MENU

म्यादी प्रहरीः कसैको रहर, धेरैको बाध्यता

महेश केसी शुक्रवार, बैशाख ८, २०७४ 14317 पटक पढिएको

Share This

मुसीकोटः रुकुम बाफिकोट गाउँपालिका ५ का १९ वर्षीय नवीन केसी अहिले कक्षा १२ को परीक्षाको तयारीमा हुनुपर्ने हो तर उहाँ यस वर्षको परीक्षा छोडेर म्यादी प्रहरीको तालिममा जुट्नुभएको छ । परिवारमा आर्थिक अभाव भएका कारण मौका परेका बेला थोरै भए पनि कमाएर पढाइ खर्च जुटाउन उहाँ परीक्षा छोडेर म्यादी प्रहरी बन्नुभएको हो । यसरी परीक्षा छोडेर म्यादी बन्न आएका नवीन मात्र हुनुहुन्न । उहाँसँगै धेरै छन् जो यस वर्षको कक्षा १२ को परीक्षा नदिने निधोका साथ म्यादी प्रहरीको तालिममा हुनुहुन्छ ।

केहीका लागि म्यादी बन्नु रहर भए पनि धेरैका लागि बाध्यता हो । बेरोजगारीका कारण चरम आर्थिक अभाव टार्न धेरै युवा घरपरिवार छोडेर म्यादीको तालिममा जुटेका छन् । सदरमुकाम खलंगाको बहुमुखी क्याम्पसबाट स्नातकोत्तरको परीक्षा दिनुभएका सोनीभेरी गाउँपालिका ६ का २९ वर्षीय सोमबहादुर कुसारी हाल नतिजाको पर्खाइमा हुनुहुन्छ । शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी बाकेर जागिरका लागि चारैतिर भौंतारिएपछि उहाँ पनि अन्तत म्यादी प्रहरी बन्नुभयो । ‘जागिर पाइएन, घर खर्च चलाउन गाह्रो भयो', कुसारी भन्नुहुन्छ, ‘जागिरकै खोजीमा भौंतारिरहेका बेला म्यादीमा भर्ना खुल्यो, परीक्षा दिएँ, म्यादी पनि भइयो ।'

सानैदेखि महिला प्रहरी भएर काम गर्ने रहर भए पनि त्यो अवसर जुटेन । तर अहिले म्यादी प्रहरी बनेर आफ्नो रहर पूरा गर्दैछु । घरबाट नमान्दा-नमान्दै पनि म्यादी भएर प्रहरी बन्ने रहर पूरा गर्र्दैछु ।
कमला खड्का, म्यादी प्रहरी

आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा दिन करार नियुक्तिमा म्यादी बन्न रुकुममा मात्रै जम्मा १८ सय ५६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये जम्मा ७ सय ८५ जना म्यादी प्रहरी बन्न योग्य ठहरिए । यिनै ७ सय ८५ जना चैत २५ गतेदेखि सदरमुकाम मसीकोटको बराहटाकुरा खेल मैदानमा तालिममा छन् ।

एकएक गरेर बुझ्ने हो भने यो तालिममा रहेका सबैको आआफ्नै कथा छ, आआफ्नै बाध्यता छन् । यीमध्ये केही चाहिँ प्रहरी बन्ने रहर पूरा नभएपछि म्यादी प्रहरी बनेर भए पनि रहर पूरा गर्न भर्ना भएका छन् । त्यहीमध्येकी एक हुनुहुन्छ सिस्ने गाउँपालिका ३ की २५ वर्षीया कमला खड्का । सानैदेखि महिला प्रहरी भएर काम गर्ने रहर भए पनि उहाँलाई त्यो अवसर जुटेन । तर, उहाँ अहिले म्यादी प्रहरी बनेर आफ्नो रहर पूरा गर्दैहुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सानैदेखि प्रहरी बन्ने रहर थियो तर बन्न सकिन । अहिले घरबाट नमान्दा-नमान्दै पनि म्यादी प्रहरी भएर रहर पूरा गर्र्दैछु ।'

 

सिस्ने गाउँपालिका ३ कै ३१ वर्षीय लीलबहादुर खड्का भने योसँगै तीन पटक म्यादी प्रहरी भइसक्नुभयो । यसअघि भएका दुईवटा चुनावमा म्यादी प्रहरी भएर काम गरेको अनुभवका कारण उहाँ अहिलेको तालिममा एउटा समूहको नाइके भएर काम गरिरहनुभएको छ । यसबीचमा विदेश गएर फर्किनुभएका खड्काले यस पटक पनि म्यादीमा छनोट भएपछि घरमा भोज नै गरेर खुसी मनाउनुभयो । अहिले उहाँ तालिममा हुनुहुन्छ । घरमा जहान-परिवारलाई चाँडै आउँछु भन्नुभएको छ उहाँले । खड्काको परिवार पनि विदेशभन्दा स्वदेशमै काम मिलेकोमा खुसी भएको उहाँ बनाउनुहुन्छ । मुसीकोट नगरपालिका ६ का भूपेश विक यसअघि चार वर्ष मलेसिया बसेर दसैं मनाउन घर फर्किनुभएको हो ।

फेरि पनि मलेसिया जाने सुरसार कसिरहेका बेला म्यादी हुनुभएका विक यो अवसर पाएपछि मख्ख हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विदेशमा धेरै दुःख गरियो । अब स्वदेशमै काम गर्छु । म्यादीबाट हटेपछि यतै अरू काम पनि काम खोज्नुपर्ला ।' निश्चित समयका लागि करार प्रहरी भएर काम गर्ने अवसर पाएका मध्येका धेरैले आफू म्यादी प्रहरी भए झैं आफूहरूको खुसी पनि म्यादी भएको जनाएका छन् ।

म्यादी प्रहरी बनेर करार नियुक्तिमा ५५ दिन काम काम गरेबापत प्रहरी जवानले पाउने तलब, भत्ता र रासनबराबरको पारि श्रमिक पाउने भए कारण पनि यसरी म्यादी बन्न युवाहरू आकर्षित भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अंगुर जीसीले बताए । जताततै बेरोजगारी बढेका कारण थप मेहनत गर्नेभन्दा पनि पाएका बेला कमाउनतरि युवाहरू केन्द्रित हुने गरेका छन् ।




प्रतिकृया दिनुहोस

Annapurna Post1140X100