल चितवनकै हुन् । उनको बाल्यकाल ज्यामिरेमा बितेको हो । पूर्वी चितवनको ज्यामिरेमा जन्मिएका उनले नारायणी कला मन्दिरबाटै कला यात्रा सुरु गरे । रत्ननगरस्थित नेपाल उच्च माविमा निमावि तह पढेका उनी पछि काठमाडौं गए । २०४५ सालमा विजय पराजयनामक नाटक खेले ।

सरोजले २६ वटा टेलिशृंखलामा अभिनय गरिसकेका छन् । ४२ वटा चलचित्रमा अभिनय गरिसकेका उनले लगातार चार वर्षसम्म सर्वोत्कृष्ट नायकको अवार्डसहित गोरखा दक्षिण बाहुबाट पनि सम्मानित भए । चितवन आफ्नो कलाको कर्मथलो भएको उनको भनाइ छ । 'चितवनको पानी खाएर यो स्थानमा आएको हुँ' खनालले भने 'चितवनको हुँ भन्दा बेग्लै अनुभूति हुन्छ' । चितवनमा उनको व्यवसायमा पनि छ । दाजुको परिवार रहेको चितवनमा उनी बेलाबखतमा भेटघाट र व्यवसाय समाल्न आइरहन्छन् । १७ वर्ष लामो अमेरिका बसाइपछि उनी फेरि कला क्षेत्रमै सक्रिय छन् ।

Image may contain: 1 person, smiling, standing, sunglasses and outdoorनायिका मौसमी मल्ल पनि चितवनकै हुन् । कान्छी चलचित्रमा बाल कलाकारको रूपमा अभिनय सुरु गरेकी मल्लले २५ वसन्त मा सहनायिका भइन् । उनले २०४५ सालतिर चलचित्र भाग्यरेखामा नायिका भएपछि पछाडि फर्किनु परेन । धेरै दर्शकको रोजाइमा परेकी मौसमीले तिलहरी, माया, भुमा, भुमरीलगायत एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् ।

मौसमीको कलाकारिताको जग पनि चितवन नै हो ।भरतपुर बालमन्दिर रोडमा उनको बसोबास थियो । चितवन हाइस्कुलमा उनले अध्ययन गरेकी हुन् । उनले नारायणी कलामन्दिरमा नृत्य सिकेकी थिइन् । लक्ष्मीनारायण श्रेष्ठ, प्रेमविनोद नन्दन, प्रसाद श्रेष्ठ उनका गुरु हुन् । एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी मौसमीको कुनै बेला अत्यन्तै माग थियो । त्यसबेलाको सफलताले उनका प्रशंसक अझै पनि धेरै छन् । करिब १० वर्ष बेल्जियम बसेर नेपाल फर्केकी उनी निर्मात्रीको रूपमा देखा परिन् । हाल उनी नवलपरासीमा नयाँ व्यवसायको तयारीमा छिन् ।

पछिल्लो पटक नक्कली बाबुराम भट्टराईको रूपमा हास्यविधामा चर्चा कमाएका ज्योति काफ्ले पनि चितवनकै हुन् । पश्चिम चितवनको मंगलपुरमा उनको घर छ । विश्वप्रकाश उच्चमाविबाट उनले माध्यमिक तह र भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा पढेका हुन् । दाजु ईश्वरी काफ्लेसँग संगीत सिकेका ज्योतिले पहिला सातवटा एल्बम निकालेका थिए ।

Image may contain: 1 person, sunglasses२०५८ सालमा चितवनमा पहिलो पटक सिनर्जी एफएम खुलेसँगै उनी कार्यक्रम उत्पादक र विज्ञापन डिजाइनरको रूपमा काम गरे । बाल्यवस्थामा अरूको नक्कल गरेका उनले रेडियोमा सञ्चालन गरेको क्यारिकेचरको कार्यक्रम लोकप्रिय बन्यो । पछि काठमाडौं गएका उनी मेरी बास्सैमा नक्कली बाबुरामको रूपमा देखा परे । त्यसपछि तीतो सत्यमा नक्कली हिसिला यमीको रूपमा आएकी विपना बस्नेतसँगको जोडीले एकाएक देशका महोत्सव तथा विदेशमा माग बढ्यो । ज्योति चलचित्र लालजोडीमा नायक पनि बने । 'चितवनले बनाएको हो मलाई' काफ्ले भन्छन् 'चितवनका श्रोताले देशभरका दर्शकसमक्ष पुर्यालएँ।'

चितवनको पानी खाएर यो स्थानमा आएको हुँ । चितवनको हुँ भन्दा मलाई बेग्लै अनुभूति हुन्छ । -सरोज खनाल

नाट्यकर्मीको रूपमा आफूलाई चिनाउँदा खुसी हुने कलाकार पुष्प आचार्य नेपाली चलचित्र क्षेत्रमा गनिएका कलाकार हुन् । पश्चिम चितवनको पार्वतीपुरमा जन्मिएका आचार्य १० महिनाको हुँदा उनका आमावुवा मंगलपुरमा बसाइ सरे । विद्यालयमा हुँदै उनी अभिनय गर्थे । गाउँमा हुँदा केही नाटकमा खेलेपछि २०४७ सालमा ललितपुरमा रहेको त्रिवेणी कल्चर ट्रेनिङ सेन्टरमा सिके । रामपुर माध्यमिक विद्यालयबाट एसएलसी दिएर आईएस्सी पढ्न काठमाडौं गएपछि उनी नाटकमा लागे ।स्वयं अध्ययन गरेर उनले नाटकमा बढी समय दिए । अहिले मोफसलमा बसेर काम गर्न थालेका छन् । २०४५ सालमा नारायणी कला मन्दिरमा प्रवेश गरेका उनी अहिले नाट्य निर्देशकको रूपमा क्रियाशील छन् ।

आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुखदुःख, पाहुना, उपहार, हामी तीन भाइ, मुग्लान, नाइँ नभन्नु ललगायतका थुप्रै सफल चलचित्रमा अभिनय गरिसकेका छन् । उनले करिब १० चलचित्रमा मुख्य सहायक निर्देशकको रूपमा पनि काम गरिसकेका छन् । नाट्य विधामा अवार्ड पनि पाएका छन् ।

Image may contain: 1 person, sunglasses and closeupनायिका बेनिशा हमाल चितवनकै हुन् । गीतानगर घर भएकी हमाल पहिला सञ्चारकर्मी हुन् । गीतानगरको अरुणोदय कलेजमा माध्यमिक तह र भरतपुरमा उच्च माध्यमिक पढेपछि उनी काठमाडौं गइन् । काठमाडौंमा पढ्दा उनले टेलिभिजनमा कार्यक्रम चलाउने क्रममा म्युजिक भिडियोमा मोडलिङ गर्न थालेकी हुन् । त्यसपछि उनी चलचित्रतिर लागेकी हुन् । चलचित्र स्वरबाट ठूलो पर्दामा पाइला टेकेकी बेनिशा अहिले चलचित्र झ्यानाकुटीमा व्यस्त छिन ।

बेनिशाले मोक्ष, किङ, कालो पोथी, महसुसजस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् ।नेपाली सिने क्षेत्रमा सर्वाधिक सफल निर्देशकको रूपमा चिनिएका स्व. शिव रेग्मीको कर्मचलो चितवन नै थियो । उनले नारायणी कला मन्दिरबाट धेरै नाटक निर्देशन गरेका थिए । त्यसैगरी नायक गणेश उप्रेती पश्चिम चितवनको पटिहानीका हुन् । उनले पनि कला मन्दिरबाटै आफ्नो यात्रा सुरु गरेका हुन् । चलचित्र चपली हाइटबाट चर्चा आएकी नायिका विनीता बरालको पनि जग चितवन नै हो ।

संगीतमा पनि अब्बल

पछिल्लो समय चर्चामा रहेका संगीतकार अर्जुन पोखरेल चितवनकै हुन् । पूर्वी चितवनको माधवपुर घर भएका पोखरेल अहिलेका व्यस्त संगीतकारमा मानिन्छन । पछिल्लो समय धेरै अवार्ड पाउने संगीतकारका रूपमा चिनिएका पोखरेलले गाउँमा हुने भजनको प्रभाव आफूमा परेको बताउँछन् । १० वर्षको उमेरदेखि उनले मादल, खैचडी बजाउन सिकेका हुन् । बाल्यकालमा बुवा आमाले भजन गाउँदा सिको गरेको उनको भनाइ छ ।

Image may contain: 1 person, hatएसएलसी उत्तीर्ण गरेपछि काठमाडौंमा संगीत सिक्न थाले पनि त्यसको सुरुवात चितवनबाटै भएको उनी बताउँछन् । २०५८ सालमा काठमाडैांमा उनले संगीत सिक्न सुरु गरे । बीचमा फाटफुट गीत निकाले पनि पोखरेलले २०६७ मा व्यावसायिक रूपमा काम थाले । 'दिलमाया' चलचित्रको 'छुट्छ कि साथ' गीतपछि उनको चर्चा सुरु भएको हो । चलचित्र मेरो जीवन साथीको 'जाऊ हिँड पोखरा', बिन्दासको 'बाटो मोडेर गयौ', बिन्दास २ को 'सुन्छु तिमीले मलाई' जस्ता गीतले नेपाली संगीतमा अर्जुनलाई माथि पुर्यामयो ।

अभिनयमा सौख बस्यो त्यसमै रमाए । यसरी चर्चामा आउँछु जस्तो लागेको थिएन अहिले खुसी छु ।-ऋद्धिचरण श्रेष्ठ

चलचित्र स्टुपिड मनको 'तिम्रो आँखामा आँसु हेरी' र प्रेमगीतको 'म यस्तो गीत गाउँछु' बोलको गीतले अर्जुन पोखरेलको परिचयलाई फराकिलो बनाइदियो । पाँच सय गीतमा संगीत दिइसकेका उनले संगीत दिएका गीतका कारण धेरै गायक हिट भएका छन । हालसम्म ३२ वटा अर्वाड पाइसकेका उनले आफ्नै पिता बाबुराम पोखरेलको लयमा गीत बजारमा ल्याउन लागेका छन् । हाल उनी म यस्तो गीत गाउँछु, मेरो पैसा खोइ, लम्फु, कान्छीलगायत निर्माणाधीन चलचित्रको काममा व्यस्त छन् । 'मेरो सफलताको जग चितवन नै हो' उनले भने 'यदि म त्यस्तो वातावरणमा नहुर्केको भए आफ्नै गाउँमा मात्र सीमित हुन्थें होला' ।


Image may contain: 1 person, selfie and closeupलोकदोहोरी क्षेत्रमा सफल मानिएका गायक मिलन लामाको कर्मथलो पनि चितवन हो । उनको कला यात्रा चितवनको सौराहाबाट सुरु भएको हो । सौराहामा पर्यटकको आकर्षणका लागि स्थापना गरिएको कल्चर हाउसबाट उनले काम सुरु गरे । २०४८ सालदेखि १० वर्षसम्म गीत गाउने र कार्यक्रम चलाउने काम उनले गरे । लामाको घर रत्ननगर मोहनामा पर्छ । २०५९ सालमा निकालेको पहिलो एल्बम 'कृष्णभीरमा जाम' र त्यसपछिको 'हङकङ आईडीले' एल्बमले राम्रै बजार पायो । 'माझी दाइ पोखरा फेवातालको' गीतले मिलन लामालाई सर्वाधिक हिट बनायो ।

मेरो सफलताको जग चितवन हो । यदि म त्यस्तो वातावरणमा नहुर्केको भए आफ््नै गाउँमा मात्र सीमित हुन्थें होला ।-अर्जुन पोखरेल

लामाका छम्म छम्म नाचिदेऊ, लालुपाते, घरमा पराल, गलकोटे साइलोलगायतका एल्बमले पनि उत्तिकै सफलता पायो । यो स्थानसम्म आउन चितवनको योगदान भएको उनको भनाइ छ । कार्यक्रमको सिलसिलामा ३५ भन्दा बढी मुलुकमा पुगेका उनी सामाजिक काममा पनि सक्रिय छन् । विदेशमा सहयोग जुटाएर नेपालमा भएका गरिब दुःखीको लागि सहयोग गरेका छन् । वर्षमा तीन÷चार वटा गीत गाउने लामा स्टेजमा निकै व्यस्त हुन्छन् ।

पुष्प अाचार्यगायिका माण्डवी त्रिपाठीको घर चितवनको भरतपुरस्थित गौतम चोकमा छ । लमजुङ जन्मिएकी त्रिपाठीले काठमाडौं पढेकी हुन् । चितवनको कार्यक्रममा आउँदा उनी आफूलाई चितवनवासीका रूपमा परिचय गराउँछिन् । पछि काठमाडौंमा उनको विहे भएको हो । झन्डै दुई हजार गीत गाएकी माण्डवीले ६० वटा भन्दा चलचित्रमा स्वर दिएकी छन् ।

गायक रामचन्द्र काफ्ले पश्चिम चितवनको पार्वतीपुरस्थित कान्छीचोकका हुन् । पार्वतीपुरको अन्नपूर्ण माविबाट उनले एसएलसी दिएपछि गायन सिक्न काठमाडौं गएका हुन् । 'लाठी चार्ज नगर मेरो माया' गीतबाट एकाएक चर्चामा आए । उनको बाल्यवस्था पार्वतीपुरमै बित्यो । गाउँमा रहँदा पनि उनी गीत गाउने गर्थे । सयौं गीत गाएका काफ्ले पछिल्लो समय काठमाडौं छन् तर बुवाआमा, साथभाइ भेट्नका लागि चितवन आइरहन्छन् ।




Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp